इटहरी -प्रदेश १ का सवारी साधन चालक तथा सहचालकले पोसाक (ड्रेस) लगाउनुपर्ने भएको छ। ट्राफिक प्रहरीले फागुन १५ देखि यो नियम लागू गर्न लागेको हो। चालकले पहेंलो र सहचालकले हरियो रंगको हाफ ज्याकेट पोसाकका रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ। यो पोसाक राति टल्किने भएकाले परबाटै चिन्न पनि सबैलाई सजिलो हुने जनाइएको छ। काठमाडौं उपत्यकामा ट्याक्सी चालकका लागि पोसाक व्यवस्था गरिएको छ।

चालकलाई अनुशासित र मर्यादित बनाउन नियम बनाइएको प्रदेश ट्राफिक प्रमुख एसपी रविराज पौडेलले बताए। उनका अनुसार पोसाक नलगाउनेलाई लापरवाही गरेको कसुरमा ५ सय रुपैयाँसम्म जरिवाना तिराइनेछ। ‘पोसाक लगाउनै पर्ने नियम बनाइएको हो’, उनले भने, ‘पोसाक लगाएपछि सवारी साधनमा काम गर्नेमा पेसाप्रतिको सचेतता बढ्छ। यसले जिम्मेवारी पनि बढाउँछ।’

त्यसपछि चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गर्ने क्रमसमेत रोकिने उनको भनाइ छ। ‘पोसाकबाटै चालक वा सहचालक हो भनेर सबैले चिन्छन्’, उनले भने, ‘सबैले चिन्ने भएकाले उनीहरूले यात्राका क्रममा जथाभावी गर्न पनि पाउँदैनन् र गर्ने आँट पनि गर्दैनन्।’ सवारी साधन चलाएका बेला कहीं बसेर मादक पदार्थ सेवन गरे यात्रुले ट्राफिकलाई जानकारी दिने उनको भनाइ छ।

धेरैजसो देशमा सार्वजनिक सवारीका चालकले पोसाक लगाउनुपर्ने नियम रहेको उनले सुनाए। एउटा पोसाकको ३ सय रुपैयाँ मात्र पर्ने हुँदा यातायात व्यवसायीलाई आर्थिक भार नपर्ने उनले बताए। प्रदेश १ मा १२ हजारभन्दा बढी चालक छन्। ट्राफिक व्यवस्थापनमा चालक तथा यात्रुसमेत सचेत हुनुपर्ने उनको भनाइ छ।

बाकी पढ्नुहोस