महिला सशक्तिकरणको बारेमा जति चर्चा भएपनि यथार्थमा भने महिलाहरुकालागि वास्तविकतामा धेरै परिवर्तन भएको छैन।

केही कुराहरू भने फरक भएका छन्। युकेमा ‘अपस्कर्टिङ’ भनिने लुकेर अर्काको कम्मरमुनिको लुगाभित्रको तस्वीर खिच्ने कार्यलाई गैरकानुनी बनाइयो।

दक्षिण कोरियामा लुकाइएका क्यामराबाट सहमति नलिइ खिचिएका अश्लील भिडिओको सबैभन्दा ठूलो वेबसाइट बन्द गरियो।

साउदी अरेबियामा महिलाहरूलाई फुटबल खेल हेर्न अनुमति दिइयो र केहीलाई चालक अनुमतिपत्र पनि दिइयो । र भारतमा महिलाहरूलाई पुरुषहरूलेमात्रै प्रवेश पाउने मन्दिरमा प्रवेश अनुमति दिइयो।

तर अझै नेपालमा छाउगोठमा महिलाहरु मरिरहेकाछन्। बलात्कारका घटनाहरु दिनानुदिन बढेको छ । नेपालमा निर्मला हत्याकाण्ड प्रमुख मुद्दा बने तर कैयौं महिला तथा बालिकाहरु शोषित भएर बसेका छन ।

अफ्रिकामा यौनाङ्ग छेदनको परम्पराले महिलाहरूलाई मारिरहेकोछ। भारतमा महिलाहरूमाथि अझै सामूहिक बलत्कार भइरहेकै छ। एल सल्भाडोरमा अझै गर्भपतन गर्दा जेल जानु पर्ने अवस्था छ ।

र विश्वभर महिलाहरूका लागि सबैभन्दा खतरनाक स्थान भनेको उनीहरूको आफ्नो घर नै रहिरहेको छ।

असमानता हटाउने कार्य यति सुस्तगतिमा भइरहेको छ कि वर्ल्ड इकोनोमिक फोरमका अनुसार महिला र पुरुषको ज्याला बराबर हुन अझै २०२ वर्ष लाग्छ।