नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भयो । तर, उक्त समझदारीको विस्तृत विवरण सरकारले अझैसम्म बाहिर ल्याउँदा जापान जान खुट्टा उचालेका युवाहरु अन्योलमा छन् । अहिले जापान पठाउने भन्दै देशभित्र भाषा परिक्षाको नाममा ठगीधन्दा मौलाएको छ । कतिपय कन्सल्टेन्सीहरुले आफैंले विदेश पठाउने आश्वासन दिएर ठगी गरेका तथ्यहरु पनि बाहिर आएका छन् । सम्झौता भइसकेको विषयलाई पनि गुपचुप राख्दा जापान जाने आशामा बनेका धेरै युवा ठगिने क्रम बढेको हो ।

 

सहकार्यको समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ । विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । ती क्षेत्रहरु हुन्ः कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग ।

जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ । पहिलो वर्ग -एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् । दोस्रो वर्ग -एसएसडब्लू -आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ ।

यसबाहेक समझदारीका अन्य विषयहरुलाई गोप्य राखिएको छ । सबैलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? यस विषयमा अनलाइन खबरले वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई सोधेको प्रश्न यस्तो छ । जसमा भुसालले खुलाए कि पहिलोपटक जापानले पहिलो लटमा नर्सहरुलाई मात्रै लैजानेछ । भुसालसँग गरिएको छोटो संवादः

जापानको भाषा परीक्षा कोरियन भाषा परीक्षा जस्तै सबै क्षेत्रको लागि एकैपटक हुन्छ कि हुँदैन ?
जापानको हकमा कोरियाको भन्दा फरक हुन्छ । भाषा र सीप परीक्षा १४ ‘क्याटेगोरी’ का लागि अलग-अलग हुन्छन् । सबैको एकैपटक नहुने भनिएको छ ।
परीक्षा कसरी सञ्चालन गरिन्छ ?
जापान फाउन्डेसनले कामदारको आधारभूत भाषा परीक्षा लिन्छ । परीक्षा अहिलेको कोरियन जस्तो कागजमा हुँदैन, कम्प्यूटरमा आधारित हुन्छ । प्रोमेटि्रकले जाँचको व्यवस्था गर्छ । त्यसमा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । र, जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ ।

यो वर्ष कुन-कुन क्षेत्रमा कहिले-कहिले परीक्षा होला त ?
सम्भवतः आगामी अक्टोबर (असोज १५ देखि कात्तिक १५) मा नर्सिङ क्षेत्रको लागि मात्र भाषा र सीप परीक्षा हुन्छ । यसलाई ‘नर्सिङ केयर जापाजिन ल्यांग्वेज इभ्यालुएसन टेस्ट’ भनिनेछ । साधारण जापानीमा लेख्न र बोल्न गर्न सक्नेले यो जाँचमा भाग लिन सक्छ । २० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुन्छ । पास भए-नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् । जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ ।

जापानी भाषाको परीक्षा कुन तहको हुन्छ?
हामीलाई प्राप्त अनौपचारिक जानकारी अनुसार ‘एन-४’ तहको भाषा परीक्षा लिइन्छ ।
एकपटक गएपछि जापानमा कति वर्ष काम गर्न पाइन्छ ?
काम गर्न पाउने अवधिबारे कार्यावधि बन्नेछ । विस्तृत विवरण जापानको श्रम मन्त्रालयको वेबसाइटमा हुन्छ । असल कामदारहरुले अर्को ५ वर्ष काम गर्न पाउँछन् ।
जापान जान कामदारलाई खर्च कति लाग्ला ?
भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुन्छ । त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुने हुँदा अहिले यकीन भन्न सकिने अवस्था छैन ।

कुन योग्यता पुगेका र कति वर्षसम्मका व्यक्ति जान पाउने हो ?
शैक्षिक योग्यता तोकिएको छैन । उमेर १७ वर्ष माथि हुनुपर्छ ।
यो बर्ष नर्सिङ क्षेत्रमा कति जना जान पाउलान् त ?
जापानले अबको ५ वर्षमा ६० हजार नर्स भित्र्याउने भनेको छ । नेपालबाट कति लैजाने भन्ने संख्या निश्चित छैन । समानुपातिक हिसाबले पनि बढीमा १३०० जना नर्स एक बर्षमा जान पाउँछन् कि भन्ने अपेक्षा छ । (वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालसंग अनलाइन खबरको कुराकानी ।)

 

* सर्पले टोके के गर्ने, के नगर्ने ?

एजेन्सी- गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ। अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्।
के गर्ने ?

तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ।
सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ। सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।
टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ।

कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला।
आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला।
सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।
के नगर्ने ?
सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।
टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।
टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला।

टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।
टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला।
एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।
टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ।

 

* सहयोग के हो ?, सहयोग किन गर्नुपर्छ ?

सांसारिक उन्नति र सुखपूर्वक जीवन निर्वाह गर्नका लागि सहयोगको आवश्यकता सबै स्वीकार गर्छन् तर यदि गम्भीरतापूर्वक विचार गर्ने हो भने यो पनि स्पष्ट प्रतीत हुन्छ कि अधिकांश मानवीय सद्गुण एवं धर्मको मूल मानिने सद्वृत्तिहरूको पनि यससँग बढी सम्बन्ध छ। जुन व्यक्तिमा सहयोगको वृत्तिको उचितरूपले विकास भएको हुन्छ, तिनमा ‘बसुधैव कुटुम्बकम्’ को भावना पनि जाग्रत भएको हुन्छ। ती अनुभव गर्न थाल्दछन् कि संसारमा जति प्राणी छन् ती वास्तवमा एउटै बृहत् परिवारको अ·–स्वरूप हुन् र तिनमा जति बढी सहयोग, ऐक्यभाव र मित्रताको भावनाको प्रसार हुन्छ त्यति नै लौकिक–पारलौकिक हित–साधन हुन सक्छ।

हुन त आरम्भकालदेखि नै मानिस सामाजिक प्राणी हो र उसले जुन उन्नति–प्रगति गरेको छ, त्यसको अधिकांश श्रेय उसको सहयोग वृत्तिलाई जान्छ। मानिसले यस संसारलाई आफ्नो निवास योग्य बनाएको छ, ठूला–ठूला पर्वत, ज·ल, सागरमा पसेर निर्वाहका जुन साधनहरूको खोज गरेको छ, जुन लाखौं आबादी भएका सुख–सुविधापूर्ण नगरहरूको निर्माण गरेको छ र सडक, रेल, जहाज आदिको विस्तार गरेर सम्पूर्ण संसारलाई एउटा घर बनाइदिएको छ, यी सबैको मूल आधार सहयोगको प्रवृत्ति नै हो। व्यापार–व्यवस्था, उद्योग–धन्दा, शिक्षा प्रचार, सुरक्षाको व्यवस्थाका क्षेत्रमा पनि आज जुन ठूला–ठूला योजनाहरू सफल भइरहेका देखिन्छन्,

सहयोगमूलक प्रवृत्तिहरूको नै परिणाम हो। यति मात्र किन विज्ञानको आश्चर्यजनक उन्नति, जनसेवा गर्ने विशाल संस्थाहरू, लोककल्याणका युग परिवर्तनकारी योजनाहरू सबैको सफलताको आधार मानिसको पारस्परिक सहयोग नै हो। मानिस जति बढी परिमाणमा र जति हार्दिकताका साथ सहयोग भावनाको परिचय दिन्छ त्यति नै बढी सफलता यी विषयहरूमा पाइन्छ।

तर यी सांसारिक सफलताभन्दा बढी महत्त्वपूर्ण मानवताको भावना हो, जुन क्रमश: मानिसको अन्तरमा विकसित भइरहेको छ र जसको प्रभावले एउटा यस्तो मानव जातिको उदय भइरहेको छ जो भविष्यमा त्यति नै पारस्परिक प्रेम र सौहार्दका साथ बस्न सक्छ जसरी आज एउटा कुटुम्ब अथवा परिवारका व्यक्तिहरू बस्दछन्। केही मानिसलाई यो एउटा असम्भव कल्पना लाग्न सक्छ र उनीहरू वर्तमान विश्वव्यापी सङ्घर्षका घटनाहरू देखेर यसलाई एउटा सुनौलो सपनामात्र ठान्छन्,

तर वास्तवमा ती विचारकको दृष्टिले हेर्न नजान्नेहरू हुन्। एक समय थियो जब सबै मानिस निकै सानो–सानो समुदायमा बाँडिएका थिए र आपसमा लडाइँ–झगडा, एकअर्काको हत्या मात्र गर्दैनथे वरन् एक अर्कालाई मारेर खानमा पनि कुनै दोष ठान्दैनथे। त्यस अवस्थाबाट परिवर्तन हुँदै–हुँदै मानिस अब यस्तो अवस्थामा पुगिसकेको छ कि संसारमा प्रतिवर्ष सैकडौं–हजारौं व्यक्ति यस्ता पनि देखापर्छन् जो बिना कुनै स्वार्थ अथवा सम्बन्ध कुनै अपरिचित व्यक्तिको रक्षार्थ आफ्नो प्राण पनि दिन्छन्।

आज यस्ता व्यक्तिको पनि कमी छैन जो मानवताको हितलाई आफ्नो स्वार्थ वा सुखको अपेक्षा बढी महत्त्व दिन्छन् र संसारको भलाइको काममा सच्चा हृदय र निस्स्वार्थभावले योगदान गर्छन्। यी सब कुरा विचार गर्दा के निश्चय हुन्छ भने सहयोग कृत्रिम अथवा क्षणस्थायी कुरो होइन वरन् मानिसको आन्तरिक प्रकृतिको एउटा अंश नै हो र जसै–जसै मानिसको आत्मिक विकास हुँदै जान्छ त्यसै–त्यसै त्यसको पनि विकास हुँदै जान्छ र एक दिन यस्तो पनि आउन सक्छ, जब त्यसले एउटा सार्वभौम स्वाभाविक प्रवृत्तिको रूप ग्रहण गर्नेछ।

सहयोगको प्रवृत्तिले मानिसको हृदयमा जुन मैत्री–भावना उत्पन्न हुन्छ त्यो वास्तवमा अरूको कल्याणको दृष्टिले मानिसको सबैभन्दा ठूलो सद्गुण हो। संसारमा कृष्ण, वेद व्यास, गौतम बुद्ध, महावीर, ईसा आदि मानवताका त्राता महापुरुष भएका छन्, उनको सबैभन्दा ठूलो विशेषता मैत्री–भावना नै थियो। उनीहरू समस्त प्राणीलाई आत्मवत् दृष्टिले हेर्दथे र तिनका कष्ट हटाउन आफ्नो समस्त शक्ति लगाइदिन्थे।

यिनै महापुरुषहरूको शिक्षाको परिणाम हो कि मानिस देश र कालको अन्तर बिर्सेर विस्तारै–विस्तारै मानिसमात्रलाई आफ्नो भाइ अथवा सम्बन्धी ठान्ने दिशातिर अग्रसर भइरहेको छ र आज उसको मनमा यो विचार उत्पन्न भइसकेको छ कि संसारका समस्त देशको भेदभावलाई प्रत्यक्षरूपमा मेटेर एउटा मानव समाजको स्थापना गरियोस्।

मानवमात्रको एकताको सिद्धान्त नौलो कुरा होइन। हाम्रा मनीषीहरूले त यसलाई हजारौं वर्षपूर्व ‘बसुधैव कुटुम्बकम्’ अथवा ‘आत्मवत् सर्वभूतेषु’ जस्ता सूत्रद्वारा प्रकट गरिसकेका छन् र यहाँका हजारौं भक्त तथा सन्तहरूले त्यस अनुसार आचरण गरेर पनि देखाइदिएका छन्। आज पनि यताका महापुरुष यसै सत्यलाई अनुभव गरेर, त्यसलाई संसारव्यापी रूप दिने प्रयत्न गरिरहेका छन्। यद्यपि माथिमाथिबाट हेर्दा मानिस घोर स्वार्थतर्फ प्रेरित लाग्दछ र एउटा यस्तो सङ्घर्षको तयारीमा संलग्न भइरहेको छ, जसले मानवी सभ्यताको सर्वनाश नै सम्भव देखिन्छ।

तर यसका साथै यो पनि स्पष्ट छ कि मानवताको एकताको सन्देश यस बेला सबैको कानसम्म पुगिसकेको छ र त्यसले उनका आत्मालाई झक्झक्याइरहेको छ। जुन कुरालाई पहिले केही मनीषीले मात्रै भन्दथे र बुझ्दथे, त्यो अब सामान्य मानिसको मनमा पनि आउन थालेको छ। यसबाट के आशा पलाएको छ भने विनाशको कालो बादल देखिए तापनि अन्तमा सहयोगको सूर्य नै बढी शक्तिशाली सिद्ध हुन्छ र संसार अन्धकारमय प्रदेशबाट निस्केर सार्वजनिक सुख–शान्तिको सुप्रकाशित युगमा पुग्नेछ।

सहयोग तथा मैत्रीको यो भावना सामूहिकरूपमा संसारको कल्याण गर्ने मात्र होइन वरन् व्यक्तिगत दृष्टिले पनि त्यो मानुष्यमात्रका लागि हितकारी छ। यसको प्रभावले मैत्री–भाव राख्ने व्यक्ति सबै प्राणीहरूको सुहृदय बन्न सक्छ। जब उसले आफ्नो हृदयमा कसैप्रति शत्रुताको भाव राख्दैन भने अरू कसैको मनमा पनि उसप्रति विरोधभाव उत्पन्न हुनै सक्दैन र ऊ दुनियाँबाट निर्भय बन्न पुग्दछ। यदि संयोगवश उसले कुनै कष्ट पनि सहनुपर्दछ भने त्यसलाई दैवी विधान अथवा आकस्मिक दुर्घटना ठानेर अलिकति पनि क्षुब्ध हुँदैन।

ऊ कुनै मानिसलाई यसको कारण मान्दैन यसैकारण सबै प्रकारका चिन्ता र भयबाट मुक्त रहन्छ। पारस्परिक वैमनस्य अथवा मनोमालिन्यका भाव निरन्तर बढ्दै रहनाको कारण जुन अगणित समस्या उत्पन्न भएर मानव जीवनको कष्टपूर्ण बनाइदिन्छ, त्यो ती सबबाट मैत्री–भावनाद्वारा नै जोगिन्छ।

यति मात्र होइन, यस प्रकारको मनस्थिति तयार भएपछि मानिसको आन्तरिक प्रसन्नता, आह्लादको भावना स्थायी बन्न जान्छ र समयानुसार व्यावहारिकरूपमा प्रकट भएर उसलाई दिन प्रतिदिन माथि उठाउँदै लग्छ। यस भावनाको प्रेरणाले मानिस सबैको सुख–दु:खमा अघि बढेर सहभागी बन्न थाल्छ, दीन–दु:खी र अभावग्रस्त व्यक्तिहरूलाई सबैप्रकारले सहायता गर्न थाल्छ, सदैव अरूको सेवा र सहायताका लागि प्रस्तुत हुन्छ। यस्तो स्थितिमा पुगेपछि अन्य सबै मानिस पनि उसप्रति प्रेम र आदरको भावना व्यक्त गर्न थाल्छन्,

उसका कुरालाई ध्यानपूर्वक सुन्न थाल्छन् र उसलाई आफ्नो शक्तिअनुसार सहयोग पनि दिन थाल्छन्। संसारमा जति पनि ठूला र साना महापुरुष भएका छन्, सबैको यही जीवनक्रम रहेको छ, यस्तै मानिस सर्वसाधारणद्वारा नेता, अगुवा अथवा माननीय मानिन्छन्।
सहयोग–भावना भएको मानिस जुन प्रकारले भित्रबाट शुद्ध भावयुक्त र सबैको हित चिन्तन गर्ने हुन्छ, त्यसै प्रकार बाहिरबाट पनि सदैव सबैका साथ मधुर व्यवहार गर्ने, सहानुभूति राख्ने तथा विनीत हुन्छ।

वास्तवमा उसको आन्तरिक मैत्री–भावको परिणामस्वरूप उसको स्वभावले रुखो व्यवहार गर्नैसक्दैन र जहाँसम्म सम्भव हुन्छ, प्रत्येक व्यक्तिलाई सहायता गर्न तयार रहन्छ। यस कारण अन्य मानिसको हृदयमा पनि उसको प्रभाव पर्छ भने सज्जनहरूको त झन् के कुरा ? दुर्जन व्यक्ति पनि धेरै दिन उसको प्रतिकूल रहन सक्दैन।