फ्रान्सको ग्रेनोबल शहरमा एउटा जलिरहेको अपार्टमेन्टमा ४० फिटको उचाईमा फसेका दुई बच्चा बाँच्न सफल भएका छन् । तीमध्ये एकको उमेर ३ वर्ष रहेको छ भने अर्को १० वर्षका बालक हुन् । उनीहरुलाई आमा–बुवाले कोठामा बन्द गरेर बाहिर गएका थिए । यसैबीच उनीहरुको चिच्याहट सुनेर केही मानिसहरु अपार्टमेन्ट मुनी पुगे र उनलाई त्यहाँबाट हाम फाल्न भने । बच्चाहरु माथिबाट हाम फाल्ने बित्तिकै तल भएका केही मानिसहरुले उनीहरुलाई सावधानीपूर्वक समातिहाले ।

 

यी दुई बच्चा अपार्टमेन्टको तेस्रो तलाको एउटा फ्ल्याटमा उभिएर रोइरहेका थिए । तीमध्ये एक बालकले भनिरहेका थिए, ‘बाहिर जानका लागि हामीसँग चाबी छैन ।’ यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा पनि सेयर भइरहेका छन् ।प्रयोगकर्ताले बच्चाहरुलाई बचाउनेहरुको तारिफ गरिरहेका छन् ।

 

बच्चाहरु चिच्याएको आवाज सुनेर मानिसहरु पुगेः

बच्चाको उद्दार गर्ने समूहका एक २५ वर्षका विद्यार्थी अतौमनी वालिदले भने, ‘म बच्चाहरुको चिच्याहट सुनेर उनीहरुलाई बचाउन पुगेँ । त्यतिबेलासम्म त्यहाँ केही मानिसहरु पनि पुगिसकेका थिए । सबैले मिलेर बच्चालाई बचाउने तयारी सुरु गर्यौं । त्यतिबेला अपार्टमेन्टमा आगलागी भएको थियो । बच्चाहरुको फ्ल्याटको झ्यालबाट धुँवा निस्किरहेको थियो । उनीहरु निकै आत्तिएका थिए र तल भएका मानिसहरुसँग मद्दत मागिरहेका थिए । सुरुमा दाइले आफ्नो भाइलाई झ्यालबाट तल फ्याँके भने पछि उनी आफैं हाम फाले । दुबैजनालाई तल भएका मानिसहरुले समाते ।’

 

बचाउने मध्ये दुईजनाको हात भाँच्चियोः

बच्चालाई बचाउन पुगेका दुईजनाको हात भाँच्चिएको छ । ती दुई युवक र बच्चाहरुलाई तुरुन्त अस्पताल पुर्याइयो । उनीहरुको उपचार भइरहेको छ । स्थानीय मिडियाका अनुसार बच्चाहरुलाई कुनै चोट लागेको छैन । यद्यपि, धुँवाका कारण उनीहरुलाई केही समस्या भएको बताइरहेका छन् । अपार्टमेन्टमा आगलागीको कारणको अनुसन्धान सुरु गरिएको छ । दुबै आमा–बुवाले उनीहरुलाई घरमा किन बन्द गरेका थिए, यसको कारण पनि पत्ता लगाउने कोसिस भइरहेको छ ।

हेर्नुहोस भिडियो !