वीरगञ्ज -वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ता बस्ने ३४ बर्षीया महिलालाई गत माघ १७ गते साढे ७ बजेको समयमा दुईजना पुरुषले जर्बजस्तीकरणी गरे । बोलिस् भने मारिदिन्छु भन्दै धाकधम्की दिई पालैपालो करणी गरेको महिलाको भनाइ छ ।

प्रहरीले घटनामा संलग्न रहेको अरोपमा वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवा बस्ने ४० बर्षीय मतलुब मियाँ र वीरगञ्ज महानगरपालिका वडा नं २० हरपतगञ्ज बस्ने ३२ बर्षीय सम्सोद्दिन अन्सारीलाई पक्राउसमेत गरेको छ । घटनापछि फरार भए पनि प्रहरीले खोजेर पत्ता लगाई ल्याएका उनीहरु विरुद्ध जर्बजस्तीकरणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

त्यसअघि माघ महिनाकै १२ गते साँझ ६ बजे वीरगञ्ज महानगरपालिका वडा नं १४ मा तीन बर्षीया बालिकाको बलात्कार भएको थियो । घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं ११ बस्ने २० बर्षीय सुनिल चौहान पक्राउ परेका छन् । बालिकालाई चकलेट दिन्छु भनी ललाई फकाई वीरगञ्ज महानगरपालिका १६ स्थित अनिल कुमार गुप्ताको खाली जग्गामा लगेर सुनिलले जर्बजस्ती करणी गरेको दाबी प्रहरीले गरेको छ । उनीमाथि पनि अनुसन्धान जारी छ ।

माघ ३ गते पर्सागढी नगरपालिका वडा नं ३ विरुवागुठी बस्ने ९ बर्षीया बालिकामाथि जर्बजस्तीकरणीको घटना भयो । सोही गाउँका ३५ बर्षीय दिपेन्द्र सहनीले जर्बजस्ती करणी गरेको उजुरी पर्‍यो । प्रहरीले दीपेन्द्रको खोजी गरिरहेको छ ।

यी केही प्रतिनिधि घटनामात्रै हुन् । पर्सा जिल्लामा चालु आर्थिक वर्षको ७ महिनामा २७ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमा पीडित हुनेहरु अधिकांश २५ बर्ष भन्दा कम उमेरका महिला छन् ।


१६ बर्ष भन्दा कम उमेरका ३ जना, १६ देखि २५ बर्षसम्मका १२ जना, २६ देखि ३५ बर्षसम्मका ४ जना, ४६ देखि ६० वर्षसम्मका १ जना माथि बलात्कार भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गत आर्थिक वर्ष ०७४/७५ मा १६ बर्ष मुनिका ९ जना बालिका बलात्कृत भएका थिए । १६ देखि २५ वर्ष उमेरका ४ जना र २६ देखि ३५ बर्षसम्मका एक जना बलात्कृत भएका छन् । त्यस्तै ३६ देखि ४५ बर्षसम्म र ४६ देखि ६० वर्षसम्मका १/१ जना गरी जम्मा १६ वटा जर्बजस्ती करणीका घटना भएको प्रहरीको भनाइ छ ।
यीमध्ये थोरै घटना बाहेक अधिकांश घटनामा आरोपीलाई पक्राउ गरेर अनुसन्धान पक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

बालिकाहरु शारीरिक र मानसिक दुवै हिसाबले कमजोर हुने भएका कारण यौन जन्य कसुरको शिकार बन्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । बालिका बलात्कारका घटनाको अनुसन्धानमा समेत कठिनाई हुने गरेको उनीहरुको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक ज्ञानकुमार महतो कमजोर हुने भएकोले नै बालिकालाई जर्बजस्ती करणीको शिकार बनाउने गरेको बताउँछन् । ‘बालिकाहरु नाजुक अवस्थाका हुन्छन्, शारीरिक र मानसिक रुपमा कमजोर हुन्छन्, सजिलै फकाउन सकिन्छ भन्ने सोचेर नै उनीहरुले बालिकाहरुलाई फकाएर जर्बजस्ती करणी गरेको पाइन्छ,’ उनले भने ‘कम उमेरका बालिका यौन जन्य हिंसाको शिकार हुँदा डराएको अवस्थामा हुन्छन्, बोल्न गाह्रो मान्छन्, लाज मान्छन् । सत्य कुरा बाहिर नआउँदा अनुसन्धान र दोषीलाई कारबाहीमा ल्याउन पनि समस्या हुन्छ ।’

जिल्ला प्रहरी कार्यालय पर्सामा आएका जर्बजस्तीकरणी सम्बन्धी मुद्दाको तथ्यांकलाई केलाउँदा विवाहित महिलाको तुलनामा कम उमेरका बालिका र किशोरीहरुमाथि जर्बजस्ती करणी भएको घटना धेरै रहेको प्रहरीको भनाइ छ ।

पूरा पढ्नुहोस