बिबाह गर्दै हुनुहुन्छ ?, बिबाह गर्ने उमेर, पार्टनर, भबिष्यको बारेमा जान्नुहोस

बिबाह गर्दै हुनुहुन्छ ?, बिबाह गर्ने उमेर, पार्टनर, भबिष्यको बारेमा जान्नुहोस

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ७ गते मङ्गलबार ११:१२

मंसिर र चैत महिना विवाह, व्रतबन्ध केही पनि जुर्दैन । वृष राशि भएकाले भदौ, पुस र वैशाख महिनामा विवाह गर्न मिल्दैन । मिथुन राशि भएकाले असोज, माघ र जेठ महिना, कर्कट राशिले कात्तिक, फागुन र असारमा विवाह गर्न मिल्दैन । सिंह राशिलाई मंसिर,...

मंसिर र चैत महिना विवाह, व्रतबन्ध केही पनि जुर्दैन । वृष राशि भएकाले भदौ, पुस र वैशाख महिनामा विवाह गर्न मिल्दैन । मिथुन राशि भएकाले असोज, माघ र जेठ महिना, कर्कट राशिले कात्तिक, फागुन र असारमा विवाह गर्न मिल्दैन । सिंह राशिलाई मंसिर, चैत र साउन तथा कन्या राशिलाई पुस, चैत र भदौ, तुलालाई माघ, जेठ र असोज, वृश्चिक राशिलाई फागुन, असार र कात्तिक महिनामा विवाह जुर्दैन् ।


धनुका लागि चैत, साउन र मंसिर, मकरका लागि वैशाख, भदौ र पुस, कुम्भका लागि जेठ, असोज र माघ तथा मीन राशिका लागि असार, कात्तिक र फागुन महिना उपयुक्त हुँदैनन् । त्यतिमात्र होइन, विवाहका लागि बृहस्पति ग्रह पनि जुराउनुपर्ने हुन्छ । बृहस्पति ग्रह १३ महिनामा एउटा राशिमा घुम्छ । बृहस्पति ग्रह जन्मदाको राशिबाट ४, ८, १२ मा पार्नु हुँदैन । त्यस्तो अवस्थामा विवाह गरियो भने त्यो विवाह दैविक र आध्यात्मिक हुँदैन भनिन्छ ।


विवाहका लागि जोडी चयनमा कुन राशिका लागि कुन राशि उपयुक्त मानिन्छ ?
हाम्रो ज्योषितशास्त्र अनुसार यो समयमा जन्मिएको व्यक्तिको विवाह यो दिशातिर यस्तो राशि यस्तो रूप, रंग, स्वभाव भएकोसँग विवाह हुन सक्छ भन्न सकिन्छ । यो ज्योतिषको गहिरो अध्ययनबाट आउँछ । सामान्य रूपमा आफ्नो राशिबाट गन्दै जाँदा ६, ८ र १२ को राशि पर्‍यो भने विवाह टिक्दैन । जस्तो— मेषबाट गन्दै जाँदा कन्या ६, वृश्चिक ८ र मीन १२ हुन्छ ।


यसमा एउटा अर्को नियम पनि छ, केटीको राशि अगाडि आयो र केटाको पछि आयो भने विध्वंस हुन्छ, केटाको राशि अगाडि आएर केटीको पछि आयो भने अलिअलि मिल्छ । अर्को नियम राशि परस्पर फरक ६, ८ पर्‍यो तर राशिको स्वामी मित्र भयो भने मिल्छ । देवगण, मनुष्य तथा राक्षस गणको पनि नियम छ, जुन जन्मको नक्षत्रबाट निर्धारित हुन्छ । एउटै गणमा प्रीति हुन्छ ।


नाडी भन्ने अर्को हुन्छ एउटै नाडीमा विवाह भयो भने सन्तानमा बाधा हुन्छ भनिन्छ । धर्मशास्त्रमा एउटै गोत्रमा विवाह गर्नु हुँदैन, सन्तानमा वंशाणुगत खराबी देखिन्छ भनिन्छ, नाडीको नियम ठ्याक्कै त्यही हो ।
विज्ञानसँग पनि सम्बन्धित छ ?


विज्ञान भनेको प्रविधि मात्र होइन, दर्शन पनि हो । हामीले विज्ञान भन्नेबित्तिकै प्रविधिमा मात्र जोड दियौं, प्रविधि विज्ञानलाई प्रस्तुत गर्ने यन्त्र हो । यन्त्र मात्र विज्ञान होइन, मुख्य कुरा त दर्शन हो । हामी दर्शनबाट अभिप्रेरित हुनुपर्‍यो । ज्योतिष विज्ञान दर्शन पनि हो, विज्ञान पनि हो । अहिले मानिसको भाग्य र भविष्य बताउने कुनै विज्ञान छ भने त्यो ज्योतिष विज्ञान मात्र हो ।


कतिपयले यसमा अविश्वास गरिरहेका छन् नि ?
ढिलोचाँडो सबै हामीकहाँ आउछन् । अहिले पनि कतिपय उम्मेदवार टिकट लिन–जित्नदेखि लिएर कोही अपरेसनको साइत जुराउन हामीकहाँ आउँछन् । हामीले कतिपय अपरेसनको डेट नै पोस्टपोन्ड गरिदिएका छौं । मारकेश्वर भन्ने एउटा दशा हुन्छ, त्यो दशा चलेका बेला मान्छे मर्न सक्छ, त्यसैले हामीले अप्रेसन सार्न समेत लगाएका छौं ।


चिना कसरी बनाइन्छ ?
हामी जुन बेलामा जन्मियौं, त्यतिबेला आकाशमा ग्रहहरू घुमिरहेका हुन्छन् । कुन ग्रह कहाँ घुमिरहेको हुन्छ, अर्को हामी कहाँ पञ्चांगको पात्रो हुन्छ, त्यसमा पनि ग्रह राखिएको हुन्छ । त्यसमा ग्रहहरू कति डिग्रीमा छन् भनेर लेखिएको हुन्छ । हामी मान्छे जन्मिसकेपछि पात्रो पल्टाएर इष्टघडी निकाल्छौं । इष्टघडी भनेको मान्छे जन्मिएको समय र सूर्यबीचको अन्तर हो । इष्टघडीले कति नक्षत्र, कति तिथि भेट्यो भनेर निकाल्छ ।


ग्रह चाहिँ के हो ?
ग्रहको सम्बन्ध गुरुत्वाकर्षणसँग हुन्छ, त्यसले हाम्रो दिमागलाई पनि तान्छ भन्ने धारणा छ ।


राशि भनेको के हो ?
राशि भनेको चन्द्रमा हो । जस्तो मेष राशि भनेको जन्मदा चन्द्रमा मेष राशिमा थियो भन्ने हो । चन्द्रमालाई जलीय ग्रह भनिन्छ । औंसी र पूर्णिमाका बेला समुद्रमा ज्वारभाटा आउँछ, हत्या र आत्महत्या औशी र पूर्णिमाको आसपासमा हुन्छ भनिन्छ । हाम्रो शरीरमा ७५ प्रतिशत पानी हुन्छ । मायाप्रीतिमा पनि हामी चन्द्रमा नै हेर्छौ । चन्द्रमाबाट राशि मिलाइन्छ ।


चन्द्रमा कमजोर हुँदा के हुन्छ ?
चन्द्रमा कमजोर भयो भने मन बढी आत्तिन्छ । चन्द्रमा बलियो भयो भने मानिसहरू विन्दास हुन्छन् ।


कस्ता युवती बढी लच्छिनका हुन्छन् ?
त्यसका लागि हाम्रो भाषामा सामुद्रिक शास्त्र भन्ने छ, जसबाट शरीरको लक्षण हेरिन्छ । शरीरको लक्षण हेर्दा दाँत उछिट्टिनु, फाट्नु गृहस्थ जीवनका लागि नकारात्मक मानिन्छ । दाँत टम्म मिलेको हुनुपर्छ । हाँस्दा डिम्पल पर्नु हुँदैन, डिम्पल पर्ने व्यक्तिहरू व्यभिचारी हुन्छन् भनिन्छ ।


हत्केलाका औंला टम्म मिलेको हुनुपर्छ, हात छाम्दा कोमल हुनुपर्छ, यस्ता युवतीहरू सुन्दर हुन्छन्, सुकुमार हुन्छन् । जन्मदाको समयमा लग्न कुण्डलीमा जसको बृहस्पति वा शुक्र केन्द्रमा बस्यो त्यस्ता केटीहरू लच्छिनका हुन्छन् ।


कस्ता युवक शक्तिशाली हुन्छन् ?
नाक चुच्चो भएका व्यक्ति राजसी ठाँटबाटका हुन्छन् । निधार ठूलो तथा आयातकार भएको व्यक्तिमा राजसी गुण हुन्छ । हत्केला तथा बूढी औंला जति लामो भयो त्यो व्यक्ति त्यति नै बौद्धिक हुन्छ । हत्केलामा उध्र्व रेखाबीच हुँदै मध्यको औंलाको टुप्पोमा पुगेको छ भने त्यस्तो व्यक्ति ठूलै ठाउँमा पुग्छ ।


कतिपयले लभ म्यारिज बढी टिक्दैनन् पनि भन्छन्, किन ?
ज्योतिषशास्त्रले पुरुष र स्त्रीलाई परस्पर फरक–फरक दिशाबाट जोड्छ । उनीहरूलाई एकआपसमा बाँध्ने काम यौनले मात्र गर्छ । ज्योतिषशास्त्रमा उदय लग्न आफ्नो हुन्छ भने अस्त लग्न विपरीत हुन्छ । यौनले मात्र स्त्री–पुरुषलाई एक सूत्रमा बाँध्ने भएकाले ज्योतिषशास्त्रमा यौन जीवनका लागि योनि भन्ने छ ।
पुरुषको योनि के हो, स्त्रीको योनि के हो त्यसबाट थाहा हुन्छ । त्यो योनि परस्पर शत्रु राशिमा पर्‍यो भने उनीहरूको सम्बन्ध चाँडै टुट्न सक्छ । ज्योतिषशास्त्रमा हामी मुहूर्त मिलाउँछौं तर लभ म्यारिज गर्नेहरू भावनाबाट प्रेरित हुन्छन् । ज्योतिषशास्त्रले मिलाउने भनेको उनीहरूको आत्मीक एवं दैविक डिभाइन हो ।


योनि कसरी निर्धारण हुन्छ ?
योनि जन्मिदाको नक्षत्रअनुसार निर्धारण हुन्छ । नक्षत्र भनेको कहिल्यै पनि क्षय नहुने कुरा हो । ग्रहहहरू घुम्ने बाटोमा २७ वटा नक्षत्र हुन्छन्, एउटा नक्षत्रको समयावधि १३ डिग्री २० मिनेट हुन्छ, त्यो २४ घण्टाको हुन्छ ।


नक्षत्रको भूमिकाचाहिँ के हो ?
हाम्रो पूर्वीय ज्योतिष नक्षत्रमा आधारित छ । राशि पश्चिमाहरूको प्रयोग हो । जस्तो मेष राशिभित्र अश्विनी, भरणी तथा कृतिका नक्षत्र हुन्छन् । कुन नक्षत्रमा जन्म भयो त्यो नक्षत्रअनुसार गण, नाडी, योनि आदि मिलाइएको हुन्छ ।
विवाह गर्दा कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?
ज्योतिषशास्त्रअनुसार विवाह गर्न कि जन्मकुण्डलीको द्वितीय स्थान कि सप्तम स्थानको बसेको ग्रहको समय अवधि चल्नुपर्छ । कि त तपाईंको जन्मको चन्द्रमाबाट बृहस्पति ४, ८, १२ बाहेक अरू ठाउँमा बसेको हुनुपर्छ । त्यसैगरी पहिले विवाहको समय निकाल्नुपर्छ ।
मंगल, राहु र शनि ग्रह चलेका बेला विवाह गर्नु हुँदैन, सम्बन्ध बिग्रन सक्छ । शुक्र, बृहस्पति, बुध तथा चन्द्रमा चलेका बेला विवाह गर्नु उपयुक्त मानिन्छ ।


ठाउँ र दिशाको पनि महत्व हुन्छ ?
ज्योतिशास्त्रअनुसार सूर्य ग्रह पूर्व दिशाको स्वामी हुन्छ, चन्द्रमा ग्रह वायव्य दिशा (पश्चिम र उत्तरको कुना) को स्वामी हुन्छ । बृहस्पति उत्तर र पूर्वको कुना, मंगल ग्रह दक्षिण दिशा, शुक्र ग्रह दक्षिण र पूर्वको कुना, शनि ग्रह भनेको पश्चिम दिशा, बुध उत्तर दिशा यसरी ग्रहअनुसार पनि दिशा हुन्छ ।
पत्नी स्थानमा कुन ग्रह बस्यो वा पत्नी स्थानको स्वामी कुन ग्रह हो, त्यो ग्रहको दिशामा विवाह गरे एकदमै राम्रो हुन्छ, ठ्याक्कै जुर्छ ।


विवाह कसरी हुन्छ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ?
जन्मकुण्डलीअनुसार योग्य ज्योतिषीले विवाह कसरी हुन्छ साथीको सहयोग वा आफ्नै अग्रसरतामा आदि कुरा पत्ता लगाउन सक्छन् । जन्मकुण्डलीअनुसार विवाह ग्रह लग्न छ भने आफ्नै प्रयासमा विवाह हुन्छ । सामान्यतया: चर, स्थिर र द्विस्वभावले पनि विवाहलाई प्रभावित गर्छ ।


चर राशि भयो भने २ सय किलोमिटरभन्दा टाढा विवाह हुन्छ, स्थिर भयो भने ९० किलोमिटरभित्र हुन्छ । द्विस्वभाव राशि भयो भने ९० देखि २ सय किलोमिटरभित्र हुन्छ । मेष, कर्कट, तुला, मकर चर राशिभित्र पर्छन् । वृष, सिंह तथा कुम्भ स्थिर राशि हुन् भने मिथुन, कन्या र मीन द्विस्वभाव राशिमा पर्छन् ।


मानिसको कति पटक विवाह हुन्छ भन्ने कुरा कसरी पत्ता लाग्छ ?
ज्योतिषमा यसको पनि नियम छ । त्यसमा राजामहाराजाका लागि १ सय ८ वटा विवाहभन्दा माथि कल्पना गरिएको छ भने सामान्य जनताका लागि २४ वटासम्म विवाहको कल्पना गरिएको छ, तर सामान्य नियममा पति स्थानमा वा पत्नीस्थानमा जति वटा ग्रह भयो, त्यति जनासँग सम्बन्ध हुन्छ । कान्तिपुर साप्ताहिकबाट

प्रकाशित मिति २०७५ फाल्गुण ७ गते मङ्गलबार ११:१२
प्रतिक्रिया दिनुहोस