” ए हिड्न यार अब त लास्टै अबेर भैसक्यो ।” सन्दिपले आफ्नो ल्याप्टप बन्द गर्दै भन्यो ।
” पख्न यार सकिनै लाग्यो, भोलीपनि आफैले गर्नु पर्ने हो के रे ।” रिपोर्ट टाईप गर्दै सुरजले भन्यो ।
“त्यही त भन्दैछु भाइ, भोलि बिहान गर्ने हो । घडी हेर त कति बज्यो । कि तलाई ओभरटाईम दिन्छ , ६ बजे सम्म काम गर्नलाई ।” सन्दिप तयार भैसक्यो ।

एउटा बिकासे आयोजनामा कार्यरत दुई साथि सन्दिप र सुरज ६ बजे सम्म काम गर्दैछन आज । सुरज इमान्दार कर्मचारी हो र इ सधै इमान्दारिताको आडमा अगाडि बढ्न चाहन्छ ।
तर सन्दिप अहँ, पटक्कै मान्दैन उ सुरजको कुरा । इमान्दारिता, डिग्री अनि मेहनतको जमना गैसक्यो । भनसुन, चाप्लुसी, राजनैतिक वा आर्थिक पावर नै सफलताको कडि हो भन्ने बुझ्छ उ ।

” इनान्दारीता हुन्छ नि भाइ, भोलि १० बजे सुड्डोको टेबलमा रिपोर्ट फाल्दिन पाए आनन्द नि होईन र ? फेरि कोअर्डिनेटरको पोष्ट पनि त खाली छ , बुढाको मन पग्लियो भने त म सिधै तेरो हाकिम” सुरजले हास्दै भन्यो ।
” भुत्रो, देखाईस मुला इमान्दारिता ! हेर भाइ हुन त तँ र म सधै सँगै छौ । एक क्लासदेखि अहिले सम्म । तर पनि तेरो बुझाई र मेरो बुझाईमा अलि फरक पर्‍यो ।” सन्दिपले प्रष्ट पार्न खोज्यो ।

” तेरो कमजोरी नै यहि हो के दोस्त, तैले आफुले भन्दा बढी कसैले जानेको छैन भनेर सोच्छस । एक हिसाबले तेरो सोचाई ठिकै हो तर जताततै तैले भनेको जस्तो चलखेल हुदैन । आफ्नो इमान्दारिता, पर्फरमेन्स र कार्यदक्षताको कदर पनि हुन्छ ।” सुरजले आफुले बुझेको कुरा प्रस्ट्यायो ।
” तैले के बुझ्छस मलाई बा……..ल , तर मेरो बुझाई चाहिँ धेरै काम गरेर इमान्दार हुने र प्रोमोसन हुने भाको भए गधा र खच्चड अहिले संसारकै सर्वश्रेष्ठ प्राणी हुन्थे बुझिस ।” सन्दिपले भन्यो अनि उठेर हिड्यो ।