काठमाडौं – एनसेलको शेयर बिक्रीमा लाग्ने पुँजीगत लाभकर एनसेल र एक्जिएटा (टेलियासोनेराबाट एनसेल किन्ने कम्पनी)बाट कर असुली गर्न सर्वोच्च अदालतको बृहत् पूर्ण इजलाशले फैसला सुनाएसँगै प्रश्न उठेको छ, अब एनसेलले कति कर तिर्नुपर्छ?

एनसेल बिक्री प्रकरणमा ठुला करदाता कार्यालयले एक खर्ब ४४ अर्ब रुपैयाँ बिक्री मूल्य आधार मानेर यसअघि कर निर्धारण गरिसकेको छ।
कार्यालयले टेलियासोनेराका नाममा ३५ अर्व ९१ करोड ३४ लाख रुपैयाँ कर, १८ अर्व ६ करोड ५३ लाख रुपैयाँ जरिवाना र छ अर्व ७३ करोड ३७ लाख व्याज गरी २०७४ असार १३ गते ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ कर निर्धारण गरेको थियो तर सर्वोच्च अदालतले टेलियासँग नभई एनसेल र त्यसमा हित राख्ने एक्जियटासँग लाभकर उठाउन आदेश दिएपछि अब करको गणना नै फरक ढङ्गबाट गर्नुपर्ने हुन्छ।
सर्वोच्चको आदेशअनुसार अब ठूला करदाताले निर्धारण गरेको करका आधारमा यसअघि एनसेलले दुई किस्तामा भुक्तानी गरेको रकमलाई घटाएर बाँकी कर चुक्ता गर्नुपर्छ।

एनसेलले यस अघि २०७३ वैशाख २६ गते अग्रिम आयकरवापत पहिलो किस्तामा नौ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ कर भुक्तानी गरिसकेको छ। त्यसैगरी एनसेलले २०७४ जेठ २१ गते अपुगभन्दै थप ११ अर्व ५७ करोड ८४ लाख रुपैयाँ अग्रिम कर भुक्तानी गरेको थियो।
दोस्रो किस्तामा पैसा भुक्तानी गर्दा एनसेलले व्याजवापत दुई अर्ब दुई करोड रुपैयाँ पनि भुक्तानी गरेको थियो। एक्जियटा र टेलियाले घोषणा गरेको कारोवार मूल्यका आधारमा एनसेलको ८० प्रतिशत सेयरमा ३५ अर्व ९१ करोड ३४ लाख रुपैयाँ कर निर्धारण हुने सम्भावना रहन्छ।

त्यही आधारमा एनसेलले अब १४ अर्व ३६ करोड ५३ लाख रुपैयाँ थप कर बुझाउनुपर्छ। र यसरी बुझाउन बाँकी रहेको रकमको झण्डै साढे दुई वर्षको १५ प्रतिशतका दरले व्याज समेत बुझाउनुपर्छ। यस आधारमा एनसेलले अब करिव २० अर्व रुपैयाँ हाराहारीमा कर बुझाउनु पर्ने सम्भावना देखिने ठूला करदाता कार्यालयले जानकारी दिएको छ।

बाकी पढ्नुहोस