काठमाडौं– आफ्नो विरोधका बीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित, त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा वोवास्ता र प्रतिपक्षीविनै संवैधानिक आयोगमा अध्यक्ष नियुक्तिको सिफारिस लगायतका विषयमा काँग्रेसले सरकारविरोधी आन्दोलन चर्काउने भएको छ ।
आज बस्ने काँग्रेस केन्द्रीय समिति बैठकले सरकारका कामकारवाहीका विरुद्धमा आन्दोलनलाई बढाउदै लैजाने निर्णय गर्न लागेको हो । ‘सरकारका कामकारवाहीविरुद्ध आन्दोलन बढाउदै लैजाने कुरामा दुईमत छैन । आजको बैठकमा थप छलफल गरेर कस्ता कस्ता कार्यक्रम गर्ने भन्ने निक्र्योल हुन्छ’ काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘दिउँसो १ बजे बैठक बस्छ त्यसपछि पछि कार्यक्रम तय हुन्छन् ।’


काँग्रेसको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले चिकित्सा शिक्षा विधेयक पारित भएको थियो । यो विधेयक पारित भएसँगै काँग्रेस सरकारविरुद्ध आक्रमक भएको छ ।
नेपाल विद्यार्थी (नेवि) संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेविसंघका नेता/कार्यकर्ताहरुले आइतबार बिहान पशुपति बहुमुखी क्याम्पस अगाडि प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । चिकित्सा शिक्षा विधेयक संसदबाट जबरजस्ती पास गरेको विरोधमा ,बलात्कारपछि हत्या गरिएको कन्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने,अनशनरत डाक्टर गोविन्द केसीको माग पुरा गर्नुपर्ने माग राख्दै नेविस‌ंघले सरकार विरुद्ध प्रदर्शन गर्दै आएको छ ।


सहमहामन्त्री महतले आजको बैठकमा पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा स्थापित अस्पताल र नेविसंघका बारेमा पनि छलफल हुनेछ । बैठकले नेविसंघको वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने वा विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भन्ने विषयको टुङगो लागाउने नेता महतले बताए ।
भ्रातृ संस्था नेविसंघको कार्यसमितिको थपिएको समयावधी गत माघ २ गते सकिएपछि १० गतेसम्म पून थपिएको थियो ।