ललितपुर – ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १३ मा अवस्थित पौराणिक महत्व बोकेको सन्तानेश्वर महादेवको मन्दिरमा दर्शनार्थीहरुको घुईचो बढन थालेको छ । श्रावण महिनामा शिवजीको विशेष पुजा आराधना गरिने हुदाँ बोलबम भर्न आउने दर्शनार्थी र अन्य तिर्थालुहरुको चहलपहलका कारण यस मन्दिरमा दर्शनार्थीहरुको घुईचो बढन थालेको हो । अझ बिशेष गरि सन्तानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको हरेक सोमबार तिर्थालु भक्तजनहरुको बाक्लो ऊपस्थिति रहने गर्दछ ।

 

त्यस्तै, यस मन्दिरमा श्रावणी मेला अर्थात बोलबमको रौनकतो छाएको छ । त्यसो त श्रावणी मेलालाई मध्यनजर राख्दै मन्दिर ब्यवस्थापन समितिले मन्दिर प्रवेश, पुजा आराधना, भजन किर्तन स्वयम्सेवक परिचालन, सरसफाई, पार्किङ्ग लगायतका कार्यलाई व्यवस्थित बनाएको सन्तानेश्वर महादेव संरक्षण तथा संवद्र्धन सेवा संघका अध्यक्ष ईन्जिनियर विनोद खड्काले बताए । त्यस्तै हाल मन्दिरमा दैनिक रुद्राभिषेक, पूजाआरती, शिव भजन, रामायण भजन तथा साईराम भजन, धुनी जगाउने कार्य आदि नियमित रुपमा सञ्चालनमा रहेको पनि उनले जानकारी दिएका छन् ।

 

पौराणिक तथ्य एवं किंवदन्ती
स्कन्दपुराणको केदार खण्डमा शिवशक्तिको महिमा वर्णन गर्ने क्रममा सन्तानेश्वर महादेवको विवरण पाईन्छ । यस्तै स्कन्द पुराणमा श्रीस्वस्थानी ब्रतकथाको दशौं अध्यायमा सतिदेवीको बिभिन्न अङ्ग पतन भई शिवशक्ति पीठ उत्पत्ति हुने क्रममा नेपालको ॐकारेश्वरमा पुग्दा सतिदेवीको उपल्लो ओठ पतन भयो भनिएको छ । ॐकार पीठ, मातृकादेवी, पुर्णेहरी योगीनी, श्री सन्तानेश्वर महादेव उत्पत्ति भयो र शिवशक्ति स्वरुपले रहे भनिएको छ । त्यस मोक्ष भूमिमा कल्पवृक्ष आई नाना फलफूल चढाई पुजा गरे, ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्दन कल्पवृक्षले जो चिताएको सो फलाउन सकूँ भनी मागेको कथा रहेको छ ।

 

यस महादेव र कैलाश पर्वतको बारेमा विभिन्न किंबदन्ती तथा जनश्रुतिहरु पनि रहेको छन् । पौराणिककालमा बाहृैवटै राशीहरु यस स्थानमा भलरी शीवजीको तपस्या,आराधना गरेको हुनाले भन्ने जनश्रुति पाईन्छ । द्वापरयुगमा श्रीकृष्णले सन्तान प्राप्तीको चाहना राखी यसै पुण्यभूमिमा आई शिवजीको आराधना गरेपश्चात् प्रत्येक पत्नीहरुबाट दश पुत्र र एक पुत्री प्राप्त भएको थियो भन्ने पौराणिक किंंबदन्ती रहेको छ । यसरी यी महादेवको मन्दिरमा पुजा आराधना सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतिहरुलाई सन्तान प्राप्त हुने, भविष्य उज्जवल हुने, सुयोग्य जीवनसाथी प्राप्त हुने आदि मनोकाङ्क्षा पूर्ण हुने जनविश्वास रहेको पाईन्छ ।

 

यस ईलाकामा बिबाह, ब्रतबन्ध वा कुनै उत्सव पर्दा प्राचीनकालमा आवश्यक भाँडावर्तन प्राप्त हुने किंबदन्ती रहेको पाइन्छ । यसको प्रमाणस्वरुप कैलाश पर्वतको उत्तरपूर्वमा रहेको महाङ्काल मन्दिरको ढुङ्गाको छिद्रमा कान थापेर सुन्दा भाँडावर्तनहरु बजेको आवाज आज पनि सुन्न सकिन्छ भन्ने मान्यता स्थापित छ ।

 

अवस्थिती
सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं। १३ ,झरुवारासी स्थित कैलास पर्वतमा अवस्थित रहेको छ । यस मन्दिर सातदोबाटोबाट करिव ६ कि।मि। दक्षिण पूर्व दिशामा पर्दछ । ललितपुरको चापागाउँ, ठैब, बाडेगाउँ र धापाखेलबाट सडक संजाल हुँदै सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ । मन्दिर परिसर पुगेपछि काठमाण्डौ उपत्यकाको रमणीय दृष्य अवलोकनबाट हर जो कोहिको मन आनन्दित हुने गर्दछ ।