ईशा लामिछाने (रवि लामिछानेकी पूर्वपत्नी)

आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु ।


किनकि, मलाई उहाँका प्रशंसकबाट धेरै गालीगलौचका म्यासेजहरु आएका छन् । धेरैले मलाई नै दोषी देखिरहेका छन् । रविजीले अन्तरवार्तामा मलाई ‘डिप्रेसनको रोगी’ बताउनुभएको छ । सत्य हो, मैले लामो समय डिप्रेसनको औषधी खानुपर्‍यो । तर, म के कारणले डिप्रेसनमा परेँ त ? उहाँकै कारणले होइन ? आफ्नो श्रीमानले बाहिर १० जनासित सम्वन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला ? धन्न मैले छोरीहरुको मुख हेरेर आत्महत्या गरिनँ ।


हाम्रो प्रेम विवाह हो । तर, विवाहपछि मैले उहाँबाट आफूले चाहेको/कल्पेको प्रेमको अनुभूति गर्न सकिनँ । वैवाहिक सम्वन्धको महत्व श्रीमानभन्दा श्रीमतीलाई बेसी हुन्छ ।
वैवाहिक सम्वन्ध तोडिँदा पुरुषले त सजिलै अर्को घर बसाउन सक्ला, तर महिलाले अनेक लान्छना खेप्नुपर्छ । उसलाई समाजले राम्रो दृष्टिकोणले हेर्दैन । छोराछोरीहरुलाई त्यसको असर पर्छ । त्यसैले रविजीबाट वर्षौंंसम्म तिरस्कार झेलेर पनि म हाम्रो सम्वन्धको संरक्षणमा नै दत्तचित्त रहेँ ।


म सुरुदेखिको कुरा गर्छु । झर्को नमानिदिनुहोला ।
०५१ साल मंसिर ११ गते हाम्रो बिहे भएको हो । मेरो घरमा आएर सामान्य सिन्दुरपोते गर्नुभएको थियो । एउटै स्कुलबाट एसएलसी पास गरेलगत्तै बिहे गर्दा दुबै टीनएजर थियौं ।


बिहे गर्दा उहाँ पढ्दै हुनुहुन्थ्यो । पारिवारिक दायित्व आएपछि काम गर्न थाल्नुभयो । उहाँलाई पत्रकारितामा रुची थियो । एफएममा काम गर्न थालेपछि लोकपि्रयता पनि कमाउनुभयो । त्यसपछि टेलिभिजनमा हास्य कार्यक्रम पनि चलाउनुभयो ।
स्मार्ट र प्रतिभाशाली हुनुहुन्थ्यो । चलाख पनि । एफएममा काम गर्न थालेदेखि उहाँको लोकपि्रयता बढिरहेको थियो । खासगरी केटीहरु उहाँको आवाज र व्यक्तित्वका प्रशंसक थिए । केटीहरुका चिठी धेरै आउँथे । फोन पनि आउँथे । कुनै-कुनै चिठीले त मेरो मनमा चिसो पस्थ्यो । आखिर उमेरले पनि कच्चै त थिएँ ।


मैले डिभोर्स गरेलगत्तै रवीजी र दुई छोरीको नाममा ‘आर थ्री र लभ साइन’ लेखिएको ट्याटु खोपाएँ । यो ट्याटुले मलाई सदा उहाँको अनुभूति गराइरहने छ । डिभोर्सपछि पनि मैले आफ्नो थर लामिछाने नै लेखिरहेकी छु । उहाँ मेरो श्रीमान नरहे पनि मेरो छोरीहरुको बाबु त आजीवन हो नि ।बिहेलगत्तै म गर्भवती भएँ । १९ वर्षमै जेठी छोरी जन्माएँ । त्यसपछि मेरो पढाइ अघि बढ्न सकेन । रविजी पनि पढाइ छोडेर करिअरमै फोकस हुनुभयो ।


बिहेको केही वर्षपछि रविजीको दाइहरुसँग खटपट पर्‍यो । एकजना दाइ पनि सञ्चारकर्मी भएकाले उछिनपाछिन भयो होला । अरु कारण भने जान्दिनँ । मलाई भने दाइहरुले केही नराम्रो गर्नुभएको होइन ।
दाजुभाइको मनमुटाब बढ्दै गएपछि हामी छुट्टएिर बस्यौं । बानेश्वरमा मासिक ८/९ सय रुपैयाँको एउटा कोठा लिएर केही समय गुजारा गरियो । रविजीको राम्रो हुँदै गएपछि केही समयपछि हाँडीगाउँमा ३ कोठाको फ्ल्याट लियौं । रविजी दिनभरि बाहिरै हुनुहुन्थ्यो । म घरमा छोरी स्याहारेर बस्थेँ ।