पाँचथर -पाँचथरमा एक युवतीको विभत्स हत्या भएको छ। मंगलबार दिउँसो हिलिहाङ गाउँपालिका ६ रातमाटेमा २० वर्षीया युवती सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो। गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

माइक्रोफाइनान्सको ब्याज उठाउन गाउँ पुगेर फर्किदै गर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। बाटोमा छाता, लेडिज ब्याग र भिरमा विभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयले खबर गरे लगत्तै जोरपोखरी प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोली पनि घट्नास्थल पुगेको छ।

डीएसपी कुँवरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। फाइनान्सको लगानीको ब्याज उठाएर फर्किएकी तामाङको साथबाट नगद लुटिएको हुनसक्ने अनुमान गरिएको आशंका रहेको डीएसपी कुँवरले बताए। यसअघि वैशाख २९ गते हिलिहाङ ४ की १५ वर्षीया शीतल योङहाङको घाँटी रेटी हत्या भएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

 

 

°°°°°°°

मान्छे किन अपराधी बन्छ ?

कोही मान्छे यस्ता हुन्छन् ? जसलाई अरुको हिंसा गर्न मन लाग्छ । जसलाई अरुको हत्या गर्न मन लाग्छ । जसलाई विभत्स दृश्यहरु रमाइलो लाग्छ । जसलाई अरुको क्रन्दन, पीडा, छटपटी, चिच्याहट मधुर लाग्छ । जसलाई अरुको चोट, रगत राम्रो लाग्छ । के त्यस्तो कोही हुन्छ ? केही सातायता मुलुकभर हिंसाका यस्तै कुरुप घटनाहरु सतहमा आएको छ । कतै आफ्नै बुहारीलाई छप्काइएको छ, कतै दुई-दुई परिवारलाई सखाप पारिएको छ । कतै आफ्नै श्रीमतीको घाँटी रेटिएको छ, कतै आफ्नै पिताको गर्दनमा घुकुरी बजारिएको छ । किन मान्छे यति निर्दयी हुन्छ ? किन मान्छे यति हिंस्रक हुन्छ ? किन मान्छे यति क्रुर हुन्छ ?

मनोविद् वासु आचार्य भन्छन्, ‘मान्छेले चाहेर आफुलाई कलंकित बनाउँदैन । मान्छेले चाहेर आफुलाई अपराधी बनाउँदैन । तर, कहिले काहीँ त्यस्तै परिस्थितीहरुको निर्माण हुन्छ, जसले उनलाई अपराध कर्ममा उक्साउँछ ।’ मनोविद आचार्यका अनुसार कुनैपनि अपारधको मूख्य दोषी स्वयम् अपारधी हुन् । तर, उनीमात्र त्यसका भागिदार होइनन् । उनको पछाडि समाज छ । कुनैपनि व्यक्तिलाई अपराधी बनाउनमा समाजको पनि केही न केही त्रुटी आवश्य हुन्छ ।

 

 

हिंसामा काँप्छ मान्छे

सामान्यतः मान्छेको स्वभाव हिंस्रक होइन । त्यही कारण मान्छे अरुको चोट, घाउ, रगत देख्दा समेत अत्तालिन्छ । डराउँछ । विभत्स दृश्य हेर्दा मान्छेको मुटु काँप्छ । कसैको छटपटी देख्दा मान्छेको मन रुन्छ । कसैको चिच्याहटले मान्छेको मनमा औडाह हुन्छ । तर, त्यही मान्छे किन निर्मतापूर्वक कसैको हत्या गर्न उक्सिन्छ ? पाँचथरमा जसरी दुई परिवारको एकसाथ संहार भएको छ, त्यसको दोषी एक नातेदार पुरुषलाई देखाइएको छ । हुन त उक्त घटनाबारे अनुसन्धान भइरहेकै छ । तर, सुरुवाती अवस्थामा उनी नै हत्यारा हुन् भन्ने केही संकेत मिलेको छ ।

एउटा व्यक्तिले एकसाथ दुई/चार चौपाय समेत काट्न मन गर्दैनन् । हत्यारा जोसुकै होस्, यद्यपी उनको मनोदसा यस्तो भयो होला ? कसरी उसले एकै रातमा ९ जनाको ज्यान लिए होलान् ? के उनी निर्दयी थिए ? के उनी क्रुर थिए ? के उनी हिंस्रक थिए ? के उनी अपराधी थिए ? यदि त्यसो हुँदो हो त, उनले जीवनमा अरुपनि यस्ता हिंसात्मक गतिविधि गरेका थिए होलान् । जबकी उनी बाहिरबाट हेर्दा ‘सोझो’ रहेको छिमेकहरुले बताइरहेका छन् । ससुरा वा साडुु दाईले गाली गर्दासम्म उनी चुपचाप सहन्थे भनेर छिमेकले वयान दिएका छन् ।

यसको अर्थ यो होइन, कि मानबहादर माखिम नामका ति पुरुष हत्यारा नै होइनन् । उनी हत्यारा हुन सक्ने संकेत मिलिसकेको छ । यसबारे अन्य अनुसन्धान पनि जारी छ । मानौ उनले नै त्यो नरसंहार मच्याएका हुन् । तर, उनी कसरी यो अवस्थासम्म आइपुगे ? किन उनले आफुलाई कलंकित बनाए ? किन उनले यतिका जघन्य काण्ड मच्याए ? मनोविद आचार्यका अनुसार कुनैपनि मान्छे तब यतिका हिंस्रक हुन्छन्, जब उनमा बदलाको भावना जाग्छ । बदलाको भावना र रिसले मान्छेलाई डरलाग्दो बनाउँछ । क्षणिक आवेगमा पनि मान्छे यस्तो कु-कर्म गर्न तम्सन्छन् ।

के अपराधी हुनु गर्भदोष हो ?

कुनैपनि व्यक्ति जन्मजात अपराधी हुँदैनन् । कुनैपनि व्यक्तिले जीवनमा ‘अपराधी’को कलंक बोक्न चाहँदैनन् । कुनैपनि व्यक्तिलाई अपराधी बन्ने रहर हुँदैन । तर, नचाहेरै मान्छे हिंस्रक बन्छ । किन ? मान्छे कसरी क्रुर, हिंस्रक बन्न सक्छ ? के त्यो उनको मानसिक गडबडीले हो ? भनिन्छ, उनले मानसिक रोगी पनि थिए । वितेको पाँच बर्षयता उनले मानसिक रोगकै औषधी सेवन गरिरहेका थिए । पछिल्लो समयमा घटेका केही हिंसात्मक घटनामा यो कुरामा समानता देखिएको छ । ललितपुरमा आफ्नै बुहारीको हत्या गर्ने व्यक्ति र इँटा भट्टमा आफ्नै श्रीमतीको घाँटी रेट्ने बृद्ध पनि ‘मानसिक रोगी’ थिए भनिएका छन् ।

मानसिक रोगी भएकै कारण उनीहरु हिंसात्मक गतिविधिमा उत्रिएका हुन् ? कुन किसिमको मानसिक रोग हुन्छ, जसले मान्छेलाई अरुको हत्या गर्न उक्साउँछ ? मनोविज्ञले नै यसको जवाफ खोज्लान् । यद्यपी मानबहादुर माखिम मानसिक रोगी थिए । उनी के कारणले मानसिक रोगी भए ? उनमा कसरी मानसिक आघात पुग्यो ?

जब मान्छेको मन विक्षिप्त हुन्छ

ति पुरुष वैदेशिक रोजगारीमा गएका रहेछन् । सोही क्रममा उनले आफ्ना ससुराबाट ६५ हजार रुपैयाँ ऋण लिएका रहेछन् । विदेशबाट फर्किएपछि ऋण तिर्न नसेकको अवस्थामा पनि उनीहरुबीच मनमुटाव भएको बुझिन्छ । ऋण चुक्ता गर्नुपर्ने समस्याले उनी पिरोलिएका थिए होलान् । त्यसमाथि श्रीमतीसँग उनको सम्बन्ध राम्रो रहेनछ । श्रीमतीले उनलाई छाडिन् र माइतमा बस्न थालिन् । यता मानबहादुर एक्लै भए । श्रीमतीले छाडेर गएपछि उनी विरत्तिएका थिए होलान् । छिमेकले भनेका छन्, ‘श्रीमतीले छाडेपछि उनी मानसिक रुपमा विक्षिप्त थिए ।’

श्रीमतीले उनलाई सम्पतिसहितको डिभोर्स मागेकी रहिछन् । एकातिर ऋणै-ऋणको जीवन । अर्कोतिर श्रीमतीसँगको विछोड । त्यसमाथि सम्पति पनि दिनुपर्ने दबाव । संभवत उनी चरम मानसिक पीडामा थिए । एकातिर आर्थिक टाट पल्टनु, अर्कोतिर घर-परिवार विथोलिनु । यस्तो अवस्थामा समाज पनि दाहिना बन्दैन । हाम्रो समाजले निरिह, कमजोर व्यक्तिलाई जहिले पनि लखेट्छ । मजाकको पात्र बनाउँछ ।

मान्छे यसरी कलंकित बन्छ

जब मान्छेसँग विकल्प हुँदैन, तब ऊ खतरनाक बन्ने संभावना रहन्छ । मान्छे सम्मान, सम्बन्ध र सौहार्द्धताले बाँधिएर बाँचेको हुन्छ । जब यी सबै बन्धन टुटन जान्छ, मान्छे साँढे बन्छ । किनभने उनलाई यतिबेला लाज ढाक्नुपर्ने हुँदैन, डर लुकाउनुपर्ने हुँदैन, पीर पोख्नुपर्ने हुँदैन । सबैतिर अन्धकार नै अन्धकार भएपछि, सबैतिर भिरालो नै भिरालो भएपछि मान्छेले आफ्नै माया मार्छन् । मान्छेलाई आफ्नो माया लाग्दैन । जब आफ्नो माया लाग्दैन, तब अरुप्रति करुणा जाग्ने कुरै हुँदैन ।

यतिबेला नै हो मान्छे, हत्यारा बन्ने । हिंस्रक बन्ने ।

हामी कुनै घटनापछि त्यसको आरोपितलाई थुक्ने गर्छौं । तर, उनमा आपराधिक मनोवृत्ति कसरी पलायो ? उनले हत्याको बाटो किन रोज्यो ? किन उनी हिंसा गर्न उक्सिए ? यो उनको जन्मदोष होइन । आमाको गर्भबाट कोहीपनि हत्यारा बनेर जन्मिएका हुँदैनन् । हिंस्रक बनेर जन्मिएका हुँदैनन् । समय र परिस्थितीले नै उनलाई कलंकित बनाइदिन्छ । यसमा ति व्यक्ति जति दोषी हो, उनको समाज पूर्णत चोखो छैनन् ।

मानबहादुर एक्लिदै थिए, ऋणै-ऋणले च्यापिदै थिए, उनको परिवार विथोलिदै थियो, उनी गाउँघरको भोजभत्तेरमा मदिरा पिएर झगडा गर्थे । त्यसबेला समाजले के उनको दशा देखे ? के उनको पीर बुझे ? के उनको बिलौना सुने ? अक्सर हामी कुनै अपराधपछि त्यसका आरोपीलाई थुक्ने गर्छौ । तर, उनलाई त्यो अवस्थासम्म कसले ल्याइपुर्‍यो ? सोधीखोजी गर्दैनौ । मान्छे गलपासो लगाएर मर्छन् । हामी के भन्छौ ? फलानो झुन्डिएर मरेछ । कानुनले के भन्छ ? फलानो व्यक्तिले आत्महत्या गरे । विज्ञानले के भन्छ, फलानोको घाँटीमा दबाव भएर मर्‍यो ।

तर, आफ्नो गलामा डोरी बाँध्नुअघि नै ऊ मरिसकेको हुन्छ । खासमा उनी घाँटीमा डोरीको दबावले होइन, मस्तिष्कमा पैदा भएको दबावले मरेका हुन्छन् । अतः उनको मस्तिष्क किन तनावग्रस्त भयो ? किन विचलित भयो ? यसमा कारण हामी नै हुनसक्छौ । समाजमा हुर्कने हरेक व्यक्तिको आफ्नै पीडा, समस्या, चोट हुन्छ । त्यसका हामीले सेकताप गर्नुपर्ने हो । सहयोग गर्नुपर्ने हो । थमथमाउनुपर्ने हो । तर, हामी अरुको चोटलाई थप आलो बनाउने चेष्टा गर्छौं । त्यही कारण ऊ अपराधी बन्छ । अझ यसो भनौ, अपराधी बन्दैन । अपराधी बनाइन्छ ।

अमेरिकामा एक किशोरले आफ्नै विद्यालयमा गएर आफ्नै सहपाठी र शिक्षकमाथि अन्धधुन्द गोली बर्साए । उनी कसरी हिंस्रक भए ? भनेर सोधीखोजी गर्दै जाँदा उनको टिठलाग्दो विगत फेला पर्‍यो । उनी बाल्यकालदेखि नै पारिवारिक कलहको शिकार बनेका रहेछन् । आमाबुवाको कलहले नै उनलाई मनरोगी बनाएको रहेछ । विश्वमा यस्ता डरलाग्दा हिंसाका अनगिन्ती घटना भएका छन् । अतः त्यसको पछाडि अपराधीको विगत खोतलिएको छ । एउटा व्यक्ति कसरी अपराधी बन्छ ? यसमा उनको परिवार र समाजमाथि पनि औंला उठाउने ठाँउ रहन्छ ।