बर्दिवासबाट सुनकोसी र रोसी नदीको तीरैतीर अनेकन् घुम्तीमोड, उकालो र ओरालो छिचोल्दै काभ्रेको धुलिखेल बनेपासम्म १६० किलोमिटर लामो दूरीको यात्रा बीपी राजमार्गबाट गर्न सकिन्छ। पूर्वी पहाडी र मध्य तराईका जिल्लाबाट राजधानी काठमाडौं भित्रने बाहिरिने सबै भन्दा छोटो दूरीको बनेपा–सिन्धुली–बर्दीवास (बीपी) राजमार्गमा दैनिक पाँच हजार बढी ठूलासाना सवारी साधन आवतजावत गर्दछन्। नियमित रुपमा आवतजावत गर्ने सावरीसाधनमात्र हैन यस राजमार्गमा नेपालको पूर्वी जिल्लाबाट राजधानी र राजधानीबाट पूर्वी जिल्लासम्म घुम्न निस्कनेहरूका सवारीको पनि उत्तिकै चाप हुन्छ।

 

 

तर, चारखण्डमा विभाजन गरेर जापान सरकारले झण्डै २५ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिदिएको बीपी राजमार्गको अन्तिम तथा चौथो खण्ड खुर्कोट–नेपालथोक (३७ किमि) को रिठ्ठेभिरमा पुग्ने पुराना तथा नयाँ चालक र यात्रुका लागि भने एउटा आश्चर्य लाग्दो दृष्यले एकछिन रोक्किन बाध्य पुर्‍याउँछ। जहाँ एक हजारबढी ऐनैऐनाका बीचमा सेतिदेवी माइको स्थापना गरिएको छ। दैवी शक्तिमाथिको आस्था र सुरक्षित यात्राको मनोभावनासँग जोडिएको यो ठाउँ सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट नजिकै छ। रिठ्ठेभिरको तल अक्कर भिर र सुनकोसी नदी छ। सडकको भित्ता खोपेर बनाइएको एउटा सानो सेतिदेविको मन्दिर र त्यसको वरीपरी भित्तैभरी झुण्डाइएका हजार बढी ऐना।

 

दुर्घटना श्रृंखला
यहाँ पुग्नेहरूलाई मन्दिर र ऐना किन राखियो भन्ने कौतुहलता पक्कै लाग्न सक्छ। रिठ्ठेभिरमा ऐनैऐनाको बीचमा सेतीदेवीको मन्दिर स्थापना गर्नुको कारण आश्चर्य र डरलाग्दो भएको स्थानीय बताउँछन्। यो त्यही ठाउँ हो जहाँ २०६८ वैशाख २० गते एउटा यात्रुबस रिट्ठेभिरबाट सुनकोसीमा खस्दा १४ जनाको घटनास्थलमै ज्यान गएको थियो। त्यसको पाँच महिनापछि असोज २६ गते सोही ठाउँमा सिन्धुलीबाट काठमाडौं जाँदै गरेको यात्रुबस सुनकोसीमा खस्दा ४२ जनाले घटनास्थलमै ज्यान गुमाए।

 

त्यसको ठिक ६ वर्षपछि २०७४ असोज २६ गते सोही स्थानमा अर्को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। २०७० भदौ ३१ गते रिट्ठेभिरमै भएको जिप दुर्घटनामा तीनजनाले ज्यान गुमाएका थिए। त्यसयता उक्त ठाउँमा मात्र भएका सवारी दुर्घटनामा एक दर्जनबढीको ज्यान गइसकेको छ।

 

पहिलो पटक सडक दुर्घटना देखेर त्रसित स्थानीयहरू त्यसयता पटक पटक हुने दुर्घटनाबाट थप भयभीत भएको सेतिदेवी मन्दिरका पुजारी नीरप्रसाद आचार्य सुनाउँछन्। २०६८ असोज २६ गते ४२ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना देखेका स्थानीय बालबालिका, तन्नेरी र वृद्धवृद्धासमेत त्रर्सने, कहालिने र बर्बराउने गर्न थालेपछि सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको पहलमा मनमा पैदा भएको भय भगाउन सप्ताह पुराण लगाइएको पुजारी आचार्यको भनाई छ। अन्नपूर्ण पोस्ट र स्मार्ट टिभिको सहयोगमा ।

हेर्नुहोस भिडियो ।