काठमाडौं : सरकारले दुईवटा रेल खरिद गर्ने भएको छ। सवा अर्बको लगानीमा रेल विभागले दुईवटा रेलगाडी किन्न गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। रेल विभागले भौतिक मन्त्रालयमार्फत गरेको रेलगाडी खरिद प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। मन्त्रिपरिषद्को यही पुस ३० गतेको निर्णय बिहीबार सार्वजनिक भएको हो। यस्तो निर्णयअनुसार ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुईपक्षीय सरकारबीच (जीटूजी) प्रक्रिया अवलम्बन गरेर रेलगाडी खरिद कार्य अगाडि बढाउन सैद्धान्तिक सहमति दिएको छ।’ यो स्वीकृतिपछि रेल विभागले गरेकै प्रस्तावअनुसार रेल किन्ने प्रक्रिया अगाडि बढ्नेछ। चालु आर्थिक वर्षको बजेटमा नै ५० करोड रुपैयाँ रेल किन्न बजेट विनियोजन गरेको थियो।

नेपालको रेल कस्तो हुनेछ ?

विभागको योजनाअनुसार नेपालले किन्ने रेल नयाँ हुनेछ।
नेपाल र भारत सरकारबीचको जीटूजी मोडलमा रेलगाडी खरिद हुनेछ।
रेल सरकारले जीटूजीबाट खरिद गर्ने भएकाले ३/४ महिनाभित्रै रेल किन्न सकिन्छ तर आवश्यक तयारी पूरा गरेर रेल भित्त्याउँदा करिब ६ महिनासम्मको समय लाग्नेछ ।
रेल किन्न ५०/५० करोडका दरले एक अर्ब रुपैयाँ र पाटपूर्जासहितको खर्च गरी करिब सवा अर्ब रुपैयाँसम्म खर्च हुनेछ ।
करिब १२/१३ सय जना क्षमताको यात्रुबाहक दुईवटा रेल हुनेछ ।
रेल खरिद पस्चात जनकपुरको कुर्थादेखि जयनगरसम्मको ३५ किमि दूरीमा चल्नेछ ।
रेलको अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको र दुवैतर्फ चलाउन मिल्नेछ।
यस्तो रेल डिजेल इलेक्टिफाइड मल्टिपल युनिट (डेमु) खालको हुनेछ।

नेपालले अहिले किन्ने रेल यात्रुबाहक हुने भएकाले यसमा यात्रुका सामान मात्रै बोक्न सकिन्छ तर कार्गो रेल भने होइन। यो रेल आए पनि हाललाई जनकपुरको कुर्थादेखि जयनगरको ३५ किमि दूरीमा मात्रै चल्नेछ।
रेलमार्गको निर्माण भइरहेको र आवश्यक प्रक्रियामा रहेकाले ५/६ महिनामा नै रेलमार्गको दूरी बढेर बिजलापुरसम्म ५२ किमिको हुनेछ।
यो रेलमार्ग विस्तार गर्दै डेढ वर्षभित्र जयनगरदेखि बर्दिवाससम्मको ७० किमिमा रेल कुद्नेछ।

रेल चलाउन भने नेपालसँगदक्ष जनशक्ति नभएकाले भारतबाटै चालकसहित प्राविधिक ल्याउनुपर्नेछ।

यस्तै सरकारले आवश्यक पानी जहाज कार्यालय स्थापना, कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृति दिएको छ। कार्यालयमा इन्जिनियरिङ सेवाका उपसचिवस्तरका एक व्यक्तिसहित १६ जना कर्मचारी हुनेछन्।