काठमाडौं, पुस २० । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८/६९ मा नाफा आर्जन गरेको थियो ।

पछिल्ला वर्षमा पनि निरन्तररूपमा आर्जन गर्दै सात अर्ब रुपैयाँभन्दा बढी नाफा पुर्‍याउन सफल भएको जनाइएको छ ।

प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार आव २०७३/७४ सम्मको कुल सन्चित नाफा सरकारलाई बुझाउने लाभांशवापतको रकम कट्टा गरेपछि सात अर्ब ३७ करोड ५६ लाख पुगेको छ ।

प्राधिकरणले आव २०७४/७५ मा ६ अर्ब २३ करोड ५९ लाख आम्दानी गरेको जनाइएको छ ।

उक्त आवका लागि प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक पाँच अर्ब ४९ करोड प्रक्षेपण गरेकोमा ७४ करोड १६ लाख रुपैयाँ वृद्धि भइ ६ अर्बभन्दा बढी आम्दानी गर्न सफल भएको हो ।