इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ। सरकारले नै निर्णय गरेर आयोजनाको संयोजन गर्ने जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले तत्काल सबै तयारी रोक्ने निष्कर्षमा पुगेको जानकारी दिए। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार उक्त कार्यक्रम आयोजना नगर्न सरकारका नाममा निर्देशन दिएको थियो। समितिको त्यही निर्देशन र जनभावनाको कदर गर्दै अवार्ड समारोहका लागि सुरू भएका सबै तयारी रोकिने जोशीले बताए। ‘हामीले उक्त समारोहलाई पर्यटन प्रवर्द्धन तथा ब्रान्डिङको रूपमा लिएका थियौ तर संसदीय समिति तथा अन्य राजनीतिक तथा सामाजिक कारणले आयोजना अघि बढाउन उपयुक्त समय नठानेर रोक्ने निष्कर्षमा हामी पुगेका छौ,’ जोशीले सेतोपाटीसँग भने। गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए।

 

अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो। अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो। अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने बताइएको थियो। सबैगरी यो कार्यक्रममा नेपाल सरकाको १ अर्ब खर्च हुने अनुमान गरिएको थियो। ४० लाख अमेरिकी डलर नगद, सहभागीका लागि हवाइ टिकट, होटल तथा स्थानीय यातायातका नाममा २५ करोडसम्म खर्च हुने अनुमान थियो। त्यस्तै सुरक्षा तथा अन्य व्यवस्थापनमा पनि करोडौं खर्च हुने पर्यटन बोर्डको प्रक्षेपण थियो। सरकारले नै खर्च गरेर अवार्ड गर्न लागिएको भन्दै जनस्तरबाट विरोध भएको थियो। यो समाचार आजको सेतोपाटीमा लेखिएको छ ।

 

°°°°°°°

केन्यामा बेचिएका नेपाली चेलीको कथा : यस्तो सम्म हुन्छ घटना !

२० वर्षीया असली बाइ गत वर्ष नोभेम्बरमा केन्या पुगिन्। नेपालमा रहेका परिवारलाई साहारा दिने आशासहित उनी केन्या पुगिन्। तर, जब केन्या पुगिन्, यौनदासी बन्न पुगिन्। एउटी किशोरी जसका आमाबुवाले आर्थिक अभावकै कारण सात वर्षकै उमेरमा विद्यालयबाट निकालेका थिए। असली सात सदस्यीय परिवारकी जेठी सन्तान हुन्। विद्यालय छाडेपछि पैसा कमाउन डान्सर बनिन् उनी। यही कामको सिलसिलामा उनको दलालसँग भेट भयो। जसले आफूलाई विशाल भनेर चिनाएको थियो। उनले आफ्ना समस्या ती दलाललाई सुनाइन्।

 

‘केन्या जान्छ्यौ त?’ दलालले प्रस्ताव गर्‍यो।
‘विशालले एउटा मान्छे चिनेको छु। जसले कलाकारको खोजी गर्दै छ भन्यो। म पनि लालायित भएँ,’ उनले भनिन्, ‘असिफसँग सम्पर्क गरायो।’ असिफसँग सम्पर्क भएको एक हप्तामा नै असिफकै सहयोगमा असलीको हातमा पासपोर्ट र हवाइ जहाजको टिकट पर्‍यो, जसले उनलाई केन्याको मोम्बासा पुर्‍याउँथ्यो। नोभेम्बर १२ मा उनी केन्याको मोइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिन्। असिफ नै उनलाई त्यहाँ लिन आए। असलीलाई बाम्बुरीमा रहेको अपार्टमेन्टमा लग्यो। एक दिन आराम गर्न दिइयो। त्यसपछि उनलाई आफ्नो काममा हाजिर लाउन जानु थियो। उनको काम नियालीमा रहेको न्यू रंगीला बारमा नाच्ने भनिएको थियो। उनलाई त्यहाँ ‘मुजरा’ गर्ने अभ्यास गराइएको थियो। र, असिफले उनको पासपोर्ट कब्जा गर्‍यो।

 

असली प्रहरीको अनुसन्धानका क्रममा प्रहरीलाई बयान दिने चारमध्येकी एक नेपाली युवती हुन्। अहिले केन्या प्रहरीले अन्तर्राष्ट्रिय मानव तस्करीको सिन्डिकेटको विषयमा अध्ययन गरिरहेको छ। असलीको बयानले स्पष्ट पार्छ कि, कसरी केन्या यौनदासीका लागि मानव तस्करीको केन्द्र बन्दै छ। गत अप्रिलमा यौन व्यवसायमा संलग्न भएको आरोपमा १२ नेपाली महिला पक्राउ परे। केन्यामा रोजगारीका लागि भन्दै पुर्‍याइएका नेपाली महिलालाई यौनदासीको रुपमा काम गराइरहेको अवस्थामा फेला परेपछि असिफ पनि प्रहरी नियन्त्रणमा छन्। यसरी १२ नेपाली महिलालाई केन्या पुर्‍याएर यौनदासी बनाउने असिफ भारतीय मुलका व्यक्ति रहेको समेत खुलेको थियो।

 

यौनदासी बनाइन्छन्
केन्याको डेली नेसनले गरेको अनुसन्धानमा केन्याली ५० हजार सिलिङ (यो झण्डै नेपाली ५५ हजार हुन आउँछ) तिरेर कसैले पनि त्यहाँ भारतीय नेपाली र चिनियाँहरुको नाच हेर्न पाउने गरेको उल्लेख छ। यहाँ धनाढ्यहरुको उपस्थिति बढी छ। यदि कसैले उनीहरुबाट बढी चाह्यो भने उनीहरुले एक लाख सिलिङ तिर्नुपर्ने हुन्छ। युवतीहरु त्यहाँ केन्याली परम्परागत नृत्यका लागि पुर्‍याइन्छ र यौनदासी बनाइन्छ। मानव तस्करीविरुद्ध सक्रिय गैर सरकारी संस्था ट्रेस केन्याका कार्यकारी निर्देशक पाउल अधोचले भने, ‘जब उनीहरु यहाँ ल्याइन्छन् उनीहरुका डकुमेन्ट नियन्त्रणमा लिइन्छ। उनीहरुलाइ एउटा कोठामा बन्दी बनाइन्छ। पाश्चात्य नृत्य तथा यौनका लागि बाध्य बनाइन्छ। तस्करहरुले २५ वर्ष मुनीकालाई ल्याउँछन्। कतिपय त अझै किशोर नै हुन्छन्। उनीहरु केन्यामा कमाउन आएका हुन्छन्। र अधिकांश अशिक्षित।’

 

उनका अनुसार अधिकांश तस्कर विदेशी हुन्छन्, बेलायती, क्यानडेली। जब युवतीहरु पक्राउ पर्छन् तब तस्करहरु अनेक बाहना बनाउँछन्। कारुणिक चित्कार गर्छन्। स्वदेश फर्किन्छन्। युवतीहरुलाई पनि आफ्नो देश फर्काइन्छ। ट्रेस केन्याले हालसम्म २०६ वटा मानव तस्करीका घटना रेकर्ड गरेकोमा अहिलेसम्म तीन जना मात्र दोषी पाइएको कार्यकारी निर्देशकले बताए। ‘केन्या यौन व्यवसायका लागि स्वर्ग बन्दैछ। जहाँ विदेशीहरु व्यवसायी बन्दै छन्,’ उनले भने।

 

नेपाली युवतीहरुलाई केन्या पुर्‍याउने मोम्बासाका व्यवसायी असिफ अमिराली अलिभाइ जेठा भारतीय मुलका भएको र बेलायती तथा क्यानडेली राहदानी भएको बताइएको छ। उनको पहुँच केन्याका व्यवासायी तथा उच्च अधिकारीसँग भएको बताइन्छ। उनको सम्पर्क सुरक्षा अंगसँग भएको देखिन्छ। जसले उनको पक्राउ कानुनको उल्लंघनका लागि भए पनि मुद्दा जटिल बन्दै गएको छ। उनीविरुद्ध मानव तस्करी, मानव तस्करीलाई बढावा दिएको तथा महिलाहरुको राहदानी लगायतका कागजात नियन्त्रणमा लिएको अभियोग दर्ता भएको छ। उनले बारलाई मानव तस्करीका लागि प्रयोग गर्न दिएको अभियोग पनि छ।

 

रंगीला क्लबमा उच्च प्रवेश शूल्क र टिप्स तिर्नसक्नेहरुलाई मात्र प्रवेश दिइन्थ्यो। ‘क्लब पुग्दा ढोका सँधै बन्द हुन्थ्यो। ढोका ढकढकाएपछि मात्र भित्रबाट खुल्थ्यो, गार्डले चेक गर्थे। यदि तिमी चिनेका हौ भनेमात्र प्रवेश दिन्थे,’ क्लबका एक ग्राहकले भनेका छन्। मुजरा दक्षिण एसियामा महिलाहरुले गर्ने नृत्य हो। ‘महिलाहरु मुजरा गरिरहेका हुन्छन्। यदि कसैले उनीहरुलाई मन पराए भने उनीहरुसँग गोप्य बसाइका लागि थप पैसा दिनुपर्छ,’ अर्का ग्राहकले भनेका छन्।

 

महिलाहरुलाई उपनाम दिइन्थ्यो। हरेक रातका लागि पैसाको टार्गेट पनि दिइन्थ्यो। उनीहरुको टार्गेट ५० हजारदेखि ८० हजारसम्म सिलिङ हुन्थ्यो। तर, उनीहरुले १० देखि १५ हजारमात्र सिलिङ बुझ्थे। पक्राउ परेका नेपाली महिलाहरुले दिएको बयानमा उनीहरुलाई नियालीको एक अपार्टमेन्टमा राखिएको थियो। रातमा क्लब जानेबेला बाहेक उनीहरुलाई बाहिर निस्किन छुट थिएन्। त्यस्तै महिनाको एक दिन आउटिङका लागि जान पाउँथे तर क्लबका एक जना निगरानीका लागि खटिन्थे।

 

चार लाखसम्मको मासिक टार्गेट
२६ वर्षीया सञ्जिता आले १० महिनादेखि अन्य १० नेपाली महिलासँगै सोही अपार्टमेन्टमा बस्दै आएकी थिइन्। उनलाई रंगीला क्लबमा लैजादै गर्दा राति ९ देखि १० बजे बाहिर निकालिन्थ्यो। र बिहान ३ बजे अपार्टमेन्टमा फर्काइन्थ्यो। उनले आफ्नो वरिपरिको बारेमा खासै केही जान्दिनन्। उनले आफ्नो अपार्टमेन्ट पनि चिन्दिनन्। ‘हामीलाई काम जाँदाबाहेक घर छाड्ने छुट थिएन,’ उनले भनिन्, ‘हामीलाई महिनामा एक दिन बिदा हुन्थ्यो। त्यतिबेलामा पनि साहुहरु साथमै हुन्थे। हामीलाई फोन पनि दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म बाहेक चलाउन पनि दिइँदैन्थ्यो।’

 

सञ्जिताको स्टेजमा चढ्दा बोलाइने नाम आशिको हो। उनलाई मासिक ४ लाख सिलिङ जम्मा गर्ने टार्गेट दिइन्थ्यो। उनको तलब ८० हजार सिलिङ थियो। ‘स्टेजमा ग्राहकले टिप्स दिन्थे। जसलाई एउटा बाकसमा जम्मा गरिन्थ्यो। ती भाँडा पनि नाच्नेको नाममा हुन्थ्यो,’ उनले भनिन्। हरेक महिना असिफका कामदारले उनको तलबबाट मासिक ६०-७० हजार सिलिङ उनको घरमा पठाउन निकालिदिन्थे। यस्तै कथा रञ्जिता विकको पनि हो। उनले परिवारको आर्थिक अवस्थाका कारण सानैमा पढाइ छाडिन्। ३० वर्षकी उनले पढाइ छाडेसँगै नाच्न थालेकी थिइन्। एक दिन उनको साथीले असिफसँग सम्पर्क गराइदियो। ‘साथीले पहिलोपटक असिफसँग सम्पर्क गराइदियो। उसले टेलिफोनबाट मेरो अन्तर्वार्ता लिएको थियो। मैले मेरो एक महिनाको तलब अग्रिम मागेँ। उसले मेरो लागि जहाजको टिकटसँगै मेरो ऋण तिर्न र नयाँ कपडा किन्न ८० हजार सिलिङ पनि पठाइदियो,’ उनले भनिन्।

 

रञ्जिता पनि गत वर्ष अगस्टमा मोइ अन्तर्राष्ट्रिय विमानस्थल मोम्बासामा अवतरण गरेकी हुन्। उनी त्यहाँ ओर्लिँदा त्यहाँ असिफ र उनका ड्राइभर कुरिरहेका थिए। त्यहाँदेखि उनलाई बाम्बुरीमा रहेको अपार्टमेन्टमा लगियो। जहाँ उनले पासपोर्ट असिफलाई दिइन्। ‘अपार्टमेन्टमा मैले अन्य ८ जना नेपाली महिला भेटेँ। सोही रात ९ बजे नै हामीलाई गाडी लिन आयो र क्लबमा पुर्‍यायो।’ उनीहरुका सबै खर्च उनीहरुका साहुले नै व्यहोर्थे। एउटी महिला मेरीले उनीहरुका फोन नियन्त्रणमा राख्थिन्। ‘कामको समयमा हामी सबैसँग नाम लेखिएको बकेट हुन्थ्यो। सबैलाई आ-आफ्नो टार्गेट हुन्थ्यो। मेरो ४ लाख सिलिङ थियो,’ उनले भनिन्।

 

कहिलेकाही उनीहरुलाई ग्राहकले सीधै पैसा दिन्थे तर अधिकांश ग्राहकले त्यही बकेटमा पैसा हालिदिन्थे। उनीहरुको तलब ८० हजार भए पनि हातमा १० देखि १५ हजार पर्थ्यो बाँकी सबै घर पठाइदिन्थे। अप्रिल १३ सम्म सबै कुरा सहजै चलिरहेको थियो। अप्रिल १३ को बिहान ३ बजे प्रहरीले क्लबमा छापा मार्‍यो। त्यतिबेला रञ्जिता स्टेजमा नाचिरहेकी थिइन्। ‘म स्टेजमा नाचिरहेकी थिएँ। प्रहरी आए। उनीहरुले आफ्नो परिचय दिए। हामीलाई तल बस्न लगाए। केही फोटो खिचे। अनी त्यहाँदेखि प्रहरी चौकी पुर्‍याए। मलाई त्यहाँ आफ्नो बयान रेकर्ड गर्न लगाइयो।’

 

अर्की महिला सञ्जु गुरुङ विवाहित हुन्। उनलाई त्यहाँ नाच्ने काम दिलाउने वाचा गरेर केन्या पुर्‍याइएको थियो। उनलाई उनकै साथीले त्यहाँ पुर्‍याएकी थिइन्। उनी पनि आर्थिक अभावकै कारण विद्यालय छाड्न बाध्य भएकी थिइन्। विद्यालय छाडेसँगै उनको विवाह भयो। उनका श्रीमान डकर्मी थिए। ‘उज्ज्वल भविष्यका लागि मलाई धेरै पैसा चाहिएको थियो,’ उनले भनिन्। उनलाई पनि असिफसँग सम्पर्क गराइयो। असिफले फोनबाटै इन्टरभ्यू लिए। अनि कामको अफर गरे। केन्या पुग्नु अगाडि उनलाई पनि ६० हजार सिलिङ अग्रिम पठाइएको थियो।