माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा ‘ए प्लस’ ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। बिहीवार प्रकाशित नतिजा अनुसार कुल १७ हजार पाँच सय ८० जना विद्यार्थी ‘ए प्लस’ श्रेणीमा उत्तीर्ण भएका बताइएको छ। यो सङ्ख्या गत वर्षको भन्दा तीन हजारले बढी हो। यो वर्ष पहिलो पटक सङ्घीय संरचनाअन्तर्गत एसईई भएको हो। कुल परीक्षार्थी चार लाख ७५ हजार तीन जना रहेको कार्यालयले बताएको छ। त्यसमध्ये छात्राको सङ्ख्या छात्रहरूको सङ्ख्याभन्दा केही बढी छ।

 

कुन श्रेणीमा कति?

कार्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार उत्तीर्ण विद्यार्थी र तिनको श्रेणी विभाजन निम्म अनुसार रहेको छ:

ए प्लस (३.६ देखि ४ जीपीए): १७,५८०
ए (३.२ देखि ३.६ जीपीए): ५१,१३७
बी प्लस (२.८ देखि ३.२ जीपीए): ६३,७४१
बी (२.४ देखि २.८ जीपीए): ७६,५६४
सी प्लस (२ देखि २.४ जीपीए): ९८,२०७
सी (१.६ देखि २ जीपीए): ९५,३०७
डी प्लस (१.२ देखि १.६ जीपीए): ४३,८४१
डी (०.८ देखि १.२ जीपीए): ४,४२९

 

कसरी हेर्न सकिन्छ नतिजा?

एसईईको नतिजा विभिन्न वेबसाइट र मोबाइल सन्देश एसएमएसबाट हेर्न सकिन्छ। शिक्षासम्बन्धी सरकारी निकायहरूका निम्न वेबसाइटहरूमा हेर्न सकिन्छ: त्यसैगरी नेपाल टेलिकमले विगतमा झै आफ्नो वेबसाइटमा एसईईको नतिजा राख्ने बताएको छ। नेपाल टेलिकमकै १६०० मा फोन गरेर दिइएको निर्देश अनुसारको आफ्नो नतिजा थाहा पाउन सकिन्छ। एसएमएसबाट भने १६०० मा अङ्ग्रेजीमा एसईई र सिम्बोल नम्बर पठाएर नतिजा प्राप्त गर्न सकिन्छ।

 

एसईईको चासो
ग्रेडिङ र प्रादेशिक शिक्षा प्रणालीमा गएपछि विगतमा जस्तो चासो नभएको भनिए पनि आम नागरिकमा एसईईको नतिजाप्रतिको आकर्षण कायम नै छ। सामाजिक सञ्जालहरूले धेरैले एसईई नतिजाका लिएर टिप्पणी गर्ने र आफ्नो बेलाको परीक्षा एवम् नतिजा सम्झने गरेका छन्।

 

एसईईमा शान्ता चौधरीले ल्याइन् बी ग्रेड

यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

 

करिश्माले ल्याइन् थ्री जीपीए (बि प्लस)

बिहीबार सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् । मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै अब आफु ब्यवस्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने प्रतिकृया दिएकी छन् । करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ थिइन् ।

 

एसईईमा ग्रेड कम आए के गर्ने ?

पुरानो एसएलसीको रिजल्ट सुन्ने बानी परेकाहरु एसईईको नतिजा आयो भन्नासाथ प्रश्न गर्छन्- यस वर्ष कतिजना पास भएछन् ? अनि कति विद्यार्थी फेल भएछन् ? तर, ग्रेडिङ सिस्टमले एसएलसी वालाहरुको पुरानो प्रश्नको सहज जवाफ दिँदैन । अर्थात यो प्रणालीमा विद्यार्थीलाई सीधै फेल भएको मानिँदैन । उनीहरु ग्रेडिङमा कम हुन सक्छन् । तर, ग्रेड सी वा सोभन्दा कम नम्बर प्राप्त गर्नेहरुले पूरक ग्रेडवृद्धिको परीक्षा दिन पाउँछन् ।

 

यस वर्ष कक्षा १० को नियमित समूहको साधारण धारतर्फ ४ लाख ४९ हजार ६ सय ४२ जना र प्राविधिक धारतर्फको ९ हजार ६ सय ३३ गरी कुल ४ लाख ५० हजार २७५ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए । परीक्षा नियन्त्रण कार्यालयले भनेको छ, ‘नियमिततर्फ सैद्धान्तिक विषयको बढीमा २ विषयसम्म सी वा सीभन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीहरुले ग्रेडवृद्धिका लागि पूरक ग्रेडवृद्धि परीक्षामा सामेल हुन सक्नेछन् ।’

 

पूरक ग्रेडवृद्धि परीक्षाको तालिका पछि प्रकाशित गरिने परीक्षानियन्त्रण कार्यालयले जनाएको छ । त्यसैगरी नतिजामा चित्त नबुझेमा सम्बिन्धत परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने छ । यसका लागि प्रतिविषय ५ सय रुपैयाँ शुल्क लाग्ने छ । यसका लागि परीक्षा नियन्त्रण कार्यालय, प्रदेशस्थित शिक्षा निर्देशनालय वा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने छ ।