भद्रपुर (झापा) — हडिया खोलाको बगरमा मंगलबार दिउँसो एक हुल सन्थाल (सतार) बाजागाजासहित नाचगान गरिरहेका थिए । उनीहरू कुनै उत्सव मनाइरहेका थिएनन्, भद्रपुर ९, घोडामाराका डुंग्रु हेमरमको मृत्यु संस्कार गरिरहेका थिए ।

पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने लोपोन्मुख आदिवासी जाति सन्थालको किरियाकर्मका दिन बाजागाजा गर्ने चलन वर्षौं पुरानो हो । यही चलनले यो समुदायलाई अरूभन्दा अलग बनाएको छ । युवाले भने यसलाई खासै रुचाएका छैनन् ।

सन्थाल समुदायका अगुवा पूर्वसांसद मोहन टुडु बाजा बजाएर बिदा गर्दा दिवंगत आत्माको स्वर्गमा बास हुने र सुख मिल्ने विश्वास समुदायमा रहेको बताउँछन् । ‘बाजाको ताल र गीतको सुरबाट सन्थालहरू मृत्यु संस्कार हुँदैछ भन्ने थाहा पाउँछन् र भेला हुन्छन्,’ उनले यसको व्यावहारिक कारणबारे बताए ।

किरियाकर्मको पनि सन्थालको आफ्नै नियम छ । जुन बार मान्छेको मृत्यु भएको छ, त्यही बार पारेर किरियाकर्म गरिन्छ । पहिले मृत्युको १५ औं दिनबाट किरिया गर्ने चलन थियो । अहिले क्रमिक रूपमा हटदै गएको छ । ‘१५ दिनमा गरिने किरिया कर्म छोट्टिँदै छ,’ टुडु भन्छन्, ‘युवा पुस्ता पुरानो संस्कार बदल्ने अभियानमा छन् ।’

मृत्यु संस्कार बदल्नुपर्छ भन्ने मत राख्नेमध्ये एक हुन्, हरि सोरेन । शिक्षित युवा यो संस्कार सान्दर्भिक नभएको ठान्छन् । ‘हाम्रा थुप्रै पुरातन संस्कार अन्धविश्वासमा आधारित छन्, तिनलाई पुराना भएकै भरमा बोकेर हिँड्नु हुँदैन,’ सोरेन भन्छन्, ‘अन्धविश्वासलाई बढावा दिनु हुँदैन ।’

सन्थालको मृत्यु संस्कारअनुसार मृत्युपछि खबरे (गुडित) ले सबै आफन्त कहाँ खबर पुर्‍याउँछन् । आफन्त भेला भएपछि शवलाई नदीको छेउमा पुर्ने वा जलाउने गरिन्छ ।

मृतकको केश र नङलाई अस्तु मानी नदीमा बगाइन्छ । आफन्त र नातागोताले केस मुन्डन गर्छन् । मुखिया (माजिहडाम) विष्णु हेमरम भन्छन्, ‘सक्नेले जलाउँछन्, नसक्नेले जमिनमा पुरेर अन्त्येष्टि गर्छन् ।’

मलामीहरू मृतकले प्रयोग गर्ने एउटा थाल पनि बोकेर जान्छन् । त्यो थालमा इच्छा र गच्छेअनुसार पैसा चढाइन्छ । त्यही पैसाले मलामीलाई मदिरा (जाँड, रक्सी) खुवाइन्छ ।

अन्त्येष्टि सकेर आएपछि कुल देवतालाई कुखुराको भालेको भोग चढाइन्छ । मलामीलाई त्यही भालेको मासु चामलमा मिसाएर खिचडी खुवाइन्छ । युवाले भोग चढाउनेमा पनि आपत्ति जनाउन थालेको मुखिया हेमरम बताउँछन् ।

‘तेह्रौं दिन भान्डान अर्थात् किरियाकर्म हुन्छ,’ मुखिया हेमरम भन्छन्, ‘१३ दिनसम्म परिवार शोकमा हुन्छन्, अरू समुदायको जस्तो कोरामा बस्नु पर्दैन ।’ किरियाकर्ममा नातागोता भेला हुन्छन् । शोक परेको घरमा मदिरा, बाख्राको पाठी र कुखुराको भाले बोकेर जान्छन् ।

नजिकैको खोलामा परिवार र आफन्तले पुन: केस मुन्डन गर्छन् । वाद्यवादन टोली गन्जी, पन्ची र घुंग्रु पहिरिएर तुम्दा, ड्रम र राहाडको तालमा नाच्छन् । मदिरा पिउँछन् । यसरी नै उनीहरू चोखिन्छन् । २०६८ सालको जनगणनाअनुसार नेपालमा सन्थालको जनसंख्या ५१ हजार ७ सय ३५ छ । कान्तिपुर