मलेसियाविरुद्ध टी–ट्वीन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।

मलेशिया भ्रमणमा रहेको नेपालले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोलीमाथि सात विकेटको जित हासिल गरेको छ। दुई खेलको शृङ्खलामा १-० को अग्रता दिलाउने क्रम कप्तान पारस खड्काले सानदार ब्याटिङ गरे। खड्काले ८६ रन बनाएपछि नेपालले मलेशियाले दिएको १२९ रनको लक्ष्य १८.३ ओभरमै पूरा गरेको थियो। खड्काको यो १६ वटा टी-२० अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक र सबैभन्दा उच्च व्यक्तिगत स्कोर हो। जुलाई २२ देखि सिङ्गापुरमा हुने टी-२० विश्वकप एशिया छनौटको फाइनल प्रतियोगिताको अभ्यासका लागि नेपाल मलेशियामा छ।

 

 

“पारसको शानदार ब्याटिङ”
प्रारम्भिक ब्याट्सम्यानका रूपमा किनरारा ओभल मैदान छिरेका खड्काले नेपालको जितको महत्वपूर्ण भूमिका खेले । मलेशियाले नियमित विकेट लिए पनि खड्का टिकेर आक्रामक खेले। छक्काका मद्दतले ३२ बलमा पचास रन पुरा गर्ने क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए। उनले कुल ५० बल खेल्दै ८६ रन बनाए जसका लागि उनले आठ चौका र पाँच छक्का प्रहार गरे । छक्का प्रहार गरेर नेपाललाई विजयी बनाएका शरद भेषवाकरले नटआउट १६ रन बनाए। अन्य खेलाडीहरू प्रदिपसिंह ऐरी (८), ज्ञानेन्द्र मल्ल (७) र रोहित पौडेल (५) ले लामो इनिङ खेल्न सकेनन्। मलेशियाका अनवर रहमानले दुई र फित्री सामले एक विकेट लिए।

 

“भिरनदिपको पचास रन”
मलेशियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान भिरनदिप सिंहले ५७ रन र कप्तान अहमत फैजले ४५ रनको योगदान गरेपछि मलेशियाले २० ओभरमा नौ विकेट गुमाएर १२८ रन बनाएको थियो । अन्तिम १५ बलमा पाँच विकेट नगुमाएको भए मलेशियाको स्कोर अझ राम्रो हुन सक्थ्यो।

ब्याटिङतर्फ उत्कृष्ट सुरुवात गरेको मलेसियाले पछि निरन्तर विकेट गुमाउँदा मध्यम स्कोर मात्रै बनाउन सक्यो । नेपालका लागि करण केसीले मलेसियाको ३ विकेट लिए । सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । करणले अन्तिम ओभरमा ३ विकेट लिन सफल भए। नेपालका तर्फबाट अन्तिम ओभरमा चार बलमा तीन विकेट लिएका करण केसी सबैभन्दा सफल बलर रहे। सोमपाल कामीले पहिलो ओभरमै एक विकेट लिएका थिए। नेपाल र मलेशियाको दोस्रो तथा अन्तिम खेल आइतवार हुनेछ। हेर्नुहोस भिडियो ।