भारतमा नेपालको ८-० को शानदार जित

भारतमा नेपालको ८-० को शानदार जित

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ९ गते बिहिबार ११:४८

काठमाडौँ : भारतको गुहावटीमा भइरहेको डक्टर टीएओ नर्थ इस्ट इन्टरनेशनल (यू २१) गोल्डकपमा नेपालको एन्फा यू-२१ टोलीले शानदार जित हात पारेको छ। नेपाली टोलीका अभिषेक रिजालको ४ गोलको सहयोगमा नेपालको युवा टोलीले त्रिपुरालाई ८-० को फराकिलो...

काठमाडौँ : भारतको गुहावटीमा भइरहेको डक्टर टीएओ नर्थ इस्ट इन्टरनेशनल (यू २१) गोल्डकपमा नेपालको एन्फा यू-२१ टोलीले शानदार जित हात पारेको छ।

नेपाली टोलीका अभिषेक रिजालको ४ गोलको सहयोगमा नेपालको युवा टोलीले त्रिपुरालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको हो।

एलएनआइपिइ स्टेडियममा भएको खेलको चौथो मिनेटमै प्रेजन तामाङले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका थिए। ३१औँ मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि नेपालले पहिलो हाफमा २-० को अग्रता बनायो, दोस्रो हाफमा नेपालले ६ गोल थप्दा अभिषेकलले ५२औँ, ६६औँ, ६९औँ र ७८औँ मिनेटमा गोल गरे। यस्तै प्रेजनले व्यक्तिगत दोस्रो गोल ६७औँ मिनेटमा गरेका थिए भने धिरज श्रेष्ठले ७७औँ मिनेटमा एक गोल गरेका थिए। चार गोल गरेका अभिषेक खेलको म्यान अफ दि म्याच घोषित भए।

पहिलो जितपछि एन्फा यु २१ का प्रशिक्षक चेत नारायण श्रेष्ठले दुई खेलाडी परिवर्तन गर्नु र सुरुमै गोल हुनले खेल जित्न सहज भएको बताए। ‘हामीले आज गोलकिपर र एक फरवार्ड परिवर्तन गरेका थियौँ। चौथो मिनेटमै गोल पनि निक्सियो। पहिलो हाफमा दुई गोल गरेपछि केटाहरुको मनोबल बढ्यो र दोस्रो हाफमा धेरै गोल भयो।’

प्रकाशित मिति २०७५ फाल्गुण ९ गते बिहिबार ११:४८
प्रतिक्रिया दिनुहोस