यतिबेला मिडियाका लागि ‘हट ईस्यु’ बनेको छ प्रकाश सपुतले गाएको ‘गलबन्दी’ बोलको गीतको लय। यो गीतको लय पुराना गायक शम्भु राईले गाएको गीतको लयसँग मिल्न गएपछि शम्भु राई र प्रकाश सपुत दुवै चर्चामा आएका छन्। गीतको लयको विषय राजनीतिक हुँदै जातीय मुद्दा बनेपछि यसले चिया पसलदेखि संसदसम्म तरंग ल्याइदिएको छ। सामाजिक सञ्जालका प्रयोगकर्ता उनीहरुका पक्ष र विपक्षमा विभक्त भएका छन्। एक अर्कालाई हदभन्दा तल्लो स्तरको गालीगलौजमा उत्रिँदा यो विषयले सामाजिक सञ्जाललाई समेत भद्दा बनाइदिएको छ।

के हो लफडा?
२०४८ सालमा राईले ‘आऊ नाचौँ साथी हो’ बोलको देउसी–भैली गीत गाएका थिए। उनको सोही गीतको भाकासँग सपुतको हालै सार्वजनिक भएको र केही समयमै लोकप्रिय बनेको ‘गलबन्दी’ गीतको लय आफ्नो गीतसँग मिलेको भन्दै विरोध जनाए। सपुतले पनि आफूले गीत नक्कल नगरेको ठोकुवा गरे। त्यसपछि समाजिक सञ्जालमा ठूलै बहस सुरु भयो। मानिसहरु दुवैको पक्ष–विपक्षमा देखिन थाले। यसैबीच राईले सामाजिक सञ्जालमा आफूले हिट हुन वा पैसा कमाउनका लागि गीतको विरोध गरेको नभई आफ्नो पहिचानलाई हटाउन सांस्कृतिक हस्तक्षेप सुरु भएकाले त्यसको विरोध गरेको उल्लेख गरे।

उता सपुतले पनि ‘कपी हुनलाई त पुरै र्याङ कि ठ्याङ मिल्नु पर्ने होइन र? हेर्नुस् त दर्शकहरु बाँडिएको। कसैलाई लाग्छ मिल्छ, कसैलाई लाग्छ मिल्दैन। त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी कबड्डी जस्तो मिडिया–मिडिया नखेलौँ सर’ भन्दै लामो ब्लग लेखे।
त्यसपछि यो विषयमा जातीयताले प्रवेश गर्यो। राईले प्रयोग गरेको शब्द ‘हाम्रो पहिचान’लाई गलत बुझेका कारण यस विषयले जातीय रुप लियो या राईले नै सांकेतिक रुपमा यस्तो स्टाटस लेखे? यसको जवाफ भेटिएको छैन। जातीय मुद्दा चर्काएको आरोप लाग्न थालेपछि राईले २०३४ सालदेखि जातीय मुक्तिका लागि सांगीतिक क्रान्ति गर्दै आएकाले आफूले जाति र पाती छुट्याउने रितलाई नमान्ने बताए। यसअघि उनले गीतविरुद्ध नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा मुद्दा दर्ता गरेका थिए। यस विषयमा दुवै पक्षबीच सहमति हुन सकेको छैन। रजिष्टारको कार्यालयले सहमतिका लागि ३ दिनको समय दिएको थियो। जुन समय बुधबार सकिँदै छ। आजसम्म सहमति हुन नसके यो विषय अदालतसम्म पुग्ने देखिएको छ।

आ–आफ्नै अडान
गायक राई र सपुतलाई मिलाउन लोक तथा दोहरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले मध्यस्थकर्ताको भूमिका खेलेका थिए । साथै, संगीत तथा रोयल्टी संकलन समाज, प्रस्तोता समाज, राष्ट्रिय संगीतकर्मी संघ, सर्जक तथा श्रष्टालगायतले पनि मिलेर जान सुझाव दिएका थिए । तर, दुवैको सहमतिको विन्दु भेटिएन । राईले गीतिमा ‘क्रियसन बाई शम्भु राई’ राख्नुपर्ने अडान लिएका छन्। तर, सपुत यसमा सहमत छैनन्। क्रियसन लेख्दा रचनाकर्ता नै राई हुने उनको बुझाई छ। उनी ‘लय संकलक’ भनेर राईको नाम राख्नेबारे छलफल गर्न सकिने बताउँछन्।

जानकारहरुका अनुसार अब यो लगाई पैसा वा क्रेडिटको भन्दा पनि प्रतिष्ठाको बनेको छ। राई आफू सिनियर भएको हिसाबले झुक्न चाहँदैनन् भने चल्तीको गायक सपुत झुक्ने कुरै छैन। एक संगीतकारले नेपालखबरसँग भने, ‘हामीले सकभर दुवै पक्षलाई मिलाउन खोजेका हौँ। तर, उहाँहरुको मिल्ने अवस्था देखिदैन। यस विषयमा अब अदालतले नै अन्तिम निर्णय लिने अवस्था आउने देखिन्छ।’ धेरैले प्रतिष्ठित गायक राईले आफ्नो छोराको उमेरका सपुतलाई सम्झाउने–बुझाउने गर्नुभन्दा पनि मुद्दा दर्ता गर्नु लज्जाको विषय भएको प्रतिक्रिया दिएका छन्। साथै, सपुत पनि आफूभन्दा ठूलाको सम्मान गर्दै सानो गल्ती भए तापनि माफी मागेर अघि बढ्न हच्किएको बुझाई छ।

यस विषयमा लेखक एकु घिमिरे भन्छन्, ‘लोकगीतमा लय, शब्द र कतिपय बिम्बसमेत मिल्छन्। त्यसैले लोकगीतमा लेखक र संगीतकार नभएर संकलक हुन्छ। कसैले संकलन गरेर गाउँदैमा त्यो उसको हुँदैन, लोकको हुन्छ। यो समान्य विषय हो, हल्लामात्र ठूलो भयो। प्रकाश सपुतले आफूलाई संकलक ठान्नुपर्यो र शम्भु राईले लोकगीत लोकको हो भन्ने ठान्नुपर्यो।’

जातीय मुद्दा
गीत विवादलाई केहीले जनजाति र दलितको लडाईंका रुपमा लिएका छन्। सामाजिक सञ्जालमा यस्ताखाले प्रतिक्रिया आउन थालेपछि यस विषयले संसद र हनुमान ढोकासम्म प्रवेश पाएको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले सपुतको बचाऊ गर्दै गीतको विषयलाई जातीय रुपमा उठाएर दलितमाथि अपमानित गर्ने हिसाबले नीच ढंगले विरोध गरेको बताए। त्यसको २४ घन्टा नबित्दै सामाजिक सञ्जालमा अभद्र टीप्पणी गर्ने सञ्जीव राई कान्छाविरुद्ध महानगरीय प्रहरी परिसर हनुमानढोकामा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ।

सामाजिक सञ्जालमा राई र सपुत समर्थकले एकअर्कालाई आरोप पत्यारोप र गाली गलौच गर्ने क्रम जारी छ। विशेषगरी दलितहरुले आफूहरुमाथि अपमानित शब्द प्रयोग गरेको भन्दै विरोध गरेका छन्।
यसबारे लोकदोहरी गायक बद्री पंगेनी भन्छन्, ‘गलबन्दी गीतको विवादलाई लिएर गायक प्रकाश सपुतमाथि जुन प्रकारको जातीय आक्षेप लगाएर सामाजिक सञ्जालमा गालीगलौज गरिएको छ त्यो २१ औँ शताब्दीको सबैभन्दा दरिद्र सोच हो।’ उनले विवादलाई अझै पनि दुई पक्षबीचको संवादका आधारमा सुल्झाउने प्रयास भइरहेको बताए। गीत नक्कल भएको हो वा होइन भन्ने विषयमा वरिष्ठ कलाकार खुलेर बोल्न चाहँदैनन्। सम्बन्धित निकायलाई देखाउँदै उनीहरु पन्छिने गरेका छन्।

प्रायः कलाकार सकेसम्म दुई पक्ष मिलिदिए हुन्थ्यो भन्ने चाहन्छन्। तर, राई र सपुत व्यक्तिगत ईगो साचेर बसेका कारण त्यो सम्भव भइरहेको छैन। दुवैको वार्तालाई राम्रोसँग बुझेका एक कलाकार भन्छन्, ‘उहाँहरु मिडियामा निकै नरम भएर मिल्ने कुरा गर्नुहुन्छ तर वार्तामा बस्दा अवस्था त्यस्तो हुँदैन। एउटाले गीत चोरेको स्वीकर्नुपर्ने अडान राख्छ त अर्कोले चोरेको होइन भन्छ अनि कसरी कुरा मिल्छ त?’

मुद्दा परे के हुन्छ ?
यदि बुधबारसम्म दुई पक्षबीच सहमति नभएमा यो प्रकरण प्रहरीसमक्ष मुद्दाको रुपमा जाने सम्भावना छ। त्यसपछि प्रहरी अधिकारीले यस सम्बन्धमा अनुसन्धान गर्नेछन्। अनुसन्धानबाट तयार प्रतिवेदनको आधारमा मुद्दा अदालतमा पुग्नेछ। यदि मुद्दा प्रहरीसमक्ष पुगेको खण्डमा राईले क्षतिपूर्तीसमेत माग गर्नेछन्। यसबारे उनले यसअघि नै प्रष्ट पारिसकेका छन्। प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ आकर्षित हुने देखिन्छ। यसरी कानुनमै सर्जकको प्रतिलिपि अधिकार हनन भएको ठहरिएमा १० हजारदेखि १ लाखसम्म जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ। यो समाचार नेपाल खबरका लागि कृष्ण आचार्यले लेख्नु भएको छ ।

 

°°°°°°°

नयाँ पुस्ता कता जाँदै छ ?

समान वातावरणमा छोरा र छोरीलाई हुर्काउनु, पढाउनु, बढाउनुपर्छ भनेर लामो समयदेखि वकालत गरियो । विभेदपूर्ण हुर्काइका कारण महिलाहरू पछि परेको अनुभव साक्षी भएकाले यो अभियानले घरघरमा पूर्णता पाउँदै छ । तर, परिणामचाहिँ सोचेभन्दा अलि फरक देखिइरहेको छ । छोरीलाई छोराजस्तै गरी हुर्काउन खोज्दा हाम्रा छोरीहरूले कलेज पुग्दासम्म एक कप चिया बनाएर खान सकिरहेको देखिँदैन । जतिबेला हामी आफ्नो परिवारलाई खाना बनाएर खुवाउने मात्र होइन, अरू थुप्रै दायित्वहरू काँधमा लिएर हिँड्थ्यौँ त्यो उमेरमा उनीहरू पढाइमा बाहेक अरू कुरामा वास्तै नगर्ने भएका छन् । अध्ययनमा पनि सबैको रुचि छ भन्न मिल्ने अवस्था छैन । आफ्नो लागि नभएर बाबुआमाको लागि पढिदिएजस्तो गरी ‘मैले पढिदिएकै छ नि’को शैलीमा कलेज–घर गरेको देखिन्छ । यो हाम्रो समाजमा हुर्कंदै गरेका सन्तानहरूको वास्तविकता हो ।

 

समान व्यवहार गरेर बनाउन खोजेकोचाहिँ छोरीसँगै छोरालाई पनि घर–व्यवहारमा निपुण र छोरीलाई पनि बाहिरको काममा समान रुचिको अवस्था थियो । विगत विभेदपूर्ण भयो भनेर फरक गर्न खोजेको हाम्रो हुर्काइमा खै के मिलेन, न छोराजस्तो, न छोरीजस्तो, न घरव्यवहार र भान्सामा रुचि न त बाहिर नै धेरै चासो…सोचेभन्दा भिन्दै तरिकाले नयाँ पुस्ता हुर्कंदै छ । छोराछोरी कोठाबाट ननिस्कने, जतिबेला पनि इन्टरनेटको दुनयाँमै रमाइरहने, खान बोलाउँदा समयमा भान्सामा आए भने ठूलै गुन लगाएकोझैँ ठान्नुपर्ने अवस्था झेलिरहेका अहिले कतिपय बाबुआमाले भनेको सुनिन्छ, हाम्रो प्यारेन्टिङमै केही कमी पो भयो कि ? सन्तानमाथि मात्रै दोष लगाउनुको सट्टा आफैँमाथि प्रश्न गर्नु राम्रै पनि हो । यस्ता प्रश्नले आफूले आफूलाई पुनरावलोकन गर्न मद्दत गर्छ । अहिले सन्तानका कारणले बाबुआमा तनावमा छन् कि बाबुआमाको कारणले सन्तान तनावमा छन् छुट्याउनका लागि फरक परिस्थितिहरूलाई बुझ्नुपर्ने हुन्छ ।

कतिपय सन्तान बाबुआमाको बिग्रँदो सम्बन्धले तनावमा छन् । पतिपत्नीबीच कामचलाउ सम्बन्ध अघि बढिरहेकामध्ये पनि धेरैजसो सन्तानका कारण तनावमा छन् । इन्टरनेटले संसारमा धेरै अवसरको ढोका खोल्दै जाँदा हाम्रा कतिपय भावनात्मक सम्बन्धका ढोका भने बन्द गरिरहेको छ । अहिलेका युवाहरू सकेसम्म आफन्तकहाँ जाँदैनन्, चाडबाड उनीहरूलाई बाबुआमाका लागि मनाइदिनेजस्तो बन्दै गएको छ, नातेदारहरू चिन्दैनन्, चिने पनि वास्ता गर्दैनन् । उनीहरू आफैँमा मग्न देखिन्छन्, खुसी छन् या दुःखी हतपत थाहा हुँदैन । ‘फेसियल एक्स्प्रेसन’ हेरेर बुझ्नुपर्ने हुन्छ ।

 

एक साथीले भन्थे– घरमा साथीहरू आएको बेला छोरालाई नमस्कार गर बाबु भनेको काननजिक लगेर उसले दुई हात जोड्दा म त मरेजस्तै भएँ । अहिलेका बच्चाहरूलाई नमस्कार गर्न कति गाह्रो ? यस्तो अवस्थामा कतिपय परिवारमा पतिपत्नीबीच एक–अर्कामा दोषारोपण पनि हुने रहेछ, पतिले भन्ने तिमीले गर्दा बच्चाले संस्कार सिकेन । पत्नीले भन्ने तपाईं पनि त सँगै हुनुहुन्छ किन नसिकाएको त ? प्रायः बाबुहरूमा बच्चाले राम्रो काम गर्दा ‘मेरो छोरा-छोरी’ भन्ने, अलिकति तलमाथि भए पत्नीलाई दोष दिँदै ‘तिमीले गर्दा’ भन्ने आमचलन छ ।

अहिलेका धेरैजसो बच्चालाई घरमा खाना कसरी आउँछको त कुरै छोडौँ, कसरी पाक्छ थाहा छैन । खाना जीवनमा महत्वपूर्ण कुरा हो । तर, अहिलेका सन्तानले त्यसको महसुससम्म गरेका छैनन् । विश्वमा जहाँ पुगे पनि आफैँले बनाएको खाना खानु राम्रो हो । रेस्टुरेन्टको खाना या फास्टफुड सधैँ खाने हो भने त्यसले स्वास्थलाई लामो समय साथ दिँदैन । छोराछोरी र बाबुआमाको सम्बन्ध विगतमा जस्तो थियो त्यसरी अघि बढिरहेको छैन । कतिपय बाबुआमा छोराछोरीको नजरमा आफू करिबकरिब एटीएम मेसिनझैँ महसुस गरिरहेका छन । पैसा चाहियो भने सन्तान राम्रो बोल्छन् या सन्तानले राम्रो मुखले बोले भने उसलाई पैसा चाहिएछ भनी बाबुआमाले बुझ्नुपर्ने हुन्छ । यसप्रकारको सम्बन्धले सन्तानले पाल्छन् भन्ने हाम्रा सोचहरू परिवर्तन गर्न मद्दतचाहिँ पुगेको छ । तर, बाबुआमामा एकप्रकारको असुरक्षित भावना बढ्दै गएको पनि देखिन्छ ।सन्तानप्रतिको चिन्ता पनि त्यत्तिकै छ ।

अहिलेको युवापुस्ता हामीजस्तो साँझ १० बजेपछि सुत्दैन । रातभरि नेटमा बस्नु, बिहानभरि सुत्नु उनीहरूको दिनचर्याझैँ बनेको छ । छोराछोरीको पौरखको कुरा टाढै राखौँ, उनीहरू राम्ररी बोलिदिँदा बाबुआमाले खुसी मान्नुपर्ने अवस्था छ । खासै काम केही छैन, तर छोराछोरी उठ्दै तनावमय मुहारमा देख्ने बाबुआमाको सङ्ख्या बढ्दै छ । के भयो ? किन उदास छौ भनेर आफ्नै छोराछोरीलाई सोध्न नमिल्ने अवस्थामा बाबुआमा छन् । हाम्रो पालामा जस्तो स्कुल गएदेखि घर फर्किएसम्मका कहानी छोराछोरीले बाबुआमालाई सुनाउँदैनन् न त बाबुआमाकै कुरा सुन्छन् । स्कुल–कलेजले देखाइदिएका सपना अभिभावकका लागि अर्को चुनौती हुन् । नेपालमा त पढ्ने कलेज नै छैनन् जस्तो गरी उच्च शिक्षाका लागि विदेशी कलेजका सपना प्लस टु, ए लेभलवाला कलेजहरूले देखाउँछन् । पूरा हुनेको ठीकै छ, पूरा नहुँदाको फ्रस्टेसन–व्यवस्थापन स्कुल–कलेजले गर्दैनन्, बाबुआमा आफैँले गर्नुपर्छ, जसको मूल्य त्यति सहज हुने गरेको छैन ।

 

यता सन्तानका समस्या आफ्नै छन् । ढुङ्गेयुगदेखि इन्टरनेटयुगसम्म आइपुग्दा परिवर्तन त भइहाल्छ नि भन्ने मान्यतामा उनीहरू छन् । युवा पुस्ता आफैं तनावमय देखिन्छ । त्यसमा पनि बाबुआमाको झर्किंदो आवाज सुन्दा तिमीहरू भगवान् हौ र ? भन्ने मनमा आउँदो हो । शरीरमा हर्मोनको चलखेलसँगै अनेक तनावबाट उनीहरू गुज्रिनु त स्वाभाविक नै थियो । जे खोज्यो त्यही भेटिएझैँ लाग्ने इन्टरनेटले थप तनाव सिर्जना गरिदिएको छ । उनीहरूलाई के भएको होला भनी मनस्थिति बुझ्नका लागि बाबुआमा आफैंले अहिलेको परिस्थितिलाई बुझ्नुपर्ने अवस्था छ ।

 

अहिले सन्तान र बाबुआमाबीचको भावनात्मक द्वन्द्व भनेको ‘टिन एज’ र मिडल एज’बीचको लडाइँ पनि हो । मिडल एज आफँैमा सङ्क्रमणकालीन अवस्था हो, टिन एजको कुरै भएन । ‘तिमीबिना मेरो जीवन सम्भवै छैन, म बाँच्नै सक्दिनँ’ भन्ने सोच आउने टिन एज र ‘म कोही नभए पनि बाँच्न सक्छु’को अवस्थातिर ढल्कँदै गएको मिडल एजका बीचको तालमेल सहज छैन । टिनएजका सन्तान हुने बाबुआमालाई कहिलेकाहीँ त यो मेरै सन्तान हो त ? भन्ने परिस्थिति पनि आउन सक्छ । त्यस्तो बेलामा सही अभिभावकत्व दिन नसक्दा युवाहरूमा झनै निराशा छाएर डिप्रेसनसम्म पुगेका घटना पनि छन् ।

 

तर, सही अभिभावकत्व भनेको के हो ? भन्ने कुरामा हाम्रो पुस्ता ‘कन्फ्युज्ड’ छ । बुबाआमाको सुझाबवाला स्कुलिङबाट आएका हामीहरू र इनटरनेट सकुलिङबाट दीक्षित हुँदै गरेका हाम्रा सन्तानबीच सोचमा ठूलो अन्तर छ । फरक के हो भने खाल्डोतिर पर्न लाग्दा हाम्रा बाबुआमाको शिक्षाले हामीलाई पछाडिबाट तानेर रोक्न खोज्थ्यो, इन्टरनेट शिक्षाले भूमरीमै पर्दा पनि बाल मललब गर्दैन । जुन कुरा अहिलेको युवा पुस्ताले बुझ्नु जरुरी छ ।