बार्सिलोना : पहिलो लेग खेलमा पराजित भएको बार्सिलोना दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै कोपा डेल रे फुटबल प्रतियोगिताको क्‍वार्टरफाइनलमा पुगेको छ। अन्तिम १६ टोलीबीचको भिडन्तको शुक्रबार बिहान खेलिएको दोस्रो लेग खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोलले हरायो।

उक्त नतिजापछि बार्सिलोना ४-२ कुल गोल भिन्नताका आधारमा क्‍वार्टरफाइनलमा पुगेको हो। गत साता खेलिएको पहिलो लेग खेलमा बार्सिलोना २-१ गोलले पराजित भएको थियो। बार्सिलोनाको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा ओसमेन डेम्बेलले दुई र अर्जेन्टिनी स्टार लियोनल मेसीले एक गोल गरे।

फ्रान्सेली खेलाडी डेम्बेलले दुई मिनेटको बीचमा लगातार दुई गोल गरेका थिए। खेल सुरु भएको ३० औं मिनेटमा पहिलो गोल गरेका २१ वर्षीय डेम्बेलले ३१ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए। ५४ औं मिनेटमा मेसीले टोलीका लागि तेस्रो गोल थपेका थिए।

मेसीले पछिल्ला पाँच खेलमा गरेको यो सातौं गोल हो। पहिलो लेग खेलमा दोस्रो रोजाइका खेलाडीलाई स्थान दिएको बार्सिलोनाले दोस्रो लेग खेलमा भने आफ्ना अधिकांश स्टार खेलाडीलाई मैदानमा उतारेको थियो। बार्सिलोनाले चार वर्षदेखि लगतार कोपा डेल रेको उपाधि जित्दै आएको छ।