चलचित्र निर्माता छविराज ओझाविरूद्ध बहुविवाहको उजुरी परेको छ। उनकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी हुन्। शिल्पा र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि आफूले उनलाई के हो भनेर सोधेको तर जवाफमा छविले मैले अर्को विवाह गरेको के प्रमाण छ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी छन्।

 

 

साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको उजुरी दिएको उनले बताएकी छन्। ‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग म यो जाहेरी लिई उपस्थित भएकी छु,’ हेमाले भनेकी छन्। उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन्।

 

पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्। उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्। नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिमाना हुनसक्छ।

 

हेमाले दिएको जाहेरीमा लेखिएको छ,

‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’ छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् ।

 

‘२०७५ साल पुष ११ गते निज विपक्षीहरु (छविराज ओझा र शिल्पा पोखरेल) ले गरेको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी फेला परेपछि निजहरुले बहुविवाह गरेको प्रमाणित भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा म श्रीमती हुँदा हुँदै छोरी भन्न सुहाउने शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी हुँ’, जाहेरीमा छविराज र शिल्पालाई कारवाहीको माग गर्दै लेखिएको छ, ‘निज मेरो विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्मको सजाय गरिपाऊँ ।