कास्की – सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ । 


संघले आज देशैभर सरकारी गाडी रोक्ने कार्यक्रम राखी आन्दोलन गरेको छ । यसै सिलसिलामा शनिबारको दिन बिहानै चलाइएको सरकारी गाडी जलाएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा कास्कीका नेता सरोज केसीले जानकारी दिनुभएको छ । नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानी राखेको पनि उहाँले बताउनुभयो ।

गाडी आगजनीमा संलग्न नेविसंघ पोखरा विश्वविद्यालयका सभापति डिफान भुजेल, ला ग्राण्डी कलेजका सभापति विनय पौडेल, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेविसंघका कार्यकर्ता परशुराम बस्नेत र लक्ष्मीप्रसाद पौडेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

यो गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उहाँको डेरा मासबार गएको थियो । गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ ।