प्रथम उपाधि आयोजक क्लब त्रिवेणी युवा क्लबले हात पारेको छ ।

शुक्रबार सुन्दरबजार युवा क्लब सुन्दरबजार र आयोजक त्रिवेणी युवा क्लब बेसीशहरबीच भएको फाइनल खेलमा ० का विरुद्ध १ गोल गर्दै आयोजक त्रिवेणी युवा क्लब बेसीशहरले त्रिवेणी कपको प्रथम उपाधि हात पार्न सफल भएको हो ।

त्रिवेणी युवा क्लबबाट खेलेका विदेशी खेलाडी मेन्साले फाइनल खेलको २५ औँ मिनेटमा गोल गरेका थिए । उनको गोल नै निर्णायक गोल बन्न पुग्यो । र, आयोजक त्रिवेणी युवा क्लबले प्रतियोगिताको प्रथम उपाधि हात पार्न सफलभयो । विपक्षी टिम सुन्दरबजार युवा क्लबले खेल अवधिभर गोल फर्काउन सकेन । उसले प्रतियोगिताको उपविजेतामै चित्त बुझायो ।

प्रतियोगिताको प्रथम उपाधि हात पारेसँगै त्रिवेणी युवा क्लबले नगद ३ लाख, त्रिवेणी कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको सुन्दरबजार युवा क्लबले  नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै सेमिफाइनल खेलका दुई उपविजेता फुटवल समूह बुद्ध युथ क्लब भोटेओडार र आर.एस. एन्फा कास्कीलाई पनि नगद ५०÷५० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको छ ।