कसलाई मुटुको व्यथाले च्याप्छ र कसलाई च्याप्दैन भन्ने कुरा अब पहिल्यै थाहा पाउन सकिने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अक्सफोर्ड युनिभर्सिटीको शोध टोलीले यस खोजले संसारभरि सबैभन्दा ठूलो मृत्युको कारक बनेको मुटुको व्यथा उपचार गर्न निकै सहयोग पुग्ने बताएको छ ।मुटुको व्यथा हुनुको प्रमुख कारणमध्ये एउटा मुटुबाट रगत आउने–जाने धमनी वरिपरि बोसो जमेको र धमनी सुन्निएको पत्ता लगाउन यसले सहज हुनेछ । समयअगावै यस किसिमका कुरा पत्ता लागेमा मुटुको व्यथा उपचार गर्न सहज हुनेछ ।

शोध टोलीले हृदय रोगमा सुन्निएका धमनीजस्ता कुराहरुमा अध्ययन गरिरहेका बेला त्यसले उच्च खतरायुक्त रोगीलाई स्ट्रोक अथवा हर्ट अट्याकबाट बचाउन इन्टेन्सिभ ट्रिटमेन्ट गर्न सहयोगी साबित हुने देखिएको हो ।शरीरभित्र सुन्निनुको ठूलो कारण रगत बग्ने नसाहरुमा कैयौँ ससाना टुक्राहरु जम्मा हुनु हो । यस्ता टुक्राले कोरोनरी धमनीलाई थुनिदिन्छ र यसले मुटुसम्म रगतमार्फत अक्सिजन पुग्न पाउँदैन । यही कारण हर्ट अट्याक हुन्छ ।शोध टोलीका प्राध्यापक चारालम्बोस एन्टोनियाडेस भन्छन्, ‘कोरोनरी धमनीमा सुन्निएको कुरा पत्ता लगाउनु नै गएका ५० वर्षमा एउटा ठूलो चुनौती बन्न पुगेको थियो ।’

कसरी पत्ता लाग्ला त ?
साइन्स ट्रान्सलेसन मेडिसिनमा छापिएको यस अध्ययनले भन्छ, रगतका नशाबाहिर भएको फ्याट अर्थात बोसोका आधारमा सुन्निने क्रम घट्ने या बढ्ने हुन्छ । सुन्निदा फ्याट टुक्रन थाल्छ र वरपरका टिस्युमा चिस्यान बढ्न थाल्छ ।यसअघि सिटी स्क्यान गर्दा यस किसिमको परीक्षणमा मुटुमा समस्या हुन सक्ने सम्भावना देखिन्थ्यो । जुन टिस्यु जति बढी रातो हुन्छ, सुन्निएको स्तर पनि उति नै बढी हुन्छ । जति सुन्निन्छ, उति नै मुटुको रोगको खतरा बढ्छ ।कार्डियाक सर्जरी गर्दा पनि ती कुरा हेर्न सकिने र परिवर्तनलाई पत्ता लगाउन सकिन्छ ।

करिब २ हजारभन्दा बढी मुटुको जाँचपछि स्वस्थ देखिने मानिसमा पनि मुटुको व्यथाको सम्भावना कति छ भन्ने पत्ता लगाउन सहज भएको र सुन्निएको कुरा हेर्नेबित्तिकै यो मानिस मुटुको रोगी हुने सम्भावना कत्तिको छ भन्ने थाहा पाउन सहज भएको अध्ययनमा बताइएको छ ।समयअगावै सावधानीप्राध्यापक एन्टोनियाडेस भन्छन्, ‘ यस प्रविधिबाट भविष्यमा हर्ट अट्याक हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन सकिनेछ ।’ समय छँदै यसले तपाईंलाई सचेत गराउँछ र कसरी बाँच्न सकिएला सचेत हुन सघाउ पुर्याउँछ ।उदाहरणका लागि, कुनै व्यक्ति स्वस्थ देखिन्छ भने हृदय रोगको सुरुवाती तहमा छ र उसले कोलेस्ट्रोल घटाउनुपर्ने अवस्था छ भने यसलाई पहिले नै थाहा पाउन सकिन्छ ।प्राध्यापक मेटिन एवकिरान भन्छन्, ‘यो प्रविधिले साँच्चिकै काम गर्न सक्यो भने आउँदा दिनमा हर्ट अट्याक र स्ट्रोकजस्ता समस्या समयछँदै रोक्न सकिन्छ ।’