प्रचण्डको चेतावनी: ‘माओबादीलाई सिध्याइहालियो भनेर कसैले ठानेको छ भने दुर्भाग्यपूर्ण’

प्रचण्डको चेतावनी: ‘माओबादीलाई सिध्याइहालियो भनेर कसैले ठानेको छ भने दुर्भाग्यपूर्ण’

इ-परेवा

@Eparewa

२०७५ माघ २६ गते शनिवार १२:४१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता र संविधानको मर्म, भावनाअनुसार ऐन बनाएर कार्यान्वयन नगरे अर्को माओबादी जन्मने चेतावनी दिएका छन्। 'माओबादीलाई सिध्याइहालियो भनेर...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता र संविधानको मर्म, भावनाअनुसार ऐन बनाएर कार्यान्वयन नगरे अर्को माओबादी जन्मने चेतावनी दिएका छन्।

‘माओबादीलाई सिध्याइहालियो भनेर कसैले ठानेको छ भने दुर्भाग्यपूर्ण’ हुने बताएका अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत गर्न र समृद्धिका लागि पनि राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउनुपर्ने बताए।

जिल्ला समन्वय समिति रुकुम पश्चिमले शुक्रबार काठमाडौंमा गरेको ‘न्यायिक समिति: कार्यविधि र प्रक्रिया’ पुस्तक लोकार्पण कार्यक्रममा दाहालले भने, ‘माओबादीहरुलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओबादी जन्मिन्छ, झन् ठूलो लँडाइ हुने खतरा आउँछ।’

फेरि माओबादी जन्मिए हिजोजस्तो गिरिजाप्रसाद कोइराला र आफूले सजिलैसँग १२ बुँदे समझदारी, शान्ति सम्झौतामा हस्ताक्षर र देशलाई युगान्तकारी परिवर्तनमा लाने काम नहुन पनि सक्ने उनले बताए।देशमा भष्ट्राचार रोक्न हिजो जनयुद्ध गरेको, जनआन्दोलन गरेको उल्लेख गरेका अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि भ्रष्टाचार नरोकिएकोमा असन्तुष्टि जनाए।

‘हिजो लँडाइ, आन्दोलनमा सहभागी हुने, शान्ति प्रक्रियामा खुसीयाली मनाउने प्रत्येकले फेरि एकचोटि निधार खुम्च्याएर सोच्नुपर्ने अवस्था आउनु दुखद हो,’ दाहालले थपे, ‘शान्ति सम्झौता र संविधानमा व्यवस्था गरेको मूलभुत कुरा इमान्दार रुपमा कार्यान्वयनतिर अघि बढ्नुपर्छ।’

सुशासन र समृद्धिका लागि देशमा नयाँ व्यवस्था ल्याए पनि पहिलेजस्तै अवस्था देखिएकोमा अध्यक्ष दाहालले चिन्ता व्यक्त गरे। देशमा ठूला परिवर्तन ल्याउँदा राजनीतिक दलहरु एकजुट भएकोले विकास र समृद्धिका लागि पनि राष्ट्रिय सहमतिको राजनीतिको आवश्यकता रहेको उनले औंल्याएका छन्।‘ शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा इमान्दार र एकजुट भयौं भने ऐतिहासिक अवसर छ। ठूला राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाट मात्रै सम्भव तुल्याएका छौं,’ दाहालले भने, ‘परिवर्तन संस्थागत गर्न र जनताको समृद्धिका लागि सहमतिको वातावरण अहिले पनि आवश्यक छ।’

संविधानको मर्मअनुसार संघीयता कार्यान्वयन हुनुपर्नेमा दाहालले जोड दिए भने तल्लो तहसम्म अधिकार पुग्नुपर्ने बताए। ‘भ्रष्टाचार निदान गर्ने भनेको हो नि, फेरि उस्तै छ,’ अध्यक्ष दाहालले भने, ‘मधेश र पहाडमा एक ढंगले विकराल स्थिति सिर्जना हुन सक्छ।’

संघीयता कार्यान्वयन, परिवर्तन संस्थागत गर्ने कुरा कसैले हलुका रुपले लिएको छ भने देशलाई गाह्रो पर्ने चेतावनी दाहालको छ।

पूरा पढ्नुहोस

प्रकाशित मिति २०७५ माघ २६ गते शनिवार १२:४१
प्रतिक्रिया दिनुहोस