आइसिसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ। पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपाललाई जितले ठूलो राहत मिलेको छ। बुधबार सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा कप्तानीको भूमीका रहेका ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले २१ बलमा ५१ रन जोडे। त्यसक्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे। २० बलमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले कीर्तिमान समेत बनाए। उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा छिटो अर्धशतक बनाउने खेलाडी।

 

 

पहिलो खेलमा बेहोरेको हार र कप्तान पारस खड्का घाइते हुँदा दबाबमा रहेको नेपाललाई मलेसियाविरुद्धको जितले राहत दिलाएको छ। अब नेपालले २ दिन आराम गरेर अन्तिम २ खेल खेल्नेछ। जुन खेलका लागि कप्तान पारस पूर्ण फिट हुन सक्छन्। नेपालले शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरको सामना गर्नेछ। यी दुवै खेल जिते नेपाल विश्वकप छनोटमा पुग्नेछ।

 

उनले अर्का ओनपर प्रदीप ऐरीसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे। प्रदीप १४ बलमा १२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए भने विनोद भण्डारीले नटआउट १३ रन र शरद भेषवाकरले नटआउट ३ रन जोडे। त्यसअघि वर्षाका ९ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन जोड्यो।

 

मलेसियाका लागि सएद अजिजले सबैभन्दा बढी ३० रन जोडे। उनले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। विरनदिप सिंहले १६ बलमा २१ रन जोडे। बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए। मलेसियाका दुवै ओपनरलाई आउट गरेका सोमपालले २ ओभरमा २३ रन दिए। १ ओभर बलिङ गरेका बसन्त रेग्मीले २ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले १-१ विकेट हात पारे।