ताप्लेजुङ – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको निधन भएको छ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को तारेभिरमा हेलिकोप्टर दुर्घटना भएको हो ।

तस्बिर: अनलाइन खबर डट कम

हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोचिभैया, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन कुमार घिमिरे र क्याप्टेन प्रभाकर केसी रहेकाे नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।  


 

दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । स्थानीय नागरिक घटनास्थलमा पुगिसकेको भए पनि जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीको टोली पुग्दै छ । दुर्घटनास्थलमा पुगेका रतन कार्कीले हेलिकप्टरको दुई वटा पङ्खा मात्र बाँकी रहेको र अन्य भाग जलेर नष्ट भएको बताउनुभयो । उहाँले अहिले मानिसका शवहरु बलिरहेको र हेलिकप्टरको अन्य भाग जलेर नष्ट भएको फोनमार्फत जानकारी दिनुभयो । 

पाथीभरा फेदीदेखि १ घण्टा ३० मिनेटको समयमा पुगिने पाथीभराको उत्तरपट्टिको मोहोडामा पर्ने भिरमा पाथीभरा देवीको मन्दिरदेखि हेलिकप्टर उडेको ३ मिनेटमा ठूलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन् ।