काठमाडौं-मंगलबार रातिदेखि पानी र हिउँ परेपछि देशका अधिकाश स्थानमा अत्याधिक चिसो बढेको छ।  हिमपात भएर तापक्रम घटेका कारण कठ्यांग्रिदो चिसो बढेको छ।
चिसो र हिमपातले उच्च भेगमा जनजीवन प्रभावित भएको छ। दुई दिनदेखिको झरीले चिसो बढेका कारण नुवाकोट र रसुवाको दुई दर्जनभन्दा बढी पर्यटकीय स्थानमा बुधबार हिमपात  भएको छ।

काठमाडौंसहित देशभर वर्षा भयो। साथै २ हजार मिटरभन्दा माथिको क्षेत्रमा हिमपात भयो। काठमाडौं थानकोटबाट करीब ५ किलोमिटर माथि पर्ने चन्द्रागिरि समुद्री सतहबाट २ हजार ५५१ मिटर उचाइमा छ।

नुवाकोटको ककनी, सिक्रे, सामरी, भाल्चे, फिकुरी, काहुले, घ्याङफेदी, उर्लेनी, चिम्टेश्वर तथा रसुवाको लाङटाङ, गत्लाङ, तथा गोसाइकुण्ड क्षेत्रमा वर्षासँगै हिमपात भएको हो। नुवाकोट र रसुवामा खुसी र कष्ट दुवै छाएको छ।हिमपातले किसान निकै खुसी भएका छन् भने उच्च क्षेत्रमा हिउँ परेपछि स्थानीयलाई कष्ट छ ।

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्र, निसीको तिलाचन क्षेत्र, तमानखोलाको दुरलेकलगायतका क्षेत्रहरुमा भारी हिमपात भएको जनाइएको छ ।

गोरखाको दुर्गम उत्तरी छेकम्पार, सामागाउँ, ल्हो, विही, प्रोक र लाप्राकको गुप्सीपाखामा हिउँ परेको हो ।
हिउँ हेर्न आसपासका सर्वसाधारण उच्च भेगमा पुगेका छन्। यसका साथै, रसुवाको लाङटाङ, गोसाइकुण्ड, गत्लाङ, थुमन, साङ्जेन, गणेश हिमाल आसपासका क्षेत्रमा हिमपात परेको छ ।

गोसाइकुण्ड पदमार्गमा रहेको चोलाङपाटीमाथि हिमपात भएको छ। लाङटाङ, क्यान्जिङ तथा गणेश हिमाल आसपासको भ्रमणमा पुगेका विदेशी पर्यटक चिसो बढेपछि फर्कन थालेका छन्। विदुरको तापक्रम बुधबार १० डिग्री सेन्टिग्रेडमा झरेको छ।चिसोले बालबालिका, वृद्धदृद्धा तथा असक्त समस्या परेका छन्।

मनाङको सदरमुकाम चामेसहित तिमाङ, दानाक्यु, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचोसहित नारफूलगायतका क्षेत्रमा हिमपात भएको हो ।

चिसोबाट बच्न तातो र झोलिलो खानेकुरा, गेडागुडीको रस तथा न्यानो गरी बस्न चिकित्सकले सुझाएका छन्। कतिपय स्थानमा न्यूनतम तापक्रम घटेसँगै अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।