रंगमञ्च र चलचित्रको पर्दामा बुद्धि तामाङलाई देख्यो कि दर्शक आफैं हाँस्न थाल्छन् । उनी बुद्धि नामभन्दा ‘टिपिकल’ थेगो ‘हैट’ले बढी चिनिन्छन् । धेरैजसो हास्य नाटक र चलचित्रमा देखिने यी तन्नेरी कलाकारको आफ्नै जीवन भने दुःखैदुःखको पिरामिड हो । बुद्धि अहिले पनि साथीसंगतिको बीचमा एउटा इमान्दार छवि भएको नाम हो । न उनले बाल्यकालमा न अहिले– कहिल्यै इमानदारी बेचेनन् ।जीवनको सुरुवाती गोरेटोमै बुद्धि संघर्षको भूमरीमा फसे । दुःखका थुप्रै चपरी पल्टाए । आमाको लाडप्यारमा लाडिने उमेरमा पराईको हप्कीदप्की सहे । यी र यस्तै घटना तथा व्यवहारले पनि होला– उनी सानै उमेरमा व्यवहारिक भए र आजको बुद्धि बने ।

 

०३९ सालमा काभ्रेमा जन्मिए बुद्धि तामाङ । काठमाडौंनजिकै रहेको यो जिल्लाका अधिकांश मानिस कृषिमा निर्भर रहन्छन् । उनको परिवार पनि खेतीकिसानी नै गथ्र्यो । उनी घरनजिकैको विद्यालयमा पढ्न थाले । पढाइ राम्रै थियो । कक्षामा कहिल्यै प्रथम नभए पनि उनी दोस्रोसम्म चाहिँ भए । अहिले रंगमञ्च र सिनेमामा राम्रैसँग जमेका बुद्धिको त्यो बाल अवचेतन मन नाटक भनेपछि हुरुक्कै हुन्थ्यो । स्थानीयस्तरमा हुने नाटकमा उनी पनि सहभागी हुन्थे कहिले दर्शक भएर, कहिले कलाकार भएर ।

कक्षा ६ मा पढ्दा गाउँका चार युवा मिलेर नाटक देखाउँथे । त्यो समयका नाटक सामाजिक विषयवस्तुमा आधारित हुन्थे । स्थानीय रुढीवादी अन्धविश्वास र बेथितिविरुद्ध लक्षित हुन्थे । उनलाई त्यो बेला देखाएका सबै नाटक याद त छैन तर ‘चेलीको वेदना’ र ‘अन्यायको बादल’ भने अझै सम्झन्छन् । उनीहरू त्यतिबेला रातिको समयमा नाटक देखाउँथे । गाउँभरका खाट र तन्ना भेला गरेर स्टेज बनाउँथे र म्यान्टोल बालेर नाटक देखाउँथे । यसरी नाटक देखाउँदै उनीहरू गाउँ–गाउँ पुग्थे ।

तिहारमा देउसी खेलेर कमाएको पैसाले उनी नाटकका लागि खर्च जुटाउँथे । ‘अन्यायको बादल’ नाटक देखाउँदा युनिटसँग २ सय रुपैयाँ बचेको थियो । बचेको रकम नाटक युनिटले बुद्धिलाई दियो । त्यो बेला ६ कक्षा पढ्नेका लागि २ सय रुपैयाँ भनेको ठूलै रकम थियो । बुद्धिलाई त्यो पैसा उनको इमान्दारी र कडा मेहनतका लागि इनामस्वरूप दिइएको थियो । उनले त्यो पैसा जसरी आएको थियो, त्यसैगरी खर्च गरेर सिद्धाए । पैसाको महत्व पछिमात्रै थाहा पाए, जब उनले कमाउन थाले । पैसाका लागि संघर्ष गर्न थाले ।

‘अन्यायको बादल’मा उनले ‘च्यान्टे’ भन्ने पात्रको भूमिका गरेका थिए । उनलाई पछिसम्म पनि गाउँमा च्यान्टे भनेर बोलाइयो । च्यान्टे भनेर बोलाउँदा उनलाई साह्रै नराम्रो लाग्थ्यो । अपमानित गरेजस्तो अनुभव हुन्थ्यो । एसएलसी पास गरेपछि उनले पनि सपनाको सहर काठमाडौं कल्पिए । उनलाई ‘काठमाडौं आइज, जागिर लगाइदिन्छौं’ भन्नेहरू थुप्रै थिए । तिनै आश्वासनको लहरो समातेर उनी काठमाडौं हिँडे । तर, उनको सपना साँगाको हुरीले नै उडाइदियो ।

सपना देख्नु र भेट्टाउनुमा आकाश–जमिनको फरक रहेछ उनले काठमाडौं आएपछि थाहा पाए । आश्वासनहरू आश्वासनमै सीमित भए । कालो चस्मा र ह्याटमा ठाँटिएर वर्ष÷छ महिनामा घर पुग्ने दाइहरूले जागिर खोजिदिने कुरा त रवाफ पो रहेछ । काभ्रेमा बसेर सोचेको काठमाडौं त बिल्कुल भिन्न पो रहेछ ! उनले साँगा कटेको हप्ता दिन नपुग्दै भोगे काठमाडौं । र, थाहा पाए वास्तविकता ।

काम गर्दै पढ्ने उनको रहर काँच फुटेझैं चकनाचुर भयो । जागिर खोज्न थाले तर उनले सोचेजस्तो काम पाएनन् । काम नगरी नहुने बाध्यता थियो उनलाई । आमालाई बचाउन उपचार गर्नुपर्ने थियो । त्यसका लागि पनि पैसा चाहिन्थ्यो । त्यसैले उनले भक्तपुरको इँटाभट्टामा काम गर्न थाले । आमाको उपचारका लागि भनेर एकमुष्ट रकम लिए । त्यो पैसाले आमाको उपचार गरे ।

दुई वर्ष काम गरेपछि उनलाई इँटाभट्टा मात्रै संसार होइन भन्ने लाग्यो । पैसा कमाउन व्यापार गर्नुपर्छ भन्ने लाग्यो । र, छोडे इँटाभट्टा अनि सुरु गरे व्यापार– बदाम बेच्ने । डालोभरि बदाम बोकेर बिहानै हिँड्नु र साँझ अबेर घर फकर्नु बुद्धिको दैनिकी बन्यो । दैनिक ३ देखि ५ सय रुपैयाँसम्म कमाउँथे । भक्तपुरको सूर्यविनायक र आसपासका गाउँतिर जान्थे । तर, उनी अरुजस्तो कराउँदै बदाम बेच्दैनथे । कसैले सोध्यो भने बेच्थे नभए डालोको बदाम डालोमै रहन्थ्यो, खल्ती रित्तै हुन्थ्यो ।

नियमित आम्दानी नहुने भएपछि बुद्धि यो कामबाट पनि सन्तुष्ट हुन सकेनन् । उनलाई नियमित पैसा आउने कामको मोह जाग्यो । यसका लागि उनले जागिर खोज्न थाले । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं उनले जागिर पाए पनि । तर, त्यो पनि उनले सोचे र चाहेजस्तो थिएन । होटलमा भाँडा माज्ने काम थियो । केही समय भाँडा माझेपछि उनको बढुवा भयो । बुद्धि वेटर भए । फेरि बढुवा भयो । म्यानेजरसम्म भए । तर पनि उनलाई काममा चित्त भने बुझेन ।

अन्ततः उनले होटलको जागिर पनि छोडे । र, सुरु गरे टे«किङको जागिर । पर्यटकसँग काठमाडौंबाहिर टाढा–टाढासम्म जान थाले । हिमाली जिल्लासँग मितेरी लगाउन थाले । जाडो होस् या गर्मी– रोल्वालिङ इलाका उनका लागि पानीपँधेरो भयो । एकपटक दोलखाको टासी लोप्चे पुग्दा उनले जिन्दगीसँग पहिलो पटक साक्षात्कार गरे । दुई छाकका लागि संघर्ष गर्नुपर्दा कहिलेकाहीँ उनलाई लाग्थ्यो– एकथान जिन्दगीको डोरी आजै, अहिल्यै छिनाइदिऊँ । तर, टासी लोप्चेमा उनलाई जिन्दगीको अनौठो तवरले माया लाग्यो । त्यही दिनदेखि हो उनले जिन्दगीको महत्व बुझेको र आफैंले आफैंलाई माया गर्न थालेको ।

बाटो निकै अप्ठ्यारो थियो । पर्यटकका बन्दोबस्तीका लागि सामान लिएर हिँडेका बुद्धिसँगै तीन जना थिए । उनीहरूले त्यो बाटो छिचोल्नु नै थियो । त्यसैले उनीहरू तीनै जना त्यो बाटोमा एकै पटक नगएर पालै पालो हिँडे । लगभग जिन्दगीको माया मारेका उनीहरु मरे पनि एकै पटक नमरौं भनेर सँगै गएनन् । एक्लाएक्लै गए । तर भाग्यवश उनीहरूलाई केही भएन । सकुशल त्यो बाटो पार भए । जसोतसो जिन्दगी बाँच्यो । उनीहरुले पुनर्जीवन पाएको अनुभूति गरे ।

बुद्धिले कहिल्यै पनि जिन्दगीको खाका कोरेनन् । जे–जे आइपर्छ, त्यही–त्यही गर्दै गए ।
एकदिन उनको प्रभात भन्ने साथीले अचानक सोधे, “नाटक गर्छस् ?”
उनले भने, “गर्छु ।”
त्यसपछि उनी पुगे पुष्कर गुरुङको थिएटर ‘डबली’ मा ।
उनले त्यहाँ नाटक सिके । नाटक खेले । नाटक खेल्दै ६ जिल्ला पुगे । उनलाई लाग्यो– ओहो ! यो पो गज्जबको काम रहेछ । घुम्न पनि पाइने, रमाइलो पनि हुने ।

उनलाई नाटकको लत नै लाग्यो । ‘डबली’ अपेक्षित रूपमा सक्रिय त भएनन्, छाड्न पनि सकेनन् । उनी चौबीसै घण्टा त्यहीँ बस्थे । बुद्धि त्यहाँका हर्ताकर्ता भए । पछि ‘मण्डला थिएटर’ खोल्ने कुरा भयो । उनी पनि त्यसको संस्थापकका रूपमा बसे । मण्डलाको घर बनाउँदा उनले गारोसमेत लगाए । आफ्नो भनेर काम गरे । शायद उनले आफ्नो घरलाई पनि त्यति धेरै माया गरेनन्, जति मण्डलालाई गरे ।

मण्डलाले राम्रो ‘पिकअप’ लियो । बाक्लै नाटक हुन थाले । उनले पनि राम्रा–राम्रा नाटक खेल्ने अवसर पाए । नाटकमा खेलेको मात्रै होइन, मण्डलासम्म आइपुग्दा उनले नाटक निर्देशन गरेको अनुभव पनि सँगाले । त्यसअघि उनले अनुप बरालसँग अभिनयको कक्षा लिए । त्यसले उनलाई अभिनय कलामा थप धारिलो बनायो । लवज, संवाद र वक्तृत्वमा निखारता ल्यायो । उनको नाके स्वरमा केही परिवर्तन आयो । त्यहीँ हो, बुद्धिले सरुभक्तको ‘मलामी’ नाटकमा अभिनय गरेको । उनले गरेका धेरैमध्ये यो नाटक सधैं सम्झिरहन्छन् ।

इँटाभट्टादेखि मण्डलासम्म आइपुग्दा उनले रंगकर्ममा नाटकमात्रै गरे । तर, चलचित्रमा खेल्ने अवसर भने मिलेको थिएन । यतिबेलासम्म उनले बदाम बेच्दा भक्तपुरमा सिनेमा छायाँकन गरेको मात्रै देखेका थिए । राजेश हमाल थिए नायक । सिनेमामा देखेका राजेश हमाल हुन् कि होइनन्, उनलाई शंका लाग्यो । सपना हो कि जस्तो पनि लाग्यो । “छेउमा गएर राजेश हमाल हुन् कि होइनन् भनेर छुन मन लाग्यो,” उनी सम्झन्छन्, “तर उनीहरूलाई छुन त के, छेउसम्म पनि जान दिँदैनथे ।”

०५६ मा काठमाडौं आएर विश्वज्योति हलमा गाउँकै रेशम दाइसँग ‘चिनो’ हेर्दा उनी रोए । उनलाई सिनेमाभित्रको कथाले रुवाएको थिएन । भिलेन सुनील थापाले मान्छे मारे भनेर रोएका थिए । पछि रेशम दाइले चलचित्रमा मारेको, नायक–नायिकाबीचको प्रेम कुनै पनि वास्तविक घटना नभएर बनावटीमात्रै भएको भनेपछि उनले बल्ल थाहा पाए चलचित्रको कथा । उनको आँसु रोकियो । वास्तविकता थाहा पाएपछि उनी लाजले पानी पानी भए ।

बुद्धि देखिएको पहिलो चलचित्र ‘साँघुरो’ हो । त्यसमा उनी दयाहाङ राईको साथीका रूपमा बेला–बेला तास खेल्ने पात्र हुन् । उनी ‘साँघुरो’का कला निर्देशक पनि हुन् । उनले ‘रेड मनसुन’ नामक चलचित्रमा काम गरे । त्यो चलचित्र जनमानसमा लोकप्रिय नभए पनि थुप्रै अवार्ड भने जित्न सफल भयो । जीवनको ‘टर्निङ पोइन्ट’ भने ‘कबड्डी’ र त्यसको सिक्वेल नै हो, जसले गुमनाम बुद्धिलाई सिनेसंसारको भीडमा मिसाइदियो । दर्शकसामु लोकप्रिय भए । सार्वजनिक स्थानमा माक्स लगाउनुपर्ने भयो । चलचित्रले देशविदेश पु¥याइदियो ।

चलचित्रको छायाँकन गर्न मुस्ताङ गए । सुटिङ अवधिभर रमाइलो गरे । कतिपय ठाउँमा रक्सी खाएको सिन थियो । होस पनि नगुम्ने, खाएको नाटक पनि गर्नै नपर्ने गरी पिएर छायाँकन गरे । सुटिङ सकियो । एकाध महिनापछि चलचित्र प्रदर्शन भयो । उनले सोचका थिए– आम चलचित्रजस्तै ‘कबड्डी’ पनि हलमा लाग्छ, दुई–चार दिन चल्छ र अर्को शुक्रबार उत्रिन्छ । तर, त्यसो भएन । ‘कब्बड्डी’ हिट भयो । दयाहाङसँगै उनी पनि हिट भए । ‘हैट’ भन्ने उनको थेगो निकै लोकप्रिय बन्यो । हरेकले ‘हैट’ भन्न थाले । त्यो नै उनको सफलता नाप्ने पारो थियो ।

मण्डला निर्माणका बेला निर्देशक रामबाबु गुरुङ केही लेखिरहेका हुन्थे । बुद्धि सोध्थे, “दाइ के लेखिरहनुभएको छ ?” रामबाबु भन्थे, “तिमीहरूलाई हेरेर चलचित्रको स्क्रिप्ट लेखिरहेको छु ।” बुद्धिलाई लाग्थ्यो– हामी केको अभिनय गर्छौं होला र चलचित्रमा ! भए पनि पृष्ठभूमिमा देखिने त होला । रामबाबुले चलचित्र बनाउने पक्का भयो । कलाकार उनीहरू नै छनोट भए ।

‘हैट’ थेगो कसरी जन्मियो ?
“म सानै छँदा पनि यो हैट भन्ने शब्द बोल्थें । काम गर्न अल्छी लाग्यो भने ‘हैट यसरी हुन्न’ भन्थें । जाँगर चल्यो भने पनि ‘हैट यसरी पो काम गर्ने हो त’ भन्थें,” बुद्धि भन्छन्, “तर म मात्रै होइन, यो शब्द जनजातिहरू अलि बढी प्रयोग गर्छन् । रामबाबु दाइले पनि यो शब्द प्रयोग गर्नुहुन्थ्यो । त्यसैले यो शब्द हामीमा ‘कमन’ जस्तै भइसकेको थियो । उहाँले स्क्रिप्टमै लेख्नुभएको थियो । म अहिले जुन टोनमा बोल्छु, यो पनि उहाँकै शैली हो ।”

उनले चलचित्रमा अभिनय गरेको ३५ हजारदेखि २ लाख रुपैयाँसम्म लिए । चलचित्रमा खेलेर अविवाहित बुद्धिले घरपरिवार धानेका छन् । थिएटरमा काम गर्दा पैसा आउँदैनथ्यो । त्यसैले उनी जब पैसा चाहिन्थ्यो, हाउस वायरिङको काम गर्थे । त्यसैले लाउने खाने गर्थे । बचेको पैसा घर पठाउँथे । सँधैभरि उनीसँग पैसा हुँदैन थियो । त्यसैले उनी साथीहरूसँग माग्दै घर पठाउँदै गर्दा लागेको ४ लाख रुपैयाँ ऋण चलचित्र खेलेर कमाएको पैसाले तिरे । उनी अहिले पनि चलचित्रमा काम गरिरहेका छन् । करिब १० वटा चलचित्रमा अभिनय गरिसकेका बुद्धिका ‘पुरानो डुंगा’, ‘लाल जोडी’, ‘छक्का पञ्जा’, ‘बिजुली मिसन’ प्रदर्शोन्मुख चलचित्र हुन् । लोकप्रिय हाँस्य टेलिचलचित्र ‘मेरी बास्सै’मा पनि अभिनय गरिरहेका छन् ।

बुद्धिलाई मुख्य अभिनयका लागि एकाध अफर पनि आए । तर, उनले अस्वीकार गरे । उनी अहिले नै मुख्य भूमिकामा देखिने सोचमा छैनन् । पहिलो– उनीसँग आइपुगेका स्क्रिप्ट बलिया हुँदैनन् । दोस्रो– उनलाई अहिले नै लिड रोलमा लालायित हुने आकांक्षाले भएको साख पनि गुम्ने डर छ ।

जिन्दगीको अबोध कालखण्ड र स्कुले उमेरको लहडमै पनि यसरी यो बन्छु भन्ने सपना नदेखेका बुद्धिमा अहिले भने सपना पलाउन थालेको छ । थोरै तर राम्रा नाटक र चलचित्र गर्ने रहर छ । उनलाई नै थाहा छैन– यो रहर पूरा हुन्छ या हुँदैन । तर, यसैका लागि बुद्धिले आफूलाई समर्पित गरेका छन् । नाटक र चलचित्रमा रमाइरहेका उनी शायद यसमै हराइरहेका कारण हुन सक्छ– उनले अझै बिहे गरेका छैनन् । हाँस्दै भन्छन्, “हरेक वर्ष अर्को साल बिहे गर्छु भन्छु तर त्यो अर्को साल कहिल्यै आएन । शायद यो वर्ष पनि त्यस्तै हुन सक्छ ।”

अहिले भाईरल बनिरहेका उहा जस्तै देखिने, नक्कल गर्ने कुमार लामा र बुद्धि तामाङ बिच एकसाथ भएको कुराकानी भिडियो हेर्नुहोस !