योग-“योग शारीरिक स्वास्थ्यका लागि फाइदाजनक रहेको मान्यता समाजमा भए पनि यसले मानसिक स्वास्थ्यमा समेत बल पुर्‍याउँछ। अमेरिकाको इलिनोइस विश्व विद्यालयमा हठ योगमा गरिएको ११ वटा अनुसन्धानको अध्ययन पछि के देखियो भने, योग गर्नेहरुको मानसिक स्वास्थ्य र स्मरणशक्ति राम्रो हुन्छ।”

“तीन दशकअघिसम्म नेपालमा मधुमेह, दम, मुटु र मृगौलालगायतका नसर्ने रोगबाट करिब एक तिहाइ ९३१ प्रतिशत० मानिसको मृत्यु हुने गरेको थियो । तर अहिलेको अव्यवस्थित सहरीकरण, नकारात्मक जीवनशैली, खानपान, शारीरिक सक्रियतामा कमी, तनाव, प्रदूषण आदिले गर्दा उक्त तथ्यांक बढेर दुई तिहाइभन्दा बढी भएको छ।”

 

 

“यस्ता रोग लागिसकेपछि ‘चिकित्सकीय उपाय’ रहे पनि बिरामी हुनै नदिन योग वा आयुर्वेदिक जीवनशैलीको विकल्प छैन। हिमालको काखबाट हजारौं वर्षअघि अस्तित्वमा आएको योग हाल विश्वभर फैलिए पनि नेपालीले त्यसको अझै फाइदा लिन सकेका छैनन्।” ‘आफू स्वस्थ रहने जिम्मेवारी तपाईंकै हो,’ स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्याय भन्छन्, ‘आयुर्वेदको स्वस्थ जीवनशैली अपनाए नसर्ने रोगको ७० प्रतिशत बोझ देशमा कम हुन सक्छ।’

 

“विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया शाखाले योग सबै उमेरका मानिसले गर्न सक्ने बताउँदै बालबालिकाले सातामा ६० मिनेट र वयस्कले १ सय ५० मिनेट योग गर्दा नसर्ने रोगबाट टाढा रहन सकिने जनाएको छ। हाल सहरिया जीवनशैली, शारीरिक सक्रियताको कमीलगायतका कारणले गर्दा दक्षिणपूर्वी एसियामा समेत नसर्ने रोगको जोखिम बढ्दो छ।”

 

“६५ वर्ष माथिका मानिसमा योगले उदासी रोग (डिप्रेसन)को जोखिम कम गर्न सघाउनुका साथै संज्ञानात्मक क्षमतालाई कायम राख्ने उल्लेख गर्दै डब्लूएचओले यो क्षेत्रका ७० प्रतिशत युवा र ८० प्रतिशत युवतीले अपर्याप्त शारीरिक गतिविधि गर्ने गरेको बताएको छ। बर्सेनि यो क्षेत्रमा नसर्ने रोगका कारण ८५ लाख मानिसको मृत्युसमेत हुने गरेको छ।”

 

“५ हजार वर्षदेखि अभ्यासमा रहेको योग शारीरिक शक्ति र लचिलोपना वृद्घिको प्रभावकारी उपाय रहेको भन्दै डव्लुएचओले मुटुसम्बन्धी स्वास्थ्य राम्रो पार्न मात्रै नभई क्यालोरी बढाउन र मस्तिष्कलाई आराम पुर्‍याउन पनि यसको प्रभावकारिता रहेको बताएको छ।” “‘योग साधारण व्यायाम मात्रै हैन। यो शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेर निरोगी राख्ने विधि पनि हो,’ डब्लूएचओले भनेको छ। अतुल मिश्र तयार पारेको यो जानकारीमूलक सामग्री आजको कान्तिपुरमा छापिएको छ।”

 

“‘योगमा गरिने आसनले मुटु र रक्तनलीसम्बन्धी समस्या र मधुमेह आदि जस्ता रोगबाट जोगाउँछ,’ डा।उपाध्याय भन्छन्, ‘प्राणायामले शरीरमा अक्सिजनको प्रवाह बढाएर छाला र श्वास–प्रश्वाससम्बन्धी रोग, क्यान्सरलगायतका जटिल रोगबाट जोगाउँछ वा यसको विस्तारलाई कम गर्छ।’ योगअन्तर्गतको ध्यानले हाल समाजमा अत्यधिक देखिन थालेको उदासीपन, तनाव र छटपटी आदि कम गर्ने उनी बताउँछन् । पछिल्लो दशक नेपालमा कुनै न कुनै रूपमा, जानी नजानी योग गर्ने क्रम देखिएको छ। योग गर्नेहरू ग्रामीण क्षेत्रको दाँजोमा सहरमा बढी छन्।”

 

“विज्ञहरूका अनुसार, मुलुकमा हरेक परिवारले योगलाई आफ्नो जीवनशैलीको अंग बनाउँदा हाल आकासिँदै गएको नसर्ने रोगको जोखिममा कमी आउँछ । यसले जीवनभर उपचार, औषधिको सेवन गर्नुपर्ने नसर्ने रोगबाट बचाएर व्यक्ति, समाज र मुलुकको अर्बौं रुपैयाँ जोगाएको छ। स्वस्थ व्यक्तिले प्रमाणपत्र प्राप्त प्रशिक्षकको सुझावमा उपयुक्त तरिकाले नियमित योग गर्नु फाइदाजनक हुन्छ भने बिरामी, बूढापाका आदिले चिकित्सकसँग सल्लाह गरी आफ्नो उमेर, रोग, अवस्थाअनुकूल हुने योग गर्नुपर्छ।”

 

योगले के गर्छ?
“विगत केही दशकमा विश्वको विभिन्न भागमा भएका अध्ययनअनुसन्धानअनुसार योगले शारीरिक स्वास्थ्य, स्नायुतन्त्र र अस्थिपञ्जर प्रणालीलाई सुचारु रूपले काम गर्न र मुटु तथा नाडीको स्वास्थ्यका लागि फाइदाजनक अभ्यास हो । योगले उच्च रक्तचाप, श्वासप्रश्वाससम्बन्धी विकार, मधुमेह निम्न रक्तचापलगायत जीवनशैलीसँग सम्बन्धित थुप्रै विकारको व्यवस्थापन गर्न लाभकारी छ। यसले मानसिक अर्थात् उदासी रोग, चिन्तासम्बन्धी विकार, थकाइ, तनाव कम गर्न सहयोगी हुन्छ । महिलालाई महिनावारी नियमित गर्नसमेत योगले सघाउने आयुषको प्रोटोकलमा उल्लेख छ।”

 

कसले कुन योग गर्नु हुँदैन?
“उमेर, शरीरको बनावट, रोग, शारीरिक स्थिति आदि हेरेर हरेक योगको प्रक्रिया सबै व्यक्तिका लागि उपयुक्त हुँदैन। योगगुरु मिश्रको अनुसार ढाड, कम्मरका रोगीले अगाडितिर झुक्ने र गह्रुँगो आसन गर्नु हुँदैन । यस्तै उच्च रक्तचाप र मुटुका रोगीहरूले कपालभाती तीव्र गतिमा गर्नु हुँदैन भने शरीरलाई पछाडितिर फर्काउने प्रकार को कुनै पनि आसन गर्नु हुँदैन। चक्रासन, धनुरासन, टाउको तल हुने शीर्षासन, सर्वाङ्ग आसनजस्ता आसन गर्नु हुँदैन । श्वासलाई रोक्ने प्राणायाम र आसनहरू उच्च रक्तचाप भएकाहरूले गर्नु हुँदैन । उनीहरूले श्वासभित्र लिएर रोक्नु वा बाहिर छोडेर रोक्नु अर्थात् कुम्भक गर्नु हुँदैन।”

 

“पेटमा रक्तश्राव भएकाहरूले कपालभाती गर्नु हुँदैन। पेट, छाती आदिको शल्यक्रिया गराएका व्यक्तिले ४ देखि ६ महिनासम्म कपालभाती र बाह्य प्राणायाम गर्नु हुँदैन । छातीसम्बन्धी समस्या भएकाहरूले लामो श्वास लिने, लामो श्वास छाड्ने प्रक्रिया मन्द वा मध्यम गतिले गर्न मिल्छ तर तीव्र गतिले गर्नु हुँदैन। महिनावारी भएको स्थितिमा महिलाले कठिन आसन गर्नु हुँदैन। महिनावारीमा बढी रक्तश्राव हुनेहरूले कपालभाती गर्न रोक्नुपर्छ।”