तस्बिरमा छोरी अझै आफ्नो पिताको ढाडमै छिन्। २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिन्छन्। उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन्।

बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ। फोटो अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत भेटिएको अवस्थाको हो। अमेरिका–मेक्सिको सीमाको नदीमा मृत भेटिएका बुवाछोरीको तस्विरले सबैको मन छियाछिया बनाउँछ, आप्रवासीको कथा उजागर गर्छ। मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको हो। नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान छ। पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ।

 

तस्बिरमा छोरी अझै आफ्नो पिताको ढाडमै छिन्। २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिन्छन्। उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन्। न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन्। तस्विरले आप्रवासीको अमेरिका यात्राको कति दर्दनाक छ भन्ने देखाएको छ। साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेको थियो।

 

सन् २०२० मा अमेरिकामा निर्वाचन हुँदैछ। निर्वाचन नजिक आएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिमा कडाइँ गरिरहेका छन्। गत महिना अमेरिकाले गैरकानुनी आप्रवासी रोक्न मेक्सिकोलाई चेतावनी दिएको थियो। केही अवैध आप्रवासीलाइ अमेरिकाले विमान चार्टड गरेर आ–आफ्नो घर फर्काइरहेको छ। आर्थिक प्रतिबन्धको त्रासका कारण मेक्सिकोले पनि आप्रवासी रोक्न प्रयास गरिरहेको छ। दुवै देशको कडाइँका कारण अमेरिका जान खोज्ने विभिन्न देशका गैरकानुनी आप्रवासी अप्ठ्यारोमा परेका छन् ।अमेरिकामा आतंकवाद घटाउने हो भने मेक्सिको सीमामा थप पर्खाल लगाउनुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ।

 

विश्वकै ध्यानाकर्षण गर्ने दुःखद घटनाले एस साल्भाडोर समेत ठूलो चर्चा पाएको छ। विदेशमन्त्री अलेक्सजेन्ड्रा हिलले आफ्नो ज्यान जोखिममा पारेर अमेरिकाको सपना नदेख्न सार्वजनिक अपिल गरेका छन्। ‘यतिबेला हाम्रो देश शोकमा डुबेको छ। परिवार तथा अभिभावकलाई म बिन्ती गर्छु आफ्नो ज्यान जोखिममा नपार्नुहोस्। जीवन सबैभन्दा मूल्यवान छ’, उनले देशबासीलाई सम्बोधन गर्दै भनेका छन्। अमेरिका जाने क्रममा मृत्यु भएका पिता र छोरीको परिवारलाई सरकारले क्षतिपूर्ति दिने राष्ट्रपति बुकिलीले घोषणा गरेका छन्।

 

°°°°°°°

जब बालबच्चाले स्नेह र स्पर्श पाउँदैनन्, उनिहरुको मन कस्तो होला ?

‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने । घरमा मलाई दाई भाउजुले हेला गर्ने । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भएको छैन भनेर भन्ने । यति भन्दै म बिदा माग्छु ।’ ललितपुरमा बसोबास गर्ने एक ११ बषिर्य बालकले लेखेको सुसाइड नोट हो यो । उनी पाँच कक्षाका विद्यार्थी रहेछन् । बागमति गाउपालिका २ माल्टास्थि कालिदेवी माध्यमिक विद्यालयमा पढिरहेका रहेछन् ।

 

अक्सर आत्महत्याको घटनामा युवा र वयस्क बढी हुने गर्छन् । किनभने व्यवहारिक जीवनमा आउने अनेक उतार-चढावले नै कतिपयलाई आत्महत्या गर्न उक्साउने गर्छ । उपचार गर्न नसकिने रोग लागेपछि, तिर्ने नसकिने ऋण लागेपछि, भुल्नै नसक्ने प्रेममा धोका पाएपछि मान्छेले आत्महत्याको बाटो रोज्छन् । जबकी ११ बर्षको बालकसँग न त्यतीका ऋणको बोझ हुन्छ, न उपचारकै लागि त्यस्तो बाध्यता न त प्रेममा धोका नै ।

 

उनले आफ्नो आत्महत्याबारे स्पष्ट खुलाइसकेका छन् । उनले लेखेका छन्, ‘मलाई कसैले माया गर्दैन ।’ खासमा उनी माया-ममताबाट विमुख भएका छन् । घरमा दाजु-भाउजुले माया गर्दैनन् । विद्यालयमा शिक्षक-शिक्षिकाले । विद्यालयमा उनले माया मात्र नपाएका होइनन्, विश्वास पनि पाएका छैनन् । शिक्षकले उनलाई विश्वास गर्दैनन् । यसरी प्रेमिल वातावरणको अभावमा एउटा बालक विक्षिप्त हुन्छन् र ति सबैबाट सधैका लागि मुक्तिको बाटो खोज्छन् ।

 

हामीलाई सामान्य लाग्छ, तर एउटा बच्चालाई स्नेह र विश्वासबाट विमुख भएपछि कति गहिरो चोट लाग्छ ?
भनिन्छ, बालबालिका मायाका भोका हुन्छन् । उनीहरुलाई ममतामयी स्पर्शको खाँचो हुन्छ । ति बालकसँग अरु कुनै ठूलो समस्या छैन । उनी त्यस्तो अप्ठ्यारोसँग जुधिरहेका छैनन् । तर, माया पाएका छैनन् । उनलाई कसैले माया गर्दैन । बालकलाई यस्तै लाग्छ । आफ्नै घरपरिवारमा उनले माया पाएका छैनन् । विद्यालयले उनलाई विश्वास गर्दैन । शिक्षक/शिक्षिकाले उनलाई पत्याउँदैन । उनलाई लाग्छ, यसरी माया र विश्वासबाट विमुख भएर कसरी बाँच्नु ?

 

बालबालिका कस्तो मनोदसाबाट गुज्रिरहेका छन् ?
बालबालिकाको मनोदसा हामी बुझ्दैनौ । उनीहरुको भाषा सुन्दैनौ । कहिले पनि उनीहरुसँग अन्र्तसंवाद गर्दैनौ । हामीलाई के लाग्छ भने बालबालिकले केही जान्दैनन् । केही थाहा पाउँदैनन् । उनीहरुलाई जे गरेपनि हुन्छ, जे भनेपनि हुन्छ । कुनैपनि कुरालाई गंभिरतापूर्वक लिदैनन् । तर, बच्चाहरुको मनोभावलाई हामी बुझ्नुपर्छ । उनीहरुको भाषा सुन्नुपर्छ । बच्चा के चाहन्छन्, के खोज्छन् ? हामीले मनन गर्नुपर्छ ।

 

धेरैजसो अवस्थामा हामीले बालबालिकालाई उपेक्षा गरिरहेका हुन्छौ । उनीहरुले केही बुझ्दैनन्, केही थाहा पाउँदैनन् भन्ने सोचिरहेका हुन्छन् । जबकी बच्चाहरु भित्रभित्रै पीडाले छटपटाइरहेका हुनसक्छन् । आफुप्रति गरिने रुखो व्यवहार, घृणा, असहयोग, अविश्वासले उनीहरु गलेका हुन्छन् । तर, हामी उनीहरुको मनोदशा बुझ्दैनौ । बच्चा कस्तो मनोदसाबाट गुजि्ररहेका छन् ? उनीहरु के चाहन्छन् ? के भइरहेको छ ? हामी चासो राख्दैनौ । जतिबेला बुझ्न खोज्छौ, त्यसबेला ढिला भइसकेको हुन्छ । हामीसँग गल्तीबोध गर्नु सिवाय केही बाँकी रहँदैन । त्यसैले बच्चालाई उपेक्षा नगरौं । उनीहरुको भावनामा ठेस पुग्ने काम नगरौं । उनीहरुलाई स्नेह र स्पर्शबाट विमुख नगराऔं । किनभने हामीले गर्ने यी सामान्य गल्तीबाट उनले कठोर सजाय भोगिरहेका हुन्छन् ।

 

अभिभावकको गल्ती
अभिभावकहरु बच्चासँग अन्र्तसंवाद गर्दैनन् । उनीहरुको भावना बुझ्ने प्रयास गर्दैनन् । बच्चासँग भलाकुरासी गर्दैनन् । बच्चाको भावनालाई सम्मान गर्दैनन् । बच्चाको कुरा सुन्दैनन् ।
एकोहोरो आफ्नो अपेक्षा र इच्छा बच्चामाथि लाद्ने गर्छन् । बच्चा के चाहन्छन् ? अभिभावकले सुन्दैनन् । आफ्नो चाहना के हो ? बच्चामाथि भारी बोकाउन खोजिन्छ । आफुले पुरा नगरेको कतिपय इच्छा र योजनाको झेला पनि बच्चाको काधमा भिराइन्छ । यसले बच्चालाई कति बोझिलो बनाइरहेको छ भन्ने कुरा हामी बुझ्दैनौ । बच्चालाई विद्यालय पठाएपछि जान्नेबुझ्ने हुन्छ, शिक्षित हुन्छ, जागिर खान्छ भन्ने ध्यान्नमै हामी रुमल्लिएका हुन्छन् । जबकी बच्चा कस्तो मनोदसा बोकेर विद्यालय जादैछन् ? उनी के कस्ता समस्यासँग जुधिरहेका छन् ? उनको मनमा कस्तो आँधीबेहेरी चल्दैछ ? हामी अनुभूत नै गर्दैनौ ।

 

शिक्षकको गल्ती
हामीकहाँ शिक्षक/शिक्षिकाहरु बालबालिकासँग खेल्ने, रमाउने गर्दैनन् । बरु डर र अनुशासनको छडी बोकेर सधै भयभित बनाइरहन चाहन्छन् । त्यही कारण बालबालिका शिक्षकसँग डराउँछन् । खुलेर कुराकानी गर्दैनन् । मित्रवत् व्यवहार गर्दैनन् । शिक्षकले आफुलाई शिक्षक भन्दा बढी प्रशासक जस्तै बनाउँछन् । विद्यार्थीसँग उनीहरु अन्र्तसंवाद गर्दैनन् । बरु प्रहरी र अपराधीको झै ठाडो संवाद गर्छन् । बच्चाले शीर निहुराएर, सानो आवाजमा, सर्तक पोजिसनमा कुरा गर्नुलाई अनुशासन ठान्छन् । आफुलाई देख्नसाथ बालबालिका सर्तक र अनुशासिन भएको देख्न चाहन्छन् । आफुले अह्राएको कुरा खुरुखुरु गरोस् भन्ने चाहन्छन् । शिक्षकको यस्तै प्रवृत्तिले गर्दा धेरै बालबालिका मनरोगी भएका छन् । विद्यालय र पुस्तकप्रति वितृष्णा जागेको छ ।

 

बालबालिकाले पढ्नैपर्छ, होमवर्क गर्नैपर्छ, सोधेको प्रश्नको जवाफ दिनैपर्छ, उत्तिर्ण हुनैपर्छ भन्ने शिक्षक/शिक्षिकाको ढिपीले धेरै बालबालिकालाई विद्यालय शिक्षाबाट विमुख गराइरहेको छ । शिक्षकहरु जागिरे मानसिकताले बढी काम गर्छन् । उनीहरु बालबालिकालाई जसरी हुन्छ जान्ने बनाउन लागिपर्छन । यही चक्करले गर्दा उनीहरु बालबालिकाको भावना, मनोदसा, मुड बुझ्न सक्दैनन् । बालमनोविज्ञान नबुझी आफ्नो ढर्रामा पुस्तक घोकाइरहँदा बच्चालाई नकारात्मक असर पर्छ भन्ने उनीहरु बुझ्दैन् । बच्चालाई अविश्वास गर्ने, भेदभाव गर्ने, प्रेम नगर्ने जस्ता कुराले धेरै बालबालिका शिक्षकप्रति भयभित छन् ।