जनकपुर, पुस २० । कर्मचारी आभावले काम गर्न समस्या भइरहेको भन्दै प्रदेश नम्बर–२ सरकारले स्थायी कर्मचारी पदपूर्ति प्रक्रिया थालेको छ ।

संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो आइरहेका बेला प्रदेश–२ सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको हो ।

प्रदेश–२ मन्त्रिपरिषदको बैठकबाट लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेशसभामा आइतबारसम्म दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

उनले पटक–पटक आग्रह गर्दा पनि संघीय सरकारले कर्मचारी नपठाएका कारण काम गर्न समस्या भइरहेकाले स्थायी कर्मचारी पदपूर्तिका लागि लोकसेवा विधेयक स्वीकृत गरेको बताए ।

लोकसेवा विधेयक पारित भएपछि प्रदेश प्रहरी भर्नाकार्य वैधानिक हुने प्रदेश सरकारको बुझाइ छ । ईमेजखबर