चितवन — नारायणघाट बजारको व्यस्त क्षेत्र सहिद चोक, पुलचोकबाट पुग नपुग दुई किलोमिटर पश्चिममा रहेको बाह्रघरे क्षेत्रमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा देखिनु अचेल नौलो भएन । तर शुक्रबार बिहानपख बस्तीमा एउटा गैंडा बच्चासहित देख्दा स्थानीयहरु भन्दै थिए, ‘जंगलको गैंडा बच्चा जन्माउन अब बजार छिर्न थाले छ ।’ गैंडा हिजो साँझपख एक्लै देखिएको थियो । आज बिहान सानो बच्चासँगै थियो ।

‘यता त दिनदिनै आउँछ गैंडा, कुन दिन हान्ने हो भन्ने डर छ । हिजो चार पाँच बजे एक्लै देखिएको गैंडा आज बिहान आठ बजे बच्चासहित निस्कियो,’ बाह्रघरेकी सरस्वती श्रेष्ठले भनिन् । घना बस्तीको बीचमा सानो चौर छ । त्यही चौरको झाडीभित्र बिहान बच्चासहितको गैंडा देखेपछि हेर्नलाई स्थानीयहरुको भीड लागेको थियो । १० बजे पछाडि गैंडा बच्चासहित नगरवन तर्फ लाग्यो ।

नारायणी नदीले बनाएको टापुलाई नगरवन भन्ने गरिएको छ । सिसौ रोपेर जंगल भएको नगर वनमा पछिल्लो समय गैंडा डुल्न थालेका छन् । तर त्यहाँ गैंडालाई खान मिल्ने घाँस भने छैन । त्यसैले रात परेपछि नजिकैको बस्तीमा छिर्न थालेका हुन् । बजार नजिकै रहेको बाह्रघरेमा मान्छेको बाक्लो ओहोरदोहोर भइरने समयमा गैंडा पनि बस्तीमा आउँदा त्रास फैलने गरेको छ । कान्तिपुर