खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो,भेडेखुर्सानी र अकबरे खुर्सानी पाईन्छन्। त्यस मध्ये पूर्वी नेपालमा अकबरे खुर्सानी पाईन्छन्।भने कही कही नेपालको पश्चिमी क्षेत्रमा पनि यसको खेती गरेको पाइन्छ । नेपाल अधिराज्यभर यसको खेती गर्न सकिन्छ ।

विशेषगरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये पनि इलाम र धनकुटामा बढी खेती गरेको पाइन्छ । पूर्वी नेपालमा पाइने ६–७ जातका अकबरे खुर्सानी मध्ये आकार रङ्गमा हेर्दा ठूलो देखिने, सानो डल्लो, सानोगोलो, लाम्चो, ठूलोगोलो, लाम्चो (बास्नादार) तथा चिप्लो डल्लो (पिरो नहुने) र उल्जे पोटिलो रङ्गका आधारमा पनि गाढा रातो, कलेजी रातो तथा

रातो रङ्गहरुमा पाईन्छ । तर ठूलो गोलो लाम्चो (बास्नादार) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मनपराउने जात हो । सुदुर पश्चिम क्षेत्रमा डडेल्धुरा जिल्लाको रुपाल क्षेत्रमा अकबरे खुर्सानीको खेती गरेको पाइन्छ । हाल तरकारी जर्मप्लाजम सम्बर्धन तथा तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरामा यसको जातीय अध्ययन सम्बर्धन गरी कृषकहरुमा प्रचार प्रसार गर्ने कार्य भईरहेको छ ।

उपयोग :

अकबरे वा राङ्गे खुर्सानी पहिले मङ्गोल जातीका मानिसहरुले मात्र खाने गरेका थिए भने हाल आएर अन्य जातिका मानिसहरुले पनि खाने गरेका छन्। अकबरे खुर्सानी ग्याष्ट्रिक र अल्सरका रोगीहरुले समेत औषधीको रुपमा प्रयोग गरेको पाईन्छ । अकबरे खुर्सानी खासगरी मसला अचार बनाउन उपयोग गरेको पाइन्छ । अकबरे नियमित खाँदा भोक लाग्ने, खाना रुची हुने र थकाइ समेत मेट्ने गरेको पनि उपयोग गर्नेहरुबाट व्यक्त गरेको पाईन्छ । पाकेको अकबरे खुर्सानीलाई हल्का हल्का सुकाई सुल तोरीको तेल वा पकाएको खाने नुन वा भिनेगरमा डुबाएर टाइट विर्को लगाई राखेमा दुई वर्षसम्म खान  सकिन्छ । साथै विभिन्न अचार उद्योगहरुले समेत अकबरेको पेष्ट बनाई प्रयोग गर्ने क्रम शुरु भएको छ ।