सुनसरी-कोशी गाउँपालिकामा भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । माघ १४ गते भएको प्रतियोगितामा बिजेतालाई भैंसी उपहार प्रदान गरिएको छ । प्रतियोगितामा ९० वटा भैंसी सहाभागी थिए जसमध्ये विन्देश्वर इशरको भैंसी उत्कृष्ट सुन्दरी बन्यो । उनले प्रथम पुरस्कार वापत लैनो भैंसी प्राप्त गरे । 

प्रतियोगिता कोशी गाउँपालिकाले आयोजना गरेको भएपनि भैंसी सुन्दरीलाई प्रदान गरिएको प्रथम पुरस्कार वापतको लैनो भैंसी भने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रदान गरेका हुन् । 
एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीब कोइराला सहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका हुन् । 

सुनसरीमा भैंसी सुन्दरी प्रतियोगिताको अवधारणा भने पहिलो पटक इनरुवा नगरपालिकाले अघि सारेको थियो । सोही अनुरुप प्रतियोगिताको तयारी थाल्दै गर्दा नगर प्रमुख राजन मेहताले व्यक्तिगत पहलमा १ लाख ५० हजार लागतको भैंसी खरिद गरेका थिए । 

अल्पमतमा रहेका मेयर मेहताको सो प्रस्ताव कार्यापालिकाबाट पारित हुन नसक्दा भैंसी थन्किन पुगेको थियो । कोशी गाउँपालिकासँग भगिनी समवन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले इनरुवाको लागि खरिद गरिएको भैंसी कोशी गाउँपालिकामा आयोजित भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भैसीं सुन्दरी सहित गाई सुन्दरीमा उत्कृष्ठ ठहरिएका धनीलाई नगद सहित सम्मान गरिएको थियो ।