तेह्रथुम-बसन्तपुर बजारको एक किराना पसलमा आगो लागि भएको छ । तेह्रथुम, लालीगुराँस नगरपालिकाको बसन्तपुरमा बिहीबार दिउँसो आगलागी भएको हो । आगोलागीबाट करिब डेढ करोड बराबरको क्षति भएको छ। 

बसन्तपुरस्थित व्यस्त बजारको प्रगति चौकमा बिहिबार दिउँसो ४:३० बजेतिर आगो लागेको थियो । छेदन शाहको किराना पसलमा आगलागी हुँदा  ठूलो क्षति भएको हो। 

आगलागीबाट किराना पसलमा रहेको सम्पूर्ण समान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय बसन्तपुरले जनाएको छ। प्रहरीका अनुसार पसलको छेउमा कोइला बालेर तापिरहेको अवस्थामा पेट्रोल बेच्ने क्रममा आगो सल्किएको थियो। 

आगलागीबाट साह किराना पसल भएको लालबहादुर याख्खाको घर पूर्ण रुपमा जलेको छ। थप आगो फैलन नदिनका लागि सो घरसँगै जोडिएका मिनकुमारी गुरुङ र रेनुका खड्काको घरसमेत डोजर लगाएर भत्काइएको छ।  

आगो निभाउने क्रममा स्थानीय वर्ष ५० का गोपाल गुरुङ घाइते भएका छन्। आगोले हातखुट्टा जलेका गुरुङको इलाका स्वास्थ्य चौकी बसन्तपुरमा उपचार भइरहेको छ। आगो स्थानियबासी, प्रहरी र दमकलको सहायताले करिब दुई घण्टापछि मात्र नियन्त्रणमा आएको थियो।