काठमाडौं – लगातार एक सय २६ घण्टा नाचेर धनकुटाकी १७ वर्षीया डान्सर बन्दना नेपाल विश्व रेकर्ड राखिन । उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा नाम दर्ता गरेकी हुन। गिनिज वर्ल्ड रेकर्डले मंगलबार उनलाई सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा औपचारिक सर्टिफिकेट दिईएको छ। 

गत मंसिरको पहिलो साता बत्तीपुतलीस्थित विग फुडल्याण्डमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीतहरूमा लगातार ६ दिन नृत्य गरेकी थिइन्।

उनले नृत्य गर्ने क्रममा ‘मरेपनि यही स्टेजमै मर्छु, बाँचेपनि यही स्टेजमा बाँच्छु, यो देशलाई विश्वसामु चिनाउनेछु’ भनेकी थिइन्। यसअघि गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान भारत केरलाकी कलामण्डलम हेमालथाले नाम लेखाएकी थिइन्। उनले १ सय २३ घण्टा १५ मिनेट नाचेर गिनिजमा नाम राखेकी थिइन्। बन्दनाले भने त्यो समयभन्दा बढी नाचेर उनको रेकर्ड ब्रेक गरेकी हुन ।  

गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिहरूले उनलाई लगातार ४–४ घण्टा नाचेपछि १० मिनेट आरामको समय दिएका थिए । लगातार नाच्ने क्रममा निन्द्राका कारण स्टेजमा ढलेकी थिईन।