बिहीबार रातिदेखि परेका अविरल वर्षका कारण मुलुकभरका अधिकांश क्षेत्र जलमग्न बने । राजधानी काठमाडौंमै सबैभन्दा बढी मानवीय क्षति भयो । मुलपानीमा ३ जनाले पहिरोका कारण ज्यान गुमाए ।  “कलंकीको भुलेश्वरी मन्दिर छेउ बस्ने बर्दियाका ३२ वर्षीय विनोद चौधरी शुक्रबार दिउँसो बल्खु खोला किनारमा थिए ।” विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी हेर्न पुगेका उनी एक्कासी नदीमा हामफालेपछि अधिकांशले आश्यर्च माने । केहीबेरमै थाहा भयो, खोलाले बगाएर ल्याएको सिलिण्डर ग्यास समात्न चौधरीले फाल हानेका रहेछन् ।

 

‘उहाँ खोलामा पसेर सिलिण्डर तान्दातान्दै डुब्नु भएछ’, महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पालले भने, ‘हामीले उहाँको खोजी जारी राखेका छौं ।’ तर, दिउँसै बगेपछि अहिलेसम्म नभेटिएकाले सकुशल भेटिने झिनो आश मात्र रहेको प्रहरी बताउँछ । चौधरी सुरुमा आफ्नै कोठाको सिलिण्डर बगेपछि हाम फालेको हुनसक्ने आशंका गरिएको थियो । तर, प्रहरीले गरेको अनुसन्धान क्रममा त्यो सिलिण्डर केहीमाथि रहेको ग्यास डिपोबाट बगाएर ल्याएको खुलेको थियो ।

 

 

बल्खु खोला कलंकी मालपोत आसपासको क्षेत्रमा पस्दा बस्ती डुबानमा परेको छ। खोलाले मालपोत, खसी बजार तथा बल्खुसम्मका आसपासका बस्ती डुबाएको हो। अव्यवस्थित बस्ती विस्तारका कारण नदीको पाँच सय मिटर असपासका क्षेत्रमा खोला पसेको थियो। खोलाले त्यस क्षेत्रका घरको भूइँ तला डुबाएको स्थानीयले बताएका छन्। खोलाले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग कलंकी र ट्राफिक प्रहरीको भवनसमेत डुबाएको थियो। खोलाको दुई छेउमै बाटो बनाउँदा खोला साँघुरो भएका कारण बस्ती पसेको स्थानीयको भनाइ छ।

 

वर्षाका कारण राजधानीका आपर्टमेन्टहरु पनि जलमग्न बने । कुलेश्वरको ओरियन्टर र कुलेश्वर कोलोनीमा मान्छे नै डुबाउने पानी जमेपछि सशस्त्र प्रहरीको टोली डुंगा नै लिएर उत्रियो । अपार्टमेन्टका सर्वसाधारणको सामान, ग्यास लगायतका सामग्री पनि पानीले बगाएको थियो । सवारीसाधान पनि डुबेका थिए । प्रहरीले त्यहाँबाट उद्दार गरेर मानिसहरुलाई सुरक्षित स्थानमा लगेको थियो ।

हेर्नुहोस भिडियो !