काठमाडौं, पुस २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको यो संस्करणका अन्तिम चरणका खेलहरु शनिबारदेखि सुरु हुँदैछन् ।

अन्तिम चरणका सात खेल सकाउन एन्फाले चार दिन लगाउने भएको छ ।

शनिबार जावलाखेल युथ क्लब र च्यासल युथ क्लब तथा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल हुनेछ । दुवै खेल सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित मैदानमा हुनेछन् ।

आइतबार थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब तथा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब खेल्नेछन् । एकै समयमा हुने यिनै खेलबाट तेस्रो स्थानमा रहने टिमको छिनोफानो हुनेछ ।

मनाङ–मर्स्याङ्दी क्लब विजेता र संकटा क्लब उपविजेता बनिसकेको अवस्थामा तेस्रो स्थानको भिडन्तमात्र रोचक बनेको छ ।

थ्रीस्टार र आर्मीमध्ये एक टिम तेस्रो हुनेछ । लिग तालिकामा थ्रीस्टारको २३ तथा आर्मीको २२ अंक छ ।

सोमबार संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम खेल्नेछन् ।

अन्तिम दिन मंगलबार भने मनाङले फ्रेन्ड्स क्लबसित तथा एनआरटीले बिग्रेड ब्वाइज क्लबसित खेल्नेछ ।

विजेता मनाङले पुरस्कारस्वरुप ५० लाख तथा उपविजेता संकटाले ३५ लाख रुपैयाँ सुरक्षित गरिसकेका छन् ।

तेस्रो हुने टिमले २५ लाख पाउनेछ । चौथो टिमले १५ लाख, पाँचौं टिमले सात लाख र छैटौं हुने टिमले पाँच लाख पाउनेछन् ।

‘फेयर प्ले’ टिमले एक लाख रुपैयाँ पाउनेछ ।

योपटक रेलिगेसन नभएपनि अर्को लिगका लागि पुछारको टिमको २ अंक र १३औं स्थानको टिमको १ अंक काटिनेछ ।