विगत केही समयदेखि शेयरबजारमा आएको गिरावटलाइ सम्बोधन गर्न सरकारले केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित मुद्राबजार तथा पूँजीबजार अध्ययन समितिले दिएको प्रतिवेदनमा तत्काल कार्यान्वयन गर्न सकिने विषयमा ती निकायबाट गरिनुपर्ने कार्य सम्बन्धमा निर्देशन परिपत्र आएको छ ।

केन्द्रीय बैंकको दायित्वमा परेका विषयमा आउनुपर्ने निर्देशन/परिपत्र आइसकेको छ भने धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र केन्द्रीय निक्षेपकको तर्फबाट गरिनुपर्ने कार्यका सम्बन्धमा बोर्ड आफैले गर्नुपर्ने र मातहत निकायबाट गरिनुपर्ने विषयमा बोर्डले ती निकायलाई परिपत्र/निर्देशन जारी गरेको छ ।

केन्द्रीय बैंकले शेयर धितो कर्जा मूल्यांकनको सीमा ५० प्रतिशतबाट ६५ प्रतिशत, शेयर धितो कर्जामा प्राथमिक पूँजीको २५ प्रतिशत बराबर मात्र गर्न पाउने व्यवस्थाको सट्टा ४० प्रतिशतसम्म  प्रवाह गर्न पाउने, शेयर कर्जाको जोखिम भार १ सय ५० प्रतिशतबाट १ सय प्रतिशत कायम गर्न निर्देशन जारी गरिसकेको छ र निर्देशन बमोजिम कतिपय बैंक/वित्तले शेयर धितो कर्जा दिन थालेका छन् ।

कारोबारमा उल्लेख्य भूमिका निर्वाह गर्ने अधिकांश वाणिज्य बैंकले लाभांश घोषणा गर्दै साधारण सभाको लागि शेयरधनी पुस्तिका (बुक क्लोज) बन्द गरिसकेका छन् ।

कारोबारमा उल्लेख्य स्थान लिने नबिल बैंकले भने अहिलेसम्म साधारणसभाको मिति घोषणा गरेको छैन । संचित घाटाबाट उत्रेको जेठो नेपाल बैंकले यसपटक लाभांशसहित वा रहित साधारणसभा गर्ला भनेर लगानीकर्ताहरु व्यग्रतापूर्वक पर्खिरहेका छन् ।

लाभांश बाँड्न सक्ने हैसियत बनाएको भए पनि भर्खर मात्र संचित घाटाबाट उत्रेको हुँदा केन्द्रीय बैंकले यसपटक लाभांश बाँड्न रोक लगाउला कि भन्ने संशय भने कायमै छ ।

त्यस्तै निकै महत्वका साथ हेरिएको प्रभु बैंकले पनि लाभांश घोषणा गरेको छैन ।

नेपाल स्टक एक्सचेन्जले जडान गरेको इन्टरनेटमा आधारित विद्युतीय स्वचालित कारोबार प्रणालीको लागि युजरनेम र पासवर्ड लिने कार्य धमाधम शुरु भएको छ ।

नेप्सेले विज्ञप्ति जारी गरी अनलाइन कारोबारका सन्दर्भमा भएका दुविधालाई प्रष्ट पारेको छ । बैंकिंग प्रणालीसँग आबद्ध गराउन केही समय लाग्ने हुँदा त्यतिन्जेलसम्म कारोबार सदस्य ९दलाल० बाट कारोबार सीमा ९लिमिट० लिएर कारोबार गर्नुपर्ने बताएको छ ।

सूचक र बजार पूँजीकरण

यस हप्ता बजार पुरै ५ दिन खुलेको थियो । यस साता कारोबार मापन गर्ने नेप्से परिसूचक अधिकतम १२०४.५४, न्यूनतम ११७८.०१ र बन्द हुँदा ११७८.०१ अंक कायम भएको थियो ।

बजार पूँजीकरण १४ खर्ब, ८ अर्ब, १४ करोड, ७३ लाख ९० हजार कायम भएको छ । गएके हप्ता बजार पूँजीकरणमा चौथो स्थानमा उक्लेको नेपाल लाइफ यस हप्ता पाँचौ स्थानमा झरेको छ । गएके हप्ता पाँचौँ स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक चौथो स्थानमा उक्लेको छ । उज्यालो अनलाइन