काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वकांक्षी योजना मानिएको यो कामको लागि ठेकेदार छनौट भएपछि बिजुलीका तारको जालो हट्ने भएको हो । महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गततको विद्युत्को तारलाई भूमिगत गर्नसबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो । 

प्राधिकरणले गत ६ फागुनमा बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनु पर्ने छ । 

रकमको टुंगो लाग्यो
कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको काम गर्न २ करोड ५५ लाख ८१ अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख  रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता हुनेछ । कम्पनीले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम २ करोड २९ लाख डलर र  ८३ करोड १५ लाख रुपैयाँमा (करबाहेक) गर्ने छ । 

मध्य तथा उत्तर काठमाण्डौ (महाराजगञ्ज)का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिनुभयो । ‘ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पुरा गरी आगामी जेठबाट काम सुरु गर्ने लक्ष्य तय गरेका छौं’ अधिकारीले भन्नुभयो, ‘कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नु पर्ने छ ।’

प्राधिकरणल यस अघि अनुमानित लागत भन्दा महंगो दर आएपछि पुरानो टेण्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गरेको थियो । 

पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने वागबजार,असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा वालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो । 

पूरा पढ्नुहोस