नेपाली उखान नै छ, सौताको रिसले पोइको काख … । बारामा यस्तै भएको छ, पारिवारिक विवादमा छिमेकीलाई फसाउन एक महिलाले दुई वर्षीया बालिकालाई ‘बलात्कार’ गरेकी छन् । घटना बाराको माइगढीमाई–१, तेगछिया टोलको हो । बिहीबार दिउँसो दुई वर्षीया बालिका आकृति (नाम परिवर्तन) विक्षिप्त अवस्थामा छिमेकीको घर अगाडि भेटिएकी थिइन् । बालिका बलात्कृत भएको खबरले गाउँभर फैलियो ।

बालिकाको परिवार र छिमेकीबीच लामो समयदेखि विवाद थियो । बेलाबेला दुई छिमेकी सार्वजनिक रुपमा गाली गलौजमा उत्रन्थे, अरु बेला बोलचाल बन्द । आकृति बलात्कार भएको घटनालाई पनि दुई परिवारबीच रहेको विवादसँग जोडेर हेरे । बालिकाका आफन्तले पनि छिमेकीमाथि शंका गर्दै जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी दिए ।

 

प्रहरी अनुसन्धानका क्रममा घटना हुनुअघि बालिका आरोपित परिवारको घर अगाडि देखेको खुल्यो । त्यसैले प्रहरी शंका त्यहीँ परिवारका सदस्यमाथि गयो । प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थाल्यो तर, कुनै प्रमाण हात लागेन । बालिकालाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । जब चेकजाँचका क्रममा चिकित्सकले बालिकाको योनीबाट कपडा निकाले, घटनामा नयाँ ट्वीस्ट आयो ।

‘बलात्कारीले यौनाङ्गमा कपडा किन कोच्यो भन्ने प्रश्न आयो र हामीले फरक कोणबाट अनुसन्धान थाल्यौं, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् । त्यसपछि प्रहरीले बालिकी ठूलीआमा ४० वर्षीया कलावती देवी गिरीसँग पनि सोधपुछ गर्यो, जसले छिमेकीलाई आरोपित गर्दै उजुरी दिएकी थिइन् । लामो केरकारमा उनले बोली फेरिरहिन् । प्रहरीले अब उनीमाथि नै शंका गर्न थाल्यो ।

शुक्रबार उनले आफैंले पीडित बालिकाको यौनाङ्गमा कपडा घुसारेको स्वीकारेकी छन् । आफ्नो छिमेकीसँग लामो विवाद रहेको र उनलाई फसाउन बालिकालाई उठाएर यस्तो हतर्क गरेको उनले बयान दिएकी छन् । ‘हात बाँधेर कट्टु खोलिदिएँ मुखमा कपडा कोचे, यौनाङ्गमा पनि कपडाको टुक्रा कोचिदिएँ’, उनले बयान दिएकी छन्, ‘त्यसपछि छिमेकीको घरमा फ्यालेकी थिएँ ।’

मुलुकी अपराध संहिताले यस्तो हर्कतलाई पनि बलात्कार मान्छ । त्यसैले प्रहरीले जबरजस्तीकरणी र ज्यान मार्ने उद्योगमा उनीमाथि अनुसन्धान थालेको छ । ‘जिल्ला अदालतबाट ५ दिनको म्याद थप पनि भइसकेको छ’, बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले भने, ‘अहिलेसम्म घटनामा कमलादेवीको मात्र संलग्नता देखिएको छ ।’घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको भन्ने चाहिँ विस्तृत अनुसन्धानपछि नै खुल्ने भट्टराईले बताए । छिमेकी भने हिरासतमुक्त भएका छन् । -अनलाइन खवर ।

* पर्याप्त नसुते मुटुरोगको यस्तो समस्या !

अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातबाट हुने जोखिम दुई गुणा बढ्ने देखाएको छ। एउटा नयाँ अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने देखाएको छ। अध्ययनका अनुसार पहिले नै मुटुसम्बन्धी रोग र मधुमेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृत्युको जोखिम दुई गुणा रहन्छ।

‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल (मुटुका लागि असल) कोलेस्टेरोलको कम मात्रा पर्छन्। यीमध्ये कम्तीमा तीन लक्षण देखिएका व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको मानिन्छ।

‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिले ६ घन्टा निदाए वा सुत्ने समय बढाए यसको जोखिम घट्न सक्छ। यसको अर्थ अकाल मृत्यु हुनेगरी मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिज) वा हृदयघातको जोखिम बढ्दैन,’ भन्छन् अध्ययन समूहका प्रमुख जुलियो फर्नान्डेज–मेन्डोजा। उनी अमेरिकाको पेन्सिलभानिया राज्यस्थित पेन स्टेट्स मिल्टन एस हर्सी मेडिकल सेन्टरको निद्रा अनुसन्धान तथा उपचार सेन्टरका निद्रा साइकोलजिस्ट हुन्।

तर फर्नान्डेज–मेन्डोजाले यो अध्ययनबाट ६ घन्टाभन्दा थोरै सुत्ने मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाटै हुन्छ भन्ने प्रमाणित नभएकोतर्फ पनि सचेत गराए। उनका अनुसार त्यस्ता व्यक्ति (मेटाबोलिक सिन्ड्रोम भएका) र अपर्याप्त निद्राबीच सम्बन्ध भने हुनसक्ने बताए।

‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिलाई मुटुसम्बन्धी रोग वा हृदयघातको जोखिम बढ्नुमा धेरै तत्वले प्रभाव पारेको हुनसक्छ,’ उनले भने, ‘स्वभावजन्य र जीवनशैलीका दृष्टिकोणबाट त्यस्ता व्यक्ति जो सन्तुलित भोजन गर्दैनन् साथै जसलाई मेटाबोलिक सिन्ड्रोम छ र कम सुत्छन्, उनीहरूमा यस्तो जोखिम बढ्ने सम्भावना हुन्छ।’

‘अध्ययनकर्ताहरूले जैविक दृष्टिकोणबाट पर्याप्त निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउने पत्ता लगाए, खासगरी उच्च रक्तचाप भएका र रगतमा ग्लुकोजको मात्रा उच्च भएका (हाइ ब्लड सुगर) व्यक्तिहरूमा,’ उनले भने।

‘मेटाबोलिक सिन्ड्रोम भएका कम सुत्ने व्यक्तिमा स्नायु र पाचनसम्बन्धी धेरै जटिल समस्या आउन सक्छ । तर, यी सबै सम्भावनाबारे अझै अनुसन्धान गर्न आवश्यक छ,’ फर्नान्डेज–मेन्डोजाको भनाइ छ। उनी यस्ता जोखिममा परेका व्यक्तिको मुटुसम्बन्धी रोग पहिल्याउँदा निदाउने समयलाई पनि ख्याल राख्नुपर्ने बताउँछन्।

अव्यवस्थित निद्रासम्बन्धी रोगको (अनिद्रा र निद्रा नपुग्नेमा समेत) स्वभाव÷बानी परिवर्तन र औषधि प्रयोगबाट प्रभावकारी उपचार गर्न सकिने उनले जनाएका छन्। सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको इलेक्ट्रोफिजियोलोजी लेबोरेटरिज एन्ड क्लिनिक्सका निर्देशक डा. बाइरन ली भन्छन्, ‘निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउँछ वा यो खराब स्वास्थ्यको एउटा लक्षण मात्र हो भन्ने अध्ययनबाट जानकारी पाउन कठिन छ।’

उनका अनुसार जेसुकै भए पनि यस्तो जोखिममा रहेका व्यक्तिले भने निद्रामा ध्यान दिनैपर्छ। ‘यस्ता व्यक्तिले पर्याप्त निद्रा लिइरहेका छैनन् भने जँचाउन डाक्टरकोमा जानु र पर्याप्त निद्रा लिनु उचित हुन्छ,’ लीले भने।

यो अध्ययनका लागि फर्नान्डेज–मेन्डोजा र उनका सहकर्मीले एक रात निद्रा प्रयोगशालामा बिताउन महिला र पुरुष गरी १३ सय जनाभन्दा बढी सहभागी छानेका थिए। औसत उमेर ४९ वर्ष रहेका यी सहभागीमध्ये ३९ प्रतिशतमा मेटाबोलिक सिन्ड्रोमका कम्तीमा तीन जोखिम लक्षण भेटिए।

अध्ययनकर्ताले १७ वर्षसम्म सहभागीको औसत फलोअप गर्दा तीमध्ये २२ जनाको मृत्यु भएको पाए। मेटाबोलिक सिन्ड्रोम भएका सहभागीहरू जसले कम्तीमा ६ घन्टा सुत्न पाएका थिएनन् उनीहरुलाई मेटाबोलिक सिन्ड्रोम नभएका ६ घन्टा सुत्ने सहभागीको तुलनामा मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना दोब्बर भएको अध्ययनकर्ताले पाए।

त्यस्तै, ६ घन्टाभन्दा बढी सुत्ने मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागीहरूमा भने मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना डेढ गुणा बढेको अध्ययनमा देखियो । फर्नान्डेज–मेन्डोजाका अनुसार मेटाबोलिक सिन्ड्रोम नभएका सहभागीको तुलनामा मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागी जो ६ घन्टाभन्दा थोरै सुत्थे, उनीहरुमा अन्य कुनै पनि कारणबाट मृत्यु हुने सम्भावना करिब–करिब दोब्बर नै पाइयो।

अध्ययनले देखाएको निद्रा र मेटाबोलिक सिन्ड्रोमबीचको सम्बन्ध ध्यानाकर्षण गर्ने खालको थियो । किनभने अध्ययनकर्ताहरूले मुटुरोगको जोखिम बढाउने एउटा कारण ‘स्लिप एप्निया’लाई भने अध्ययनमा सामेल गरेका थिएनन्।

‘एक रात स्लिप लेबोरोटरीमा सुतेका आधारमा सामान्यतया कुनै व्यक्ति कसरी सुत्छ बताउन सकिँदैन,’ न्युयोर्कस्थित लेनक्स हिल हस्पिटलका स्लिप मेडिसिन डाइरेक्टर डा. स्टिभन फेन्सिल्भर भन्छन्, ‘सुत्नु तपाईंका लागि राम्रो हो। पर्याप्त सुत्नु तपाईंका लागि अझै बेस हुनसक्छ, खासगरी तपाईंमा यस्ता स्वास्थ्य समस्या छन् भने।’