काठमाडौँ, सन् २०१९ को मार्चमा नेपालमा हुने भनिएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)को निर्धारित मिति सारीएको छ । पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महिना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ। 

साग आयोजनको मुख्यस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार नभएकोले आगामी मार्च महिना हुन लागेको साग सर्ने निश्चित भएको छ। सरकार मातहत गठित १३ औं साग आयोजना सचिवालयबाट एनओसीलाई पत्र प्राप्त भएको उल्लेख गर्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पूर्वाधार निर्माणलगायत कारण प्रतियोगिता छ महिना सार्न पत्र प्राप्त भएको जानकारी दिए। पदाधिकारीको अनुपस्थितीको कारण सागको नयाँ मिति तोक्ने बैठक समेत बस्न सकेको छैन् । अर्काे मितिका लागि मार्चमा बैठक बसी छलफल गरिने अध्यक्ष श्रेष्ठले बताए ।

सागको मिति सार्ने विषयमा काउन्सिलका सबै सदस्य राष्ट्रको सहमति जुट्न आवश्यक हुन्छ।
१३ औं सागमा ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल गरी २७ खेल समावेश गर्ने यसअघि नै निर्णय भइसकेको छ। 

यसैबीच पूर्वाधार अभावकै कारण प्रदेश नम्बर ५ मा मङ्सिरमा हुनुपर्ने आठौं राष्ट्रिय खेलकुदसमेत आगामी फागुनमा गर्ने सहमति भए पनि अझै मिति टुङ्गो लाग्न सकेको छैन। प्रतियोगिता आयोजना गर्ने विषयमा राखेपकै पदाधिकारी बीच एकमत नहुँदा प्रतियोगिता कहिले गर्ने भन्न टुङ्गो लाग्न सकेको छैन ।