जीवन गतिशील छ । नयाँ–नयाँ घटनाक्रम चलिरहन्छ । हामी जीवनमा धेरै कुराको अपेक्षा राख्छौँ किन भने हाम्रो महत्वाकांक्षा ठूलो छ । मानौं हामी जीवनमा एउटा घटना घट्यो । यो घटनाक्रमप्रति हाम्रो धारणा कस्तो हुन्छ त्यही कुराले हामी कति खुसी हुने नहुने भन्ने निर्धारण गर्छौँ । त्यसैगरी घटनाक्रम र अपेक्षाबीच मिलन हुन्छ या हुँदैन भन्ने पनि महत्वपूर्ण हुन आउँछ । यदि हाम्रो जीवनमा घटित घटनाक्रमले हाम्रो अपेक्षाआशा पूर्ति गर्छ भने हामी खुसी हुन्छौँ। अन्यथा दुःखी हुनुको विकल्प हुँदैन । यही नै त्यस सूत्रको मूल सन्देश हो। 

सन् २०१४ मा मो का २१ वर्षीय छोरा अलिको हस्पिटलमा अपरेसनको दौरान मृत्यु भयो । मृत्युको कारण मेडिकल त्रुटि थियो । छोराको मृत्यु मो का लागि अकल्पनीय दुःखद् घटना थियो । उनको अपेक्षा छोराले जीवनमा केही गर्छ भन्ने थियो । तर भगवान्को अर्कै योजना थियो । छोराको मृत्युले उनलाई निकै पिडा दियो । कोठाभित्र रोएर बस्नुको अलावा केही गर्न सकिने अवस्था रहेन । परिवार शोकमग्न भयो । टाइम ट्राभल गर्ने सुविधा भएको भए अवश्य नै छोरालाई बचाउन सक्थे होलान् । संयोगवश उनले डेभलप गरेको सूत्र अध्ययन गरे।

छोराको मृत्युलाई आफ्नो केस स्टडी बनाए । यस सूत्रले उनलाई पीडित हुनबाट बचायो । स्तब्ध भएको परिवारलाई थप टुट्न दिएन । उनले सूत्रको परीक्षण सफल भएको महसुस गरे । छोराको मृत्युको घटनाप्रतिको धारणा परिवर्तन गरे । छोरा फर्केर आउने अपेक्षा राखेनन् । रुन बन्द गरे । डाक्टरलाई कुनै दोष दिएनन् । छोराको मृत्युलाई स्विकारे । जीवनमा जस्तोसुकै घटना घटे पनि खुसी भएर जिउन सकिन्छ भन्ने सन्देश दिन छोराप्रति समर्पित गर्दै ‘सल्भ फर हेप्पी’ भन्ने पुस्तक लेखे जुन बेस्ट सेलर बन्न पुग्यो । अहिले उनको एउटै मात्र मिसन छ– वन विलियन हेप्पी अर्गनाइजेसनसंस्था मार्फत विश्वका अरबाैं मानिसलाई खुसी हुने सेक्रेट बनाउने। 

अब अर्को घटनाक्रमको बारेमा चर्चा गरौँ । सन् १९९८ मा पिक्सर एनिमेसन कम्पनीले ‘टोय स्टोरी २’ को निर्माण कार्य गरिरहेको थियो । टोय स्टोरी २ को फाइल एउटा ड्राइभमा सुरक्षित राखिएको थियो । कसैले ड्राइभमा गलत कमाण्ड थिचेका कारण चलचित्रको सम्पूर्ण फाइल उड्यो । चलचित्रको ९०% हिस्सा एकै क्षणमा स्वाहा भयो । दुई वर्षको मिहिनेत केही सेकेण्डमा कम्पुटर फाइलबाट मेटिने कसैले अपेक्षा राखेका थिएनन् । पिक्सर कम्पनीको अस्तित्व नै धरापमा पर्याे । चलचित्रका प्राविधिक निर्देशकहरु ओरेन जकोब्स र गेलिन ससमेन कम्पनी प्रमुख एड क्याटमल को कार्यकक्षमा रिपोर्टिङ गर्न गए । सबैजना तनावमा हुनु स्वाभाविक थियो । घटना घटिसकेको थियो । त्यसकारण कसैले पनि सर्वस्व गर्याे भन्ने मानसिकता राखेनन् । बरु अब के गर्ने भन्नेमा उनीहरुको ध्यान केन्द्रित भयो।

ब्याकअप सिस्टमबाट सबै डाटा रिस्टोर गरिने र धेरै चिन्तित हुनु आवश्यक नभएको जिकिर गरे । तर पछि ब्याकअप सिस्टमले नै काम नगरेको जानकारी भएपछि उनीहरु गम्भीर भए । कम्पनीका सबै नेतृत्वकर्ताहरु मिटिङका लागि कन्फ्रेन्स हलमा भेला भए । विभिन्न उपायहरुमाथि छलफल गरियो । मिटिङ चलेको एक घण्टापछि गेलिन ससमेनले केही याद गरिन् र भनिन्, ‘एकछिन् । सायद मेरो घरको कम्प्युटरमा ब्याकअप हुनुपर्छ । ६ महिनाअघि मेरो दोस्रो बच्चा हुँदा घरमै बसेर काम गर्नुपरेको थियो । त्यही बेला एउटा सिस्टम सेटअप गरेकी थिएँ । त्यो सिस्टमले हरेक हप्ता फिल्मको सम्पूर्ण डाटाबेस घरको कम्प्पुटरमा स्वतः कपी गथ्र्यो ।’ सबैमा आशा जाग्यो। 

गेलिन आफ्नो कारमा ओरेनसँगै घर गएर कम्प्पुटर अफिसमा ल्याइन् । भाग्यवश गेलिनको कम्पुटरमा चलचित्रको फाइल सुरक्षित थियो । यो घटनाक्रम चलिरहँदा कसैले पनि कसैलाई दोष लगाउने काम गरेनन् । कसैले गलत कमाण्ड टाइप गरेर गल्ती गरिसकेका थिए तर पनि उनलाई सजाय दिनुपर्छ भनेर कोही अघि बढेनन् । सबैले घटना स्वीकार गरे । आफ्नो जिम्मेवारी बोध गरे । अबको कदम के भन्नेतिर लागे।

घटनाक्रमप्रति कसैले पनि नकारात्मक टिप्पणी गरेनन् । सबैले धारणा परिवर्तन गरे । कसरी ? सो घटनाक्रम पछि चालिनुपर्ने कदमको लिस्ट तयार पारेर । लिस्टमा निम्न कुरालाई प्राथमिकतामा राखिएको थियो । एक, फिल्म रि– स्टोर गर्ने । दुई, ब्याकअप सिस्टम मर्मत गर्ने । तीन, डिलिट कमाण्डको उचित व्यवस्थापन गर्ने । त्यो लिस्टमा गलत कमाण्ड टाइप गर्ने व्यक्ति पत्ता लगाएर सजाय गर्ने भन्ने कुरा समावेश थिएन । एकपटक मनन गरौँ न । यदि एकले अर्कालाई दोष लगाएको भए ? त्यो घटनापछि सारा मिहिनेत बालुवामा मिसियो भनेर निराश भएको भए ? उत्कृष्ट चलचित्र निर्माण गर्ने अपेक्षा गुमेको ठानेको भए ? एउटा कुरा पक्का थियो । टोय स्टोरी २ प्रोजेक्ट बन्द हुने थियो । कम्पनी घाटामा जाने थियो । र, सबै दुःखी हुने थिए। 

त्यसैले जीवनमा खुसी हुन केही टेकनिक अपनाउन सकिन्छ जुन सूत्रमा प्रस्ट व्याख्या–वर्णन गरिएको छ । पहिले, घटनाक्रम र अपेक्षाबीच सन्तुलन कायम राख्ने । दोस्रो, नकारात्मक घटनाक्रमप्रति पनि सकारात्मक धारणा राख्ने । घटनाक्रम कन्ट्रोल गर्न नसके पनि त्यसप्रतिको धारणा भने परिवर्तन गर्न सकिन्छ । तेस्रो, अपेक्षा न्यून राख्नु नै पलपल खुसी हुने तरिका हो। 

नागरिक न्युज