हाम्रो समाजमा पहिलो जस्तो छैन तर अझैपनि हाम्रो समाजले केटी मान्छेलाई पराइ घर जाने सन्तानका रूपले हेर्दछ । उसलाई जन्मैदेखि कमजोर बनाइएको हुन्छ उसको मानसिकता। त्यो जात अर्काको निर्भरमा रहने जात हो भनेर दिमागमा घुसाइएको कारण उनीहरूले आडम्बरी इज्जतका नाममा आफ्नो इच्छालाई दबाएर राखेका हुन्छन्। यो भन्दैमा पुरुषहरु पिडित नभएका भने हिईनन । पुरुष पिडितको संख्या पनि बढ्दो छ ।

 

आजभोलिको खुला समाजले गर्दा केहीले मात्र आफ्नो इच्छाका कारण विद्रोही निर्णय गर्न थालेका छन्। फलस्वरूप विभिन्न जिल्लाको आँकडाले के देखाउँछ भने प्रत्येक जिल्लाहरूमा सम्बन्ध विच्छेदका संख्याहरू बढ्दै गइरहेका छन्। ८ महिनाको अवधिमा धरानमा करिब ४ सय जनाले सम्बन्ध विच्छेद गरिसकेका तथ्यांकले देखाउँछ । यसैगरी चितवन, नवलपरासी, म्याग्दी र बाग्लुङमा पनि बढेको देखाइएको छ ।

 

यसरी बढ्नुमा केही कारणहरू यस्ता पनि हुनसक्छन। पहिलो, मानिसहरू सचेत हुँदै गइरहेका छन्। समाजमा कसैको ‘दमित’ भएर बस्ने चाहना नभएको हो भने अर्कोतिर यसको रूटमा जाँदा शारीरिक आकर्षण र आवश्यकतालाई प्रेम सम्झेर विवाह गर्दछन् र पछि पछुताउँछन् भन्ने अर्थ लगाउँदा फरक पर्दैन। अर्थात् आकर्षणमा प्रेम गर्छौं भावनामा पछुताउँछौं । त्यही भावना बुझ्ने नै प्रेमिका र जीवनसंगीनी हुन्छे, नबुझ्ने हुँदैन ।

 

अर्को प्रसंगमा भन्दा एकले अर्कोलाई उसको स्तरभन्दा बढी प्रेम गरियो र त्यो प्रेमलाई उसले नबुझेर बदलामा पीडा मिल्यो भने नैराश्यता उत्पन्न भै दुःख र पीडाबीच विकल्प खोज्दा आउने क्रम हो सम्बन्ध विच्छेद। जहाँ श्रीमान् श्रीमतीबीचका नराम्रा पक्षलाई राम्रो पक्षले कभर गर्न जानिएन र सम्बन्धलाई मुटुबाट नभइ मस्तिष्कबाट निभाउन थालियो भने सँगै बस्नुको अर्थ रहँदैन अनि बिच्छेद हुने हो ।

अर्को तरिकाले भन्दा युवापुस्तामा प्रेम हतारमा गर्छौं र पछि पछुताउँछौं। प्रेम गर्न जान्दैनौं। प्रेमको परिभाषालाई बुझ्दैनौं। जानेको भए यौनका विषयवस्तुहरूमा यतिधेरै चर्चा परिचर्चा गरिदैंनथ्यो। प्रेम हुँदैमा विवाह गर्नुपर्दछ भन्ने जरुरत पनि छैन यदि आवश्यकता भयो भने मात्र विवाह हुने हो। विवाह हुँदैमा प्रेम हुन्छ भन्ने जरुरत पनि छैन। यदि आवश्यकता भयो भने डिभोर्स पनि हुने हो।

समाजले यी कुराहरूलाई पचाउन सकेको हुँदैन । म मेरो मर्जीले विवाह गर्छु र मेरो मर्जीले सम्बन्ध बिच्छेद गर्छु भन्ने आत्मकेन्द्रीत निर्णय गर्न किन नपाउने? भन्ने प्रश्न छ। त्यसैले अधिकारका विषयहरू जोडिएका हुनाले सम्बन्ध विच्छेद क्रम बढ्दै गइरहेको हुनुपर्दछ ।

 

मानिस सफल हुँदैमा उसको पारिवारिक सम्बन्ध पनि सफल हुन्छ भन्ने छैन। पारिवारिक जीवन सफल हुनका लागि केवल प्रेममात्र मुख्य हो, केवल प्रेम । नत्र मनिषा कोइरालामा के कमी थियो र ? रूप,रंग र यौवन थियो। त्यो भन्दा पनि बढी नाम, दाम र काम थियो, अझ भन्नुपर्दा मानसम्मान र ज्ञान थियो। अनुभवले खारिएकी कोइरालाले सुझबुझका साथ सायद विवाह गरेकी हुन्। तर विवाह फापेन। त्यो उनकै आफ्नै पारिवारिक र परिवेश होला। अन्जु पन्त र मनोज शिवा पनि यसबाट अछुतो रहन सकेनन्। भर्खरै मात्र चर्चित कलाकार मनोज गजुरेलले पनि यस्तै भयो ।

 

वास्तवमा भन्दा जीवन जिउने कला मान्छेका आ–आफ्नै हुन्छ। आफू कुन अर्थले जिउने भन्ने कुरा आफ्ना नितान्त व्यक्तिगत हुन्। त्यसैले विवाहपश्चात कथंकदाचित दुई फरक प्रकृतिका मानिसहरूमा असमझदारी उत्पन्न भै कुनै पनि हालतमा समझदारीमा पुग्न नसकेपछि अपनाउने बाटो हो सम्बन्ध विच्छेद। अहिले फराकिलो बन्दै गइरहेको हाम्रो सोचमा केहीले समाज र परिवारमा विद्रोह गरेर सम्बन्ध बिच्छेदसम्म पुगेका छन्। थोरैले मात्र विद्रोह गर्दछ।

 

प्रेम विद्रोहको अर्को रूप हो। जसले समाजमा प्रेमका लागि विद्रोह गर्न सक्छ उसले आफ्नो अमूल्य जीवन हार्दिकता र रोमान्टिकमा बिताउन सक्छ। हामीहरू देखावटी जीवन बिताइरहेका हुन्छौं । घर कस्तो बनाउने? कस्तो जग्गा किन्ने? कस्तो सुन लगाउने? यी हाम्रा प्राथमिकतामा पर्दछन्। तर घरभित्रको यिनै प्राथमिकताभित्र मान्छेका भित्री चाहनाहरू जुन प्रकृतिको अनुपम उपहार हो मानवका जीवनका लागि त्यसलाई खुम्च्याएर बसिरहेका हुन्छौं ।

 

यदि कसैले स्वतन्त्र जिउनका लागि सम्बन्ध बिच्छेद गरिहालेमा उसप्रति यस समाजले नकरात्मक टिकाटिप्पणी गर्दछ। दृष्टिकोण संकिर्ण हुन्छ जस्तै कि श्रीमानको केही कमजोरी थियो र सम्बन्ध विच्छेद भएको हो कि ? वा श्रीमतीको केही कमजोरी थियो र सम्बन्ध विच्छेद भएको हो कि ? प्रत्येकले यो संसारमा खुशीसाथ बाँच्न पाउने अधिकार छ भन्ने हेक्का नराखी कथा बुन्छौं ।

 

एउटा युवती विवाह गरेपछि ऊ कसैको श्रीमती, भाउजु, देउरानी, बुहारी आदि इत्यादी हुन्छ। कालान्तरमा ऊ आमा बन्छे। तर ऊभित्रको दमित इच्छा यदि उसकै पुरुषले बुझिदिएन भने उसले विकसित मुलुकमा झै आफ्ना इच्छाहरू उजागर गर्न नसकेर दमित बनाएर बस्छे । ताकि समाजले दिएको विभिन्न उपनाममा बाँच्छे। यदि उसले यसमा विद्रोह गरेर आफ्नो इच्छा अनुसारको जीवन जीउन खोजी भने यो समाजले उसलाई चरित्रहीनको विल्ला भिराउँदछ। यही रूप पुरुषमा पनि हुन्छ । पुरुषले महिला, समाज र नातेदारसँगको सम्बन्ध त्यागेर फरक जीवनयापन गर्न चाह्यो भने उसलाई अनैतिक वा चरित्रहीन आदि विल्ला भिराइन्छ र जिम्मेवारविहीन ठहराइन्छ । अनि हाम्रो समाजले एउटाको घर जलेको हुन्छ अरुहरू जलेको घरको आगो तापेर बजार तताउँदै मनोरञ्जन लिइरहेका हुन्छौं।

 

यो हाम्रो समाज हो । कसैको पारिवारिक जीवनमा जाने नजानेकाले पनि टिकाटिप्पणी गर्छन्। उसको नितान्त र व्यक्तिगत कुरालाई कोट्याएर मनोरन्जन लिने हाम्रो संकिर्ण सोचका कारण हामी सदैव पछाडि छौं। र सम्बन्ध विच्छेदलाई ठूलो समस्याको रूपमा ठान्छौं। एकले अर्कोसँग रोमान्टिक, उच्छृखंल र हार्दिकता मिसिएको प्रेम गर्न जानिएन भने जिम्मेवारी मिलाएर सम्बन्ध विच्छेद गर्नु उपयुक्त बाटो हो।

 

नेपालमा सम्बन्ध बिच्छेद सम्बन्धि नयाँ कानुनि ब्यबस्था :

९३. दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्नेः पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन् ।
९४. पतिले सम्बन्ध विच्छेद गर्न सक्नेः पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछः–

 

(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।

 

९५. पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेः पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन्ः–
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पतिले अर्को विवाह गरेमा,
(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,
(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।

 

९६. सम्बन्ध विच्छेदको लागि निवेदन दिनु पर्नेः सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
९७. पति पत्नीको मेलमिलाप गराउनु पर्नेः दफा ९६ बमोजिम सम्बन्ध विच्छेदको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्नेछ ।
९८. सम्बन्ध विच्छेद गरिदिनु पर्नेः दफा ९७ बमोजिम सम्झाउँदा बुझाउँदा पनि पति पत्नी बीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरिदिनु पर्नेछ ।

 

तर दफा ९७ वमोजिम पति र पत्नी बीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराई दिन पर्नेछ ।
९९. सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नु पर्नेः (१) पतिको कारणबाट पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नी बीच अंशबण्डा गर्न लगाउनु पर्नेछ ।

 

(२) दफा ९५ को खण्ड (ख), (ग), (घ), (ङ) वा (च) बमोजिमको आधारमा पत्नीले सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा उपदफा (१) को प्रयोजनको लागि पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्था भएको मानिने छ ।
(३) सगोलको सम्पत्ति पति पत्नी दुवैको नाममा वा पति पत्नीमध्ये कुनै एकको नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनु अघि निजहरू बीच कानून बमोजिम त्यस्तो सम्पत्तिको अंशबण्डा गर्नु पर्नेछ ।

 

(४) सम्बन्ध विच्छेद हुने पतिले नै बाबु वा अन्य अंशियारबाट अंश लिई नसकेको भए अदालतले दुवै पक्षबाट अंशियार खुलाउन लगाई र अंशबण्डा गर्ने अन्य अंशियार भएमा त्यस्ता अंशियारलाई समेत बुझ्नु पर्ने भए बुझी निजहरूबाट अंशको फाँटवारी माग गरी पति पत्नीको अंश छुट्याई अंशबण्डा गराई दिनु पर्नेछ ।
(५) उपदफा (१), (३) वा (४) बमोजिम अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले पति पत्नी बीच सम्बन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको सम्पत्ति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भरार्ई दिन सक्नेछ ।
तर त्यसरी अंशबण्डा नहुँदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंश पाउने छैन ।

 

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९४ को खण्ड (ख), (ग) वा (घ) बमोजिमको आधारमा सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा पत्नीलाई यस परिच्छेद बमोजिम अंश दिन वा खर्च भराउन पति बाध्य हुने छैन ।
१००. एकमुष्ठ रकम वा खर्च भरार्ई दिन सक्नेः दफा ९९ मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भरार्ई लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिक रूपमा रकम वा खर्च भराई दिन सक्नेछ ।
तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनु पर्ने छैन ।

 

१०१. खान लगाउने खर्च भरार्ई दिन सक्नेः दफा ९९ बमोजिम अंशबण्डा गर्नु पर्दा कुनै सम्पत्ति नभई पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लाउन खर्च भराउन चाहेमा र पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानीको आधारमा खान लगाउने खर्च भरार्ई दिन सक्नेछ ।
तर,
(१) त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो खर्च दिनु पर्ने छैन ।
(२) पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा त्यस्तो खर्च दिनु पर्ने छैन ।

 

१०२. सहमति बमोजिम हुनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नी बीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी बीच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ ।
तर नाबालकको हित विपरीत हुने गरी कुनै सहमति गर्न सकिने छैन ।

१०३. अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउनेः सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टिका हकवालाले पाउनेछ ।

१०४. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ । (सेतोपाटी, ल कमिसन र सुनौलो नेपालको सहयोगमा)

 

यसै बिषयमा सुनौलो नेपालमा डा. सुरेन्द्र भण्डारी संगको कुराकानी हेर्नुहोस !