काठमाडौं, पुस २० । सरकाले मदिरालाई लागुऔषधजस्तै हानिकारक दर्जामा राखेर यससम्बन्धी निर्देशिका ल्याउन लागेको भन्दै उद्योगी–व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमन्डलले गृहमन्त्री रामबहादुर थापासँग शुक्रबार मन्त्रालयमा भेट गरी मदिरा उत्पादन र बिक्री–वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५ को मस्यौदाउपर सुझाव पेस गर्दै उक्त आग्रह गरेको हो ।

विस्तारै बामे सर्न लागेको नेपालको पर्यटन क्षेत्र तथा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई नै प्रतिकूल हुनेगरी यो आदेश जारी भएको उनीहरुले उल्लेख गरेका छन् ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले पेस गरेको सो सुझावपत्रमा नेपाल पेयपदार्थ तथा चुरोट उद्योग संघ, नेपाल मदिरा उत्पादक संघ, नेपाल वाइन उत्पादक संघ, नेपाल मदिरा महासंघ, होटल संघ नेपाललगायतका अन्य सम्बन्धित व्यवसायीहरुबाट प्राप्त सुझावहरुसमेत समावेश गरिएको थियो ।

होटलहरुको स्तर निर्धारण मापदन्डमा तारे होटलहरुमा अनिवार्यरुपमा २४ सै घन्टा खुल्ला हुने रेस्टुरेन्ट र पाँचतारे होटलको प्रत्येक कोठामा मिनि बारको व्यवस्था हुनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था रहेकाले उक्त नीति प्रतिकूल भइ विरोधाभाषपूर्ण रहने देखिएको पनि निजी क्षेत्रको भनाइ छ ।

होटल व्यवसाय उद्योग रहेको हुँदा नेपालमा आउने ९० प्रतिशत विदेशी पर्यटकहरुको जीवनस्तर, रहनसहन र इच्छाअनुसारको सेवा उपलब्ध गराउनुपर्ने बाध्यता रहने र प्रस्तावित मदिरासम्बन्धी आदेशले पर्यटकहरुले लिने होटलभित्रकै सुविधामा पनि बन्देज लाग्ने भएकाले आतिथ्यता उद्योगको अभिवृद्धिमासमेत प्रत्यक्ष असर पर्ने व्यवसायीहरुको तर्क छ ।

यससम्बन्धी कठोर नीति लागू गरेमा यसले पर्यटन गन्तव्यकाबारेमा नकारात्मक सन्देश सम्प्रेषण हुनसक्ने कुराप्रति सचेत रहनुपर्नेमा पनि उनीहरुले सुझाएका छन् ।