काठमाडौं-गत वर्ष फागुन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५१ जनाको ज्यान जाने गरी भएको युएस-बंगला एयरको विमान दुर्घटनाको छानविन प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटना जाँचबुझ आयोगले आइतबार पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई अन्तिम रिपोर्ट बुझाए लगत्तै प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रतिवेदनमा विमान दुर्घटनाको मुख्य जिम्मेवार पाइलट अविद सुल्तान भएको औल्यांइएको छ । प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरले युएस बंगलाको विमान दुर्घटना हुनुअघि खेलको भूमिकाभन्दा थप प्रयास र सावधानी अपनाउन सक्ने विषय पनि उल्लेख गरेको छ ।
छानविन प्रतिवेदनले दुर्घटनामा परेको विमानको अवस्था राम्रो रहेको भए पनि अवतरणका लागि विमानलाई तयारी गर्नुपर्ने कुरामा हेलचक्र्याइँ गरिएको निश्कर्ष निकालेको छ । अवतरण गर्नुअघि संवेदनशील भएर विमानलाई जुन अवस्थामा राखेर रन-वेमा ल्याउनुपर्ने हो, त्यस्तो नभएको भनिएको छ ।

विमानभित्र पाइलटले गरेका कुराकानी र कामहरुले सुल्तान मानसिक तनावमा रहेको पनि पुष्टी भएको छ । उनले ककपिटभित्रै चुरोट पिएको पाइएको दावी प्रतिवेदनमा गरिएको छ । उनले विमानभित्र अनावश्यक खालका कुराकानीहरु गरेरको र संवेदनशील ढंगबाट विमान नउडाएको पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै कारणले असावधानीपूर्ण ल्याण्डिङ गराउँदा विमान धावनमार्गबाट बाहिर गएर दुर्घटनामा परेको प्रतिवेदनले जनाएको छ । यस्तै नेपाली एयर ट्राफिक कन्ट्रोलरले पनि विमान सुरक्षाको लागि अधिकतम् प्रयास गर्नुपर्नेमा त्यसमा कमजोरी भएको पाइएको छ ।

विशेष गरी रन-वेको कुन भागबाट ल्याण्डिङ गराउने भन्ने विषयमा ट्राफिक कन्ट्रोलर र पाइलटबीच भएको सम्वादले यसलाई पुष्टी गर्ने प्रतिवेदनले जनाएको छ ।‘तर, एयर ट्राफिक कन्ट्रोलरले विमान दुर्घटनाबाट नै बचाउन सक्ने अवस्था भने थिएन, किनभने विमानलाई जताबाट पनि अवतरण गराउन सकिने गरी रन-वे खाली गरिएको थियो,’ पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने,’विमानलाई सही अवस्थामा राखेर मात्रै रन-वेमा नआउँदा दुर्घटना भएको देखिन्छ ।’
यस्तो ल्याण्डिङ त सजिलै गरिहाल्छु नि भन्ने तवरबाट धावनमार्गमा आउँदा विमान अनियन्त्रित भएर बाहिर गएको प्रतिवेदनले जनाएको उनले बताए ।

अनलाईन खबर