बर्षा लागेपछि धेरै खालका स्वास्थ्य समस्या देखा पर्न थाल्छन् । त्यसमध्यको एउटा समस्या हातखुट्टा हिलोले खानु पनि हो । सामान्य भाषामा ‘हिलोेले खानु’ भनेको औँलाका कापहरूमा एक किसिमको सेतो जम्नु हो । यो विशेषगरी खुट्टामा हुन्छ । विशेषगरी वर्षायाममा खाली खुट्टा हिँड्नाले यस्ता समस्या देखापर्छन् । हिलोले खानुलाई ‘फंगल इन्फेक्सन’ पनि भनिन्छ । फंगल इन्फेक्सन भन्नाले ढुसीका किटानु भन्ने बुझिन्छ । यसको संन्क्रमणले वर्षामा मुख्यतया औँलाको कापहरूमा असर पुर्‍याउँछ । हिलोले खाने समस्या सुन्दा र हेर्दा सामान्य लागे पनि परिणाम एकदमै भयङ्कर हुन्छ ।

यो जुनसुकै उमेरका मानिसमा पनि हुनसक्छ । प्रायःजसो खेती किसानी गर्नेलाई बढी देखिन्छ । खुट्टाको तेस्रो र चौथो औँलाको कापमा बढी प्रभाव पार्छ । कहिलेकाही हातमा पनि हिलोले खान सक्छ । मधुमेहका रोगीलाई अझ बढी आक्रमण गर्छ । किनभने, उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ ।

एउटा ढुसीको किटाणुबाट सुरु भएर अरु ब्याक्टेरीयाले पनि संक्रमण गर्न सक्छ । यस्तो अवस्थामा खुट्टा पुरै सुन्निन्छ । बारम्बार हिलोमा जाँदा पानीमा खेल्दा पुनः बल्झन सक्छ ।
कतिपय अवस्थामा ढुुसीका किटाणु औँलाको काप हुँदै नङमा सर्ने संभावना हुन्छ । जसले गर्दा नङ बिग्रिन्छ । नङ पातलो हुने, पहेंलो हुने, सजिलैसँग छुट्टिने र कहिलेकाही अत्याधिक बाक्लो भएर जाने पनि हुन्छ । नङमा भएको इन्फेक्सनको उपचार गर्न झन्झटिलो छ । लामो समय लाग्छ । कतिपय मानिसहरूले यसलाई रोगको रुपमा लिदैनन् । उपचार गर्न अटेरी गर्छन् । तर यही सानो कुराले पछि ठूलो समस्या निम्त्याउन सक्छ ।
यो शतप्रतिशत सरुवा रोग होइन । तर, नसर्ने भन्ने पनि हुँदैन । चप्पल, जुत्ता र मोजाहरू साँटासाँट गर्‍यो भने सर्ने सम्भावना बढि हुन्छ ।